Comments Add Comment

चिनियाँ रक्षामन्त्रीसँग पूर्वघोषित सैन्य सहयोगबारे छलफल हुने

Photo Credit : Reuters

१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहेको नेपाल भ्रमणका क्रममा पूर्वघोषित ३ सय मिलियन आरएमबी सैन्य सहयोग हस्तान्तरणको प्रगतिबारे छलफल हुने भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले असार पहिलो साता गरेको चीन भ्रमणका क्रममा १५० आरएमबी सैन्य सहयोग गर्ने घोषणा भएको थियो । त्यसको तीन महिनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा थप १५० मिलियन आरएमबी (नेपाली २ अर्ब ४१ करोड रुपैयाँ) सैन्य सहयोग गर्ने सहमति भएको थियो ।

तर, दुवै सहमति कार्यान्वयनमा आउन सकेका थिएनन् । त्यसैले यो विषयमा चिनियाँ रक्षामन्त्री फेङहेसँग जंगीअड्डामा छलफल हुने सैन्य स्रोतले बतायो । स्रोतका अनुसार कोभिड–१९ (कोरोना) भाइरसका कारण सैन्य सहयोग प्रभावित भएको थियो ।

नेपाली सेनाले कोरोना भाइरसविरुद्धको प्रतिकार्यमा चीनबाट औषधि खरिद गर्दा पूर्वघोषित सैन्य सहयोगबाट तिर्न तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलसँग प्रस्ताव गरेको थियो । तर, पोखरेलले कोरोना कोषमा पर्याप्त रकम रहेको भन्दै त्यसबेला प्रयोग गर्न दिएका थिएनन् ।

यो पनि पढ्नुहोस चीनले बढायो सैन्य सहयोग

महामारीपछि चिनियाँ जनमुक्ति सेनासँग ०७४ सालदेखि हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेण्डसिप’ पनि रोकिएको थियो । त्यसलाई सुचारु गर्ने विषयमा पनि रक्षामन्त्री फेङहेसँग छलफल हुने जंगीअड्डाका एक सैन्य अधिकारीले बताए ।

०७४ सालमा पहिलो पटक चीनबाट रक्षामन्त्री जनरल चाङ वानक्वान नेपाल भ्रमणमा आएपछि यो अभ्यासको सुरुवात भएको थियो । चीनसँगको यो अभ्यासलाई लिएर भारतका सैन्य अधिकारीहरुले नेपालमा बढ्दो चिनियाँ प्रभावका रुपमा अर्थ्याउने गरेका छन् ।

महामारीका कारण रोकिएका अन्य तालिमसमेत सुचारु गर्ने विषयमा चिनियाँ रक्षामन्त्रीसँग छलफल हुने बताइएको छ । यो भ्रमणमा क्रममा नयाँ कुनै सहयोगको घोषणा गर्ने चिनियाँ पक्षको तयारी छैन ।

जंगीअड्डामा साढे १ बजेदेखि ३ः४५ बजेसम्म फेङहे रहनेछन् । उनले ४ः५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भने ५ बजेदेखि साढे ५ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भण्डारीसँगको भेटवार्ता सकिएपछि फेङहे सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानेछन् र स्वदेश फर्किनेछन् ।

यो पनि पढ्नुहोस दक्षिण एशियामा चिनियाँ चासो : तालिवानदेखि रोहिंग्यासम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment