Comments Add Comment

सुर्खेत सिटी बसपार्क भोलिदेखि सञ्चालनमा आउने

सञ्चालनमा नआउँदै साँघुरो

फाइल फोटो

१४ मंसिर, सुर्खेत । वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क निर्माण कार्य थालिएको ९ वर्षपछि सञ्चालनमा आउने भएको छ । अदालतसम्म पुगेको विवाद सुल्झिएपछि मंसिर १५ (सोमबार)देखि बसपार्क सञ्चालनमा आउने भएको हो ।

२०६८ सालदेखि निर्माण कार्य थालिएको सिटी बसपार्क दुई वर्षमै सम्पन्न हुनेगरी सम्झौता भएको थियो । तर बसपार्क निर्माणको जिम्मा पाएको कम्पनीले राम्रोसँग काम गर्न नसकेपछि २०७२ माघदेखि निर्माणकार्य अघि बढेको थियो ।

यो बीचमा पनि दुई पटक म्याद थप गरेपछि गत वर्ष असारमा बसपार्क निर्माणको काम सकिएको थियो । नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई दिने तयारी गरेपछि सोही स्थानमा निर्माण पूर्वव्यवसाय गरिरहेका व्यवसायीहरु अदालत पुगेका थिए ।

पुराना व्यवसायी अदालत पुगेपछि निर्माण सकिएको करिब डेढ वर्षपछि सिटी बसपार्क सञ्चालन गर्न लागिएको वीरेन्द्रनगरका मेयर देवकुमार सुबेदीले जानकारी बताए ।
‘बसपार्क सञ्चालनमा देखिएका सबै विवाद सुल्झिएका छन् । हामीले यातायात व्यवसायी र सुरक्षा निकायसँग पनि छलफल गरिसकेका छौं,’ मेयर सुबेदीले भने, ‘भोली १५ गतेबाट बसपार्क पुर्णरुपमा सञ्चालनमा आउँछ ।’

६ करोड ८२ लाख ७५ हजार ८७९ रुपैयाँमा सिटी बसपार्क निर्माण सम्झौता भएपनि पछि मूल्य समायोजनसहित ७ करोड ४४ लाख रुपैयाँ लागेको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले जानकारी दिए ।

उपत्यका नगर विकास समिति र वीरेन्द्रनगर नगरपालिकाको ऋण तथा अनुदान सहयोगमा बसपार्कको बनेको हो ।

बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउन्टर, शौचालय, पार्किङस्थल निर्माण गरिएको छ । त्यस्तै यात्रुलाई बस्नका लागि बेग्लाबेग्लै टर्मिनल, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, शौचालय निर्माण गरिएका छन् ।

सञ्चालनमा नआउँदै साँघुरो

निर्माण कार्यमा भएको ढिलाई र बढ्दो सवारी चापका कारण सिटी बसपार्क सञ्चालनमा नआउँदै साँघुरो हुने देखिएको छ ।

२०६८ अघिको सवारी साधनको चापलाई आधार मानेर बसपार्कको सम्भाव्यता अध्ययन र डीपीआर गरिएको थियो । तर देश संघीयतामा गएसँगै अहिले वीरेन्द्रनगर कर्णालीको राजधानी बनेको छ ।

राजधानी बनेपछि वीरेन्द्रनगरमा सवारी साधनको चाप ह्वात्तै बढेपछि निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको सिटी बसपार्क पनि साँघुरो हुने भएको वीरेन्द्रनगरका उपमेयर मोहनमाया ढकालले बताइन । ‘निर्माणकार्य सुरु गर्दा वीरेन्द्रनगरमा सवारी संख्या निकै कम थियो । र, सोही अनुसार ११० वटा बस अट्ने डीपीआर गरिएको थियो,’ उपमेयर ढकालले भनिन्, ‘तर यो बसपार्कले अब भने गाडीको चाप थेग्न नसक्ने देखिएको छ । हामी वैकल्पिक व्यवस्थापन पनि गर्दैछौं ।’

उपमेयर ढकालका अनुसार वीरेन्द्रनगर–१, को बाङ्गेसिमल र वडा नं.–११, को सुब्बाकुना क्षेत्रलाई बसपार्क निर्माण गर्ने सम्भावित क्षेत्रका रुपमा अध्ययन गरिएको छ ।

यातायात व्यवसायीका अनुसार दैनिक कम्तीमा पनि दुई सयभन्दा बढी गाडीले यो बसपार्क भएर आउजाउ गर्नेछन् । तर बसपार्कको क्षमता कम हुँदा समस्या हुने उनीहरु बताउँछन् ।
‘धेरैवर्ष पछि सुविधायुक्त सिटी बसपार्क सञ्चालनमा त आउँदै छ । तर क्षमता भने दोब्बर कम छ । यस्ले झन समस्या हुने देखिँछ ।’ सिद्धपाइला यायायात प्रा.लिका अध्यक्ष पदम वनले भने ।

नगरपालिकाले मासिक ३१ लाख आम्दानी गर्ने

सिटी बसपार्क सञ्चालनमा आएपछि सञ्चालनको जिम्मा पाएको कन्स्ट्रक्सनले नगरपालिकालाई मासिक ३१ लाख १५ हजार रुपैयाँ तिर्नुपर्ने छ । सिटी बसपार्क सञ्चालनसम्बन्धी नगरपालिकाले बनाएको कार्यविधिमा यस्तो व्यवस्था गरिएको छ ।

भक्तपुरको पीआर कन्स्ट्रक्सनले बसपार्क सञ्चालनको जिम्मा पाएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत टिकाराम ढकालले बताए ।
‘सञ्चालनको जिम्मा पाएको कन्स्ट्रक्सनले नगरपालिकालाई मासिक ३१ लाख रुपैयाँ तिनुपर्ने हुन्छ । सटरहरुको भाडा निर्धारण गर्ने जिम्मा कन्स्ट्रक्सनलाई नै दिइएको छ,’ उनले भने ।

कन्स्ट्रक्सनले बसपार्क भित्रका ५४ वटा सटरहरुसँगै त्यहाँका ग्यारेज, रेष्टुरेष्ट तथा प्रवेश र पार्किङ शुल्क उठाउन पाउने कार्यविधिमा उल्लेख छ ।

व्यापारिक प्रयोजनका लागि भाडामा दिइने ५४ वटा सटरलाई स्थानका आधारमा फरकफरक मूल्य निर्धारण गरिएको कन्स्ट्रक्सनका प्रबन्धक सञ्जय खड्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment