
१५ मंसिर, काठमाडौं । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधनको चार दिनपछि प्रहरीले उनका डाक्टर लियोपोल्डो लुकेको क्लिनिक र घरमा छापा मारेको छ ।
म्याराडोनाको उपचारमा कुनै लापरबाही गरिएको आशंकामा डाक्टरको घरमा छापा मारिएको हो । ६० वर्षको उमेरमा म्याराडोनाको ब्युनस आयर्सस्थित आफ्नै घरमा हृदयाघातको कारण मृत्यु भएको थियो ।
म्याराडोनाकी छोरीले आफ्ना पितालाई कुन औषधि दिइएको थियो भन्ने कुराको अनुसन्धान हुनुपर्ने माग राखेकी थिइन् । नोभेम्बरको सुरुमा नै म्याराडोनाको मस्तिष्कबाट ब्लड क्लट निकाल्नका लागि गरिएको अपरेसन सफल भएको थियो । त्यसका साथै मदिराको लत छुटाउन पनि उनको उपचार चलिरहेको थियो ।
म्याराडोनाका डाक्टर लुकेले प्रहरीको अनुसन्धानमा आफूले सहयोग गरिरहेको बताएका छन् । उनले म्याराडोनाको लागि अन्तिम समयसम्म पनि आफूले प्रयास गरेको बताउका छन् । करिब ३० प्रहरीले आइतबार लुकेको घर र अन्य ३० जनाले उनको क्लिनिकलमा छापा मारेका थिए । यो छापाबाट म्याराडोनाको मृत्युको अन्तिम दिन के के भएको थियो भन्ने पत्ता लगाउने प्रयास गरिएको हो । म्याराडोनालाई स्वास्थ्यलाभका लागि घर पठाउँदा उनी घर पठाउने अवस्थामा नरहेको र उनलाई क्लिनिकमा नै राखेर उपचार गराउनुपर्ने अवस्था रहेको बताइएको छ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4