Comments Add Comment

महिला हिंसा : टाउको दुखेको औषधि नाइटोमा नदलौं

हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा बिरूद्धको १६ दिने मनाइने अभियान बुधबारबाट सुरु भएकोछ । १६ दिने अभियान आ-आफ्नै सोंच, विचार र शैलीमा बिभिन्न संघसंस्था, संगठन, ब्यक्ति-ब्यक्तित्वहरूले मनाइरहेका छन् ।

यस अभियानबाट पितृसत्तावादी र महिलावादी सोचमा के परिवर्तन आयो ? यौनजन्य र शारीरिक हिंसाको शिकारमा कति कमि आयो ? अभियानले के सन्देश दियो ? उत्साहपूर्वक अभियानमा सहभागी पुरूष मित्रहरूले महिलाहरूमाथि गर्दै आएको ब्यवहारमा के परिवर्तन गर्नुभयो ? अभियानमा सहभागी हामी महिलाहरूले के परिवर्तन गर्यौं ?

मलाई लाग्छ, अभियान चलाउनु र दिवस मनाउनु मात्र ठूलो कुरा होइन । त्यस्ता अभियान र दिवसले दिने सन्देश अनि दैनिक जीवनमा गरिने ब्यबहार चाहिँ मुख्य कुरा हो । यस अभियानमा लैंगिक हिंसाबारे शहरकेन्द्रित केही बहस अवश्य आरम्भ भएको छ । तर, जहाँ बहस हुनु पर्ने हो र ब्यवहारमै परिबर्तन ल्याउनु पर्ने हो, त्यहाँ खास केही हुन सकेको छैन ।

लैंगिक हिंसाको मापन गर्ने हो भने शहरमा भन्दा ग्रामीण इलाकामा साथै शिक्षित, सम्पन्न परिवारमाभन्दा अशिक्षित, बिपन्न परिवार र खासगरी दलित समुदायमा बढी हुने गरेको छ ।

अधिकांश महिला अधिकारकर्मी अभियन्ताहरू शहरका तारे होटलहरूमा गोष्टी, सेमिनार गरेर समय बिताइरहेका देख्न सकिन्छ । मेरो अनुरोध छ- जुन समाज र समुदायमा समस्या बढी छ, समाधान पनि त्यहीँ गएर खोजौं । अन्यथा, परिणाम टाउको दुखेको औषधि नाइटोमा दले बराबर हुनेछ ।

धर्म, संस्कृति र परम्पराको नाममा इतिहासदेखि वर्तमानसम्म हजारौं होइन, लाखौं नेपाली चेलीहरूले ज्यान गुमाइसकेका छन् । अहिले हामी २१ औं शताब्दिको अन्तिम दशकमा छौं । विज्ञान प्रविधि र सूचना सन्चारमा आएको अभूतपूर्व परिवर्तनले मान्छेको चेतना, सोंच र बानिब्यहोरामा समेत ठूलो परिवर्तन ल्याइरहेको छ । र, हिंसाको स्वरूप र परिभाषामा पनि परिवर्तन आएको छ । अहिले पनि लैंगिक विभेदलाई विभिन्न तवरबाट टेवा मिलिरहेको छ । अनि राज्य र शासकहरू यही समाजको पक्षमा वकालत गरिरहेका छन् ।

विगतमा संस्कारका नाममा कतिपय विभेदकारी चलनमाथि गौरव गरिन्थ्यो, आज ती चलनलाई हिंसाको रूपमा परिभाषित गरिएको छ । यसको अर्थ विगतका सबै संस्कारहरू खराब थिए भन्ने पक्कै होइन । समाजमा आएको परिवर्तन सँगसँगै कतिपय संस्कार समस्याको रूपमा देखिन थाल्छ, त्यस्ता संस्कारलाई समयानुकूल परिमार्जन गर्दै लैजानु पर्दछ ।

पतिव्रताको नाममा प्रत्येक दिन बिहान उठेर लोग्नेको गोडाको पानी खानु, लोग्नेले नखाई स्वास्नीले खानु हुन्न भनेर दिन दिनभरि भोकै बस्नु, वास्तवमा संस्कारका नाममा गरिने हिंसा नै हो । तर, आफ्ना अग्रज अभिभावकहरूलाई आदर गर्नु, सेवा र सम्मान गर्नु सबैको कर्तब्य हो ।

आदरपूर्वक छोराले आमाबाबुको, बुहारीले सासूको गोडा ढोग्नु हाम्रो नेपाली सभ्यताको परिचय हो । अर्थात् आफ्ना अग्रज अभिभावकहरूप्रति आदर र सम्मान ब्यक्त गर्नु मानव सभ्यताकै परिचय हो। सम्मान ब्यक्त गर्ने शैली आ-आफ्नो संस्कार अनुसार अलग अलग हुन्छन् । मान्छे चेतनशील सामाजिक प्राणी हुनाको नाताले अग्रजलाई आदर र सानालाई प्यार गर्नु उसको कर्तब्य हो ।

हाम्रो समाजमा महिलाले महिलामाथि गर्ने हिंसा पनि डरलाग्दो छ । समान लिंगमा हुने हिंसाको एउटा मुख्य कारण पुस्तान्तरणले ल्याएको समस्या हो । आमा-छोरी र सासू-बुहारीको बीचमा घरघरमा समस्या बढिरहेको छ ।

आधुनिकताका नाममा सासूलाई केही नबुझेकी गँवार ठान्ने र हेप्ने प्रवृत्ति बुहारीहरूले र परम्पराका नाममा अलिकति छोटो लुगा लगाएकी बुहारीहरूलाई वाईफाले भन्दै बदनाम गर्ने संकीर्ण सोच सासूहरूले त्याग्नुपर्छ । यो खासमा पुरातन सोच राख्ने सासू र आधुनिक सोच राख्ने बुहारीबीचको अन्तरबिरोध हो । सासूले बुहारीलाई छोरीको माया दिने र बुहारीले सासूलाई आमाको सम्मान गर्ने गर्नुपर्दछ । एकले अर्कालाई दोषारोपण गरेर समस्याको समाधान हुँदैन ।

रजस्वला भएकी नारीलाई छुन हुन्न, छोएको खानु हुन्न, अपवित्र हुन्छे भनेर पशुवत ब्यवहार गर्ने, छाउपडी प्रथा मानव समाजको एउटा कलंक हो । महिलामाथि हुने क्रुर अमानवीय हिंसा हो ।

जुनबेला शरीरमा सबभन्दा बढी पोषकतत्वको आवश्यक पर्छ, त्यहीबेला भोकभोकै राख्ने, जुनबेला शरीरलाई सबैभन्दा बढी सरसफाईको आवश्यक पर्छ, त्यहीबेला प्रकाश र हावा पनि नछिर्ने कालकोठरीमा लगेर बन्द गर्ने, अनि जुनबेला मानसिकरूपमा सबभन्दा आडभरोसा र सान्त्वनाको आवश्यक पर्छ, त्यहीबेला परिवारका सदस्यहरूसँग अलग्याएर राख्ने । अनि उनीहरूलाई रोग नलागे कसलाई लाग्छ ? उनीहरूलाई सर्पले नडसे कसलाई डस्छ ? उनीहरू मानसिकरूपमा बिछिप्त नभए को हुन्छन् ? उनीहरू असुरक्षित नभए अरु को हुन्छन् ?

हाम्रो समाजका कतिपय संस्कार, परम्परा रूढिवादी मात्र होइन, लैंगिक रूपमा असाध्यै विभेदकारी पनि छ । लोग्नेको दीर्घायुका निम्ति स्वास्नीले निराहार व्रत बसिदिनु पर्ने तर स्वास्नी बिरामी भएको बेलामा लोग्नेले पानीसम्म तताएर नदिने, खुट्टा भए जुत्ता कति कति भन्दै लोग्नेले स्वास्नी थुपार्दै हिँड्ने, स्वास्नी कोही परपरूषसँग राम्रै नियतले बोली भने पनि रण्डी, बेश्याको बात लाग्ने, लोग्ने आफ्नै कालगतिले मर्दा पनि स्वास्नीमाथि पोइ टोकुवीको आरोप लाग्ने, आजिवन लोग्नेको नाममा विधवा जीवन बिताउनुपर्ने, वास्नी जति नै विदुषी भए पनि लोग्नेले बोलेपछि बोल्न नहुने, बोलिहाले पोथी बास्यो भनेर आरोप लाग्ने जस्ता कुसंस्कार अझै पनि हाम्रो समाजमा छँदैछ ।

संस्कार, परम्परा, धर्म, रीतिरिवाजका नाममा यस्ता रूढिवादी र विभेदकारी चलनलाई मान्नु हुन्न । यस्तो कुरा हिंसा त हुँदै हो, यसले समाज विकासमा पनि ठूलो अवरोध सिर्जना गर्दछ । जुन समाजमा ब्यवहारिकरूपमै नारी-पुरूष समान हुन्छन्, त्यस समाजको विकासको गति निकै तीब्र हुन्छ । संविधानमा लेखिने शब्दमा मात्रै समान भनेर पुग्दैन,ब्यबहारमै विभेद अन्त्य गरिने कुरा लेख्नु पर्छ र विभेद अन्त्य हुनु पनि पर्छ ।

हामी नारीहरू पछि पर्नुका दुई कारण छन्: पहिलो पितृसत्तावादी सोच अर्थात हीन भावना र दोश्रो समानताको नाममा निरपेक्ष समानता खोज्ने विकृत मानसिकता ।

विगतका संस्कार र रूढिवादी सोच सबै ठीक थिए, तसर्थ सबै लागू गर्नुपर्छ भन्ने भ्रम पनि हामीसँग छ । त्यस्तै आधुनिक हुने नाममा विगतका विज्ञानलाई पनि अस्वीकार गर्ने प्रवृत्ति पनि छ हामीसँग । माथि ब्याख्या गरिएका कुसंस्कारहरू अपनाएर वा विज्ञानलाई अस्वीकार गरेर हामी कहीँ पुग्दैनौं ।

नारी-पुरूष समानता लागु गर्न मुख्यत: अंश र वंशमा नारीको अधिकार ब्यबहारिक रूपमा स्थापित हुन जरूरी छ । हुनत अंश दिने परम्पराले सन्तानमा परनिर्भरता बढाउने विकृति पनि देखिएको छ । मेरो निजी विचारको कुरा गर्ने हो भने अबको युगमा सन्तानलाई अंश होइन, असल संस्कार र जीवनोपयोगी शिक्षा दिनुपर्छ ।

मैले यहाँ भन्न खोजेको कुरा मात्रै के हो भने, अधिकारमै लैंगिक विविधता भयो भने कहिल्यै पनि लैंगिक समानता हुन सक्दैन । ब्यवहारिकरूपमै बराबर अधिकार सुनिश्चित गर्दै, संस्कार र परम्पराका नाममा रूढिवाद र कुसंस्कार त्याग्दैँ, हिंसा गर्नेलाई कानुनको दायराभित्र ल्याउँदै, गर्न सके मात्रै लैंगिक विभेद र हिंसा ब्यवहारमै अन्त्य हुनेछ ।

समानताका नाममा असंभव कुरा माग गर्ने विकृत मानसिकता पनि हामी केही आधुनिक नारीहरूमा मौलाउँदै गइरहेको छ ।

समानता सापेक्ष हुन्छ । अप्राकृतिक रूपमा समानता खोज्नु र प्राकृत कुरामा समानता नदिनु विकृत मानसिकता हो । यी दुबै विकृत मानसिकताबाट नारी-पुरूष मुक्त हुनु पर्दछ ।

कृपया ढोंग र आडम्बर त्याग्नुहोस् । नारी स्वतन्त्रताको वकालत गरेजस्तो गरेर नारीकै हुर्मत नलिनुस् । कृपया दुराभाव राखेर होइन, एक अर्काले एक अर्काको अस्तित्व समान रूपमा स्वीकार गर्दै सद्धभाव राखेर सिंगै नारी जातिको सम्मान गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्

ट्रेन्डिङ

Advertisment