Comments Add Comment

अमेरिकी निर्वाचनमा धाँधली भएको प्रमाण छैन : महान्यायाधिवक्ता

१७ मंसिर, काठमाडौं । अमेरिकाका महान्यायाधिवक्ता विलियम बारले मंगलबार न्याय मन्त्रालयले अमेरिकाको गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा नतिजा नै परिवर्तन हुने गरी धाँधली भएको कुनै प्रमाण फेला नपारेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निरन्तर अमेरिकी निर्वाचनमा आफ्नो जित भएको र विपक्षीले धाँधली गरेर नतिजा आफ्नो पक्षमा पारेको दाबी गरिरहेकै अवस्थामा महान्यायाधिवक्ताको यस्तो प्रतिक्रिया आएको हो ।

एसोसिएट एसोसिएट प्रेससँगको अन्तर्वार्ताको क्रममा बारले अमेरिकाको महहान्यायधिवक्ता कार्यालय र गुप्तचर संस्था एफबीआईका एजेन्टहरुले निर्वाचनमा भएको धाँधलीको विषयमा प्राप्त वैज्ञानिक उजुरीबारे निरन्तर फलोअप गरिरहेको र अहिलेसम्म कुनै पनि प्रमाण भने फेला नपरेकेा बताए ।

बार राष्ट्रपति ट्रम्पका निकटका व्यक्ति मानिन्छन् । निर्वाचनअघि उनले चिठी वा मेलबाट गरिने निर्वाचनमा धाँधली हुन सक्ने बताउँदै आएका थिए । त्यसैले उनले मतदाताहरुलाई निर्वाचन केन्द्रमा नै गएर मतदान गर्न आग्रह गरेका थिए ।

ट्रम्पले भने निरन्तर राष्ट्रपति निर्वाचनमा आफ्नो जित भएको र आफूले हार्ने कुनै पनि सम्भावना नरहेको दाबी गर्दै आएका छन् । तर, उनले यो निर्वाचनमा भएको धाँधलीको कुनै पनि प्रमाण भने दिन सकेका छैनन् ।

गत नोभेम्बरमा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडन निर्वाचित भएका थिए । बाइडनले निर्वाचनमा ३०६ इलेक्टोरल कलेज भोट पाएका थिए । ट्रम्पले २३२ इलेक्टोरल कलेज भोट पाएका थिए । अमेरिकामा राष्ट्रपतिको रुपमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक हुन्छ ।

स्रोत : एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment