Comments Add Comment

कोभिडको साझा चुनौति सामना गर्न साझा प्रयास आवश्यक : शिक्षामन्त्री पोखरेल

उच्च शिक्षाको चुनौतीबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरु

२१ मंसिर, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ महामारीले उत्पन्न संकट विश्वका सबै मुलुकका लागि समान भएकाले साझा चुनौती सामना गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन् ।

कोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयले आयोजना गरेको ‘२०२० स्टार कन्फरेन्स’ विषयक दुईदिने सम्मेलनलाई आइतबार सम्बोधन गर्दै मन्त्री पोखरेलले सो धारणा राखेका हुन् ।

‘शेपिङ अ ह्युमान वर्ल्ड : ग्लोबल प्रस्पेक्टिभ अन हाइअर एजुकेशन’ विषयक सो सम्मेलनको उदघाटन कार्यक्रममा मन्त्री पोखरेलले शैक्षिक सत्रलाई खेर जान नदिने गरी प्रबन्ध गरेको जानकारी पनि गराए ।

महामारीपछि सरकारले सूचना, सञ्चार र प्रविधिमा आधारित वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिएको र जोखिम कम भएका स्थानमा सामाजिक दूरी कायम गरी प्रत्यक्ष पढाइ शुरु भएको उनले बताए ।

सूचना र प्रविधिमा आएका नवीन आयाम र परिवर्तनलाई आत्मसात् गरी उच्च शिक्षालाई अनुसन्धनात्मक तथा नवप्रवर्तनात्मक बनाउन आवश्यक रहेकोमा उनले जोड दिए ।

खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. लेखनाथ शर्माका अनुसार सोमबारसम्म चल्ने सम्मेलनमा अमेरिका, न्यूजिल्याण्ड, नेपाललगायतका विज्ञहरुको सहभागिता छ । सम्मेलनमा उच्च शिक्षाको नेतृत्व, शिक्षण पद्धति, कोभिड–१९ पछिको चुनौती लगायतका विषयमा छलफल हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment