Comments Add Comment

सुदूरपश्चिममा एकै महिना ४ दुर्घटना, २२ जनाको मृत्यु

२२ मङ्सिर कैलाली । कात्तिक २७ गते राति बैतडीको पाटन नगरपालिका वडा नम्बर–८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाले ज्यान गुमाए ।

तिहारको रौनक चलिरहेका बेला दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा परेको थियो ।

त्यसको ११ दिनपछि बैतडीमै अर्काे दुर्घटना भयो, जहाँ ५ जनाले ज्यान गुमाए । मङ्सिर ९ गते बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डामा दुर्घटना हुँदा भारतबाट पेन्सन बुझेर आउँदै गरेकाहरुको मृत्यु भएको थियो ।

यी दुई घटना सेलाउन नपाउँदै मंसिर २० गते राति डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु भयो ।

अर्काे दिन अर्थात् २१ गते राति दार्चुलामा ट्रक दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यु भएको छ ।

एक महिनाभित्रै प्रदेशका ३ जिल्लामा घटेका ४ ठुला दुर्घटनामा २२ जनाले ज्यान गुमाइसकेका छन् ।

दसैं–तिहारबीचमै सुदूरपश्चिमका ६ जिल्लामा भएका सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त गस्ती, मापसे जाँच र सर्प्राइज चेकिङ थाले पनि दुर्घटनामा कमी आउन सकेको छैन ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो ४ महिनामा ५३ जनाको मृत्यु भएको छ । कात्तिक महिनामा मात्रै २७ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष ०७६/७७ मा १४३ जना, अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा २२३ जना र ०७४/७५ मा १६६ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले रातिमा दुर्घटना बढेकाले सवारी साधन सञ्चालनमै रोक लगाउने कि भन्ने विषयमा छलफल भइरहेको बताए ।

‘लगातार ३ दुर्घटना राति भएका छन्, राति सवारी चलाउन नदिने विषयमा पछि छलफल भइरहेको छ’ उनले भने ।

सवारी दुर्घटनामा चालकको बढी लापरबाही देखिएको उनी बताउँछन् । ‘मध्यरातमा गाडी चलाउनु लापरबाही हो’ उनले भने ‘चालक बढी तनावमा हुँदा पनि दुर्घटना भएको देखिएको छ ।’

त्यस बाहेक सडकको दुरावस्था, सवारीसाधन चापका कारण पनि दुर्घटना बढिरहेको उनको तर्क छ । ‘दुर्घटना न्यूनीकरणका लागि चालक र पैदल यात्री पनि सजग हुनुपर्छ’ एसपी गौतम भन्छन् ।

तीब्र गति, पैदल यात्रुको लापरबाही, यान्त्रिक गडबडी, खराब मौसम र सडकमा छाडिका चौपाया पनि सवारी दुर्घटनाका मुख्य कारक बनिरहेका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी मुकेश कुमार सिंहले दुर्घटना नियन्त्रणको प्रयास भइरहेको बताए । उनले ट्राफिक प्रहरीको आँखा छलेर चालकबाट बढी लापरबाही हुँदा दुर्घटना हुने गरेको बताए ।

‘ग्रामीण क्षेत्रमा क्षमता भन्दा बढी यात्रु बोक्ने तीव्र गतिमा चाडी चलाउने लगायतका लापरबाहीले दुर्घटना बढिरहेका छन्’ उनले भने, ‘जुन ठाउँमा ट्राफिक प्रहरीको पहुँच छैन त्यही बढी दुर्घटना भएको देखिएको छ ।’

उनले लामो दुरीमा २ जना चालक राख्नुपर्ने नियम भए पनि अधिकांश बसहरूमा यो नियम पालन नभएको बताए ।

यातायात व्यवसायीले भने सडकको दुर्दशाका कारण बढी दुर्घटना भइरहेको बताउँछन् । ‘साँघुरो सडकमा सवारी साधनको चाप बढेपछि दुर्घटना बढेका हुन्’ सुदूरपश्चिम यातायात व्यवसायी समितिका अध्यक्ष पदम राज सापकोटाले भने, ‘सरकारले चालकलाई दोष दिएर आफू उम्किरहेको बताए ।’

सडक दुर्घटनाबारे छानबिन आवश्यक रहेको उनको भनाइ छ ।

‘२/४ जना सवार विमान दुर्घटना हुँदा सरकारको ध्यान केन्द्रित हुन्छ । तर, दर्जनौं व्यक्तिको गाडी दुर्घटनामा ज्यान जाँदा सरकारको ध्यान पुग्दैन’ उनी भन्छन्, ‘अब उच्चस्तरीय संसदीय समिति बनाएर दुर्घटना बारे छानबिन हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment