Comments Add Comment

‘ओलीजीले बालुवाटारलाई नै देश ठान्नुभयो’

२३ मंसिर काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला मंगलबार बालुवाटारमा सर्वदलीय बैठकको निम्तो मानेर फर्किएका छन् । प्रधानमन्त्रीले यसरी बैठक बोलाउनु सकारात्मक भए पनि बैठकमा ओलीको प्रस्तुती देखेर सिटौला निराश देखिएका छन् ।

देशको वास्तविक अवस्थाबारे प्रधानमन्त्री ओली ‘अपडेट’ नभएको र गुमराहमा परिरहेको सिटौलाको निश्कर्ष छ । कुवाको भ्यागुतोले कुवालाई नै संसार ठानेजस्तै प्रधानमन्त्री ओलीले पनि बालुवाटारलाई नै देश ठानेको सिटौलाले बताए ।

प्रधानमन्त्री ओलीको प्रस्तुतिबारे टिप्पणी गर्दै सिटौलाले अनलाइनखबरसँग भने, ‘उहाँको आजको प्रस्तुति हेर्दा उहाँले कुवाको भ्यागुतोजस्तो बालुवाटारलाई नै देश ठान्नुभएको छ ।’

प्रस्तुत छ, सिटौलासँग गरिएको छोटो कुराकानी-

आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको थियो, के रहेछ प्रधानमन्त्रीको एजेण्डा ?

प्रधानमन्त्रीजीको खासै एजेण्डा र प्रस्ताव थिएन । उहाँले शुरुमा विषय प्रवेश गरेर कोरोना संक्रमण महामारीको कुरा उठाउनुभयो । हामीले परीक्षण, उपचार सबै कुरामा प्रयास गरिरहेका छौं, भ्याक्सिन पनि जनतालाई छिट्टै उपलब्ध गराउँछौं भन्नुभयो । सरकारले राम्रो काम गर्दागर्दै पनि आलोचना मात्रै भएको छ, यहाँ प्रतिक्रियावादी शक्तिहरुले शीर ठाडो पार्ने मौका पाइरहेका छन् भन्नुभयो ।

आफ्नै दलभित्रको विषयमा पनि कुरा गर्नुभयो । हिजो विप्लव माओवादीले शिक्षकको घाँटी रेटेर मारेको विषयमा पनि कुरा गर्नुभयो । उहाँले विषय प्रवेश गर्दा गरेको जुन चर्चा हो, त्यसमा खासै एजेण्डा थिएन ।

उसोभए, सर्वदलीय बोलाउनको उद्देश्य के रहेछ ?

लामो समय भएको थियो सर्वदलीय बैठक नभएको, त्यसैले म अब सबै दलहरुको विचारलाई कदर गरेर अगाडि जान्छु भन्ने सन्देश दिनलाई हो सायद । कहिलेकाँही प्रतिपक्षी दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक गर्नु र उनीहरुको कुरा सुन्नुलाई राम्रो नै मान्नुपर्छ ।

सर्वदलीय बैठकको खास निष्कर्षचाहिँ के निस्कियो त ?

उहाँले विषय प्रवेश गरेपछि नेपाली कांग्रेसका तर्फबाट हामीले प्रष्टरुपमा भनेका छौं, सरकारको तीन वर्षको कार्यकालको मूल्याङ्कन गर्दा सरकार असफल देखिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था छ, यसमाथि अहिले प्रतिक्रियावादीको शीर उठ्न थाल्यो भन्ने प्रधानमन्त्रीले भन्नुभयो, यसको मूल कारण पनि सरकार नै हो । उहाँ नै हो ।

तपाईले (प्रधानमन्त्रीले) संवैधानिक निकायहरुलाई पनि स्वतन्त्र ढंगले काम गर्न दिनुभएन । प्रहरी प्रशासनलाई पनि स्वतन्त्र काम गर्न दिनुभएन् । धेरै ठाउँमा दमन गर्नुभयो, तनहुँको एउटा हो, अरु पनि थुप्रै घटना छन् । कोभिड-१९ को महामारीबाट जनतालाई जोगाउन ठोस व्यवस्थापन गर्न सक्नुभएन । गरिव जनता उपचार गर्न नसकेर घरमै मर्न बाध्य छन् । निजी क्षेत्रमा गएर उपचार गर्न सक्ने ल्याकत छैन गरिव मान्छेको । तमाम कुरामा सरकारले बेवास्ता गरेका कारण जनताको मनोवल गिरेको छ । जनता निराश छन् तपाईको सरकारप्रति प्रधानमन्त्रीजी, यो तपाईले आत्ममूल्याङकन गर्नुस् भन्यौं  ।

कमसेकम आज धेरै समयपछि बोलाएर यति कुरा भन्ने मौका दिनुभयो ।

कांङ्ग्रेसले जस्तै अरु दलले पनि सरकारको आलोचना गरे ?

आज त्यहाँ जनमोर्चाले पनि खासगरी सरकारको आलोचना नै गरेको छ । जनता समाजवादी पार्टीले पनि आलोचना नै गरेको छ । नारायणमान बिजुक्छेकाे पार्टीका प्रतिनिधिले पनि आलोचना गरे । आज त्यहाँ सरकारले राम्रो काम गरेको छ भनेर एकजनाले पनि बोल्नुभएन ।

सत्तापक्षका अन्य नेताहरुले नि ?

सत्तापक्षका शीर्ष नेताहरु सबै हुनुहुन्थ्यो । आज उहाँहरु कसैले पनि बोल्नुभएन ।

कसैले पनि सरकारको प्रतिरक्षा गरेनन् त ?

अहँ गरेनन् ।

आलोचनाको बचाऊमा प्रधानमन्त्रीले चाहिँ के जवाफ दिनुभयो ?

सरकारको आलोचना भएको छ र सुझाव पनि दिनुभएको छ त्यसलाई मैले गम्भीर रुपमा लिएको छु भन्नुभयो । यस्तो बैठक म फेरि पनि राख्छु भन्नुभयो ।

प्रतिपक्ष नेपाली कांग्रेसले यस अगाडि नै सरकारले काम गर्न सकेन भन्ने निष्कर्ष निकालिसकेको छ । नेकपाभित्रैबाट प्रधानमन्त्री फेर्नुपर्ने माग भइरहेको छ, यसमा कांग्रेसको धारणा के हो ?

मलाई कस्तो लाग्छ भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सरकारले देशको हितमा तीन वर्षको अवधिमा धेरै काम गर्न सक्थ्यो, तर गर्न सकेन । यो नेपाली कांग्रेस पार्टीको निष्कर्ष हो । अब यस्तो सरकारलाई राजनीतिक र नैतिक हिसाबले सरकारमा बसिरहने अधिकार रहँदैन भन्ने हामीले केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरिसकेका छौं ।

हामी अहिलेसम्म सरकारले राम्रो काम गरोस्, किन डिस्टर्भ गर्ने भनेर बसेका हहौं । तर, अब यही मंसिर २९ गते हामीले ७७ वटै जिल्लामा, देशब्यापीरुपमा सरकारका गलत कामकारवाही विरुद्धमा विरोध प्रर्दशन गर्दैछौं  । हाम्रो विरोध प्रर्दशन संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ र सरकारका गलत कामकारवाहीको विरुद्धमा छ ।

त्यो विरोध प्रर्दशन अब एकदिने मात्र हुँदैन, त्यसलाई निरन्तरता दिने कार्ययोजना हामी बनाउँछौं । अब महाधिवेशनको तयारीलाई पनि काम अगाडि बढाउनुपर्छ र सरकारको विरोध कार्यक्रमको पनि योजना अगाडि बढाउनुपर्छ भनेर मैले प्रस्ताव गरिसकेको छु । अबको बैठकमा कुराकानी हुन्छ ।

तपाई कांग्रेसले आन्दोलन गर्छ भन्दै हुनुहुन्छ, आज प्रधानमन्त्रीले आफूलाई सच्याउन लागेको कुनै संकेत पाउनुभएन र ? किनभने, यसरी सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्रीले सबैको कुरा सुन्न चाहनुभएको होइन ? 

प्रधानमन्त्रीजीको आजको विश्लेषण गराईले मलाई के लाग्यो भने उहाँको सोच र सूचना एकदमै सीमित छ । उहाँले बालुवाटारलाई नै देश ठान्नुभयो । उहाँले देशमा जनताको दुःख कष्टलाई बुझ्न सक्नुभएको छैन । जनतामा हाहाकार छ, उहाँले सुन्न, देख्न सक्नुभएको छैन ।

किन ? आजको उहाँको प्रस्तुति त्यस्तो थियो ?

धेरै टिप्पणी गर्नुभन्दा पनि उहाँको आजको प्रस्तुति हेर्दा उहाँले कुवाको भ्यागुतो जस्तो, बालुवाटारलाई नै देश ठान्नु भएको छ । उहाँले सरकारलाई समस्या छ, केही भन्नुभएन । सरकार सफल नै सफल भएको जस्तो, राम्रो राम्रो गरेको जस्तो ठान्नुभएको छ ।

जबकि यति धेरै भ्रष्टाचारका कुरा भएका छन् । अनियमितताको कुरा उठेको छ । प्रहरी प्रशासनमा यत्रो राजनीतिकरण भयो भन्ने विषय उठेका छन् । मजदुरहरुको गुनासो, बेरोजगारी बढेको छ । पर्यटन बन्द छ । शिक्षा ध्वस्त भएको छ । चारैतिर हाहाकार छ । तर, प्रधानमन्त्रीजी भन्दै हुनुहुन्छ कि कुनै समस्या छैन ।

आजको प्रस्तुतिले मलाई के लाग्यो भने प्रधानमन्त्रीको जुन घेरा छ, उहाँ एकदम सीमित ठाउँमा हुनुहुन्छ । धेरै साँघुरो र संकीर्ण घेरामा हुनुहुन्छ, जुन नेपालका लागि दुर्भाग्यपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment