Comments Add Comment

साझा र विवेकशीलको पुनर्मिलन : नीति र नेतृत्वमा गोलमटोल

२४ मंसिर, काठमाडौं । सुसंस्कृत राजनीतिको नारा र वैकल्पिक शक्ति बन्ने अभिष्ट बोकेर हिँडिरहेका दुई साना पार्टी साझा र विवेकशील नेपाली आजदेखि एक हुँदैछन् । ‘भर्चुअल’ माध्यमबाट एकता घोषणा हुने भएकाले व्यवस्थापकीय हिसाबले खासै ठूलो चटारो नहोला ।

पार्टीहरु फुट्नुभन्दा जुट्नु धेरै राम्रो । त्यसमाथि समान विचार-भावना र लक्ष्य बोकेका दलहरु एक ठाउँमा आउँदा बलियो शक्ति निर्माण हुने र गन्तव्यतर्फको यात्रा छोटिने विश्वास गरिन्छ । नेपालमा यसै पनि राजनीतिक दलहरु चाहिनेभन्दा बढी संख्यामा छन् । त्यसैले साझा र विवेकशील पार्टीबीच हुन गइरहेको एकता स्वागतयोग्य मान्नुपर्छ ।

यो एकता इतिहासको पुनरावृत्ति पनि हो । तीन वर्षअगाडि पनि यी दुई दल मिलेका थिए र त्यसले राष्ट्रियस्तरमै तरंग सिर्जना गरेको थियो । पुराना दलहरुको कार्यशैलीबाट दिक्दार बनेका जनताको एउटा तप्कामा ‘यिनीहरुले पो केही गर्छन् कि’ भन्ने खालको आशा त्यसबेला प्रवाह भएकै हो । तर, सबै आशामा पानी खन्याउँदै एकवर्षमै पार्टीमा विभाजन आयो । भेडा भेडातिर, बाख्रा बाख्रातिर भनेजस्तो दुवै दलका नेता-कार्यकर्ता आफ्नै पुरानो गुँडतर्फ फर्किए । त्यही विभाजनले ‘यिनीहरु पनि एउटै ड्याङका मूला रहेछन्’ भन्ने छाप जनतामा परेको छ । अहिलेको एकताप्रति पहिलेजस्तो जनचासो नहुनुको कारण पनि यही नै हो ।

साझा र विवेकशीलबीच कुनै ठूलो सैद्धान्तिक असमझदारीले फुटेका थिएनन् । केवल कार्यशैलीगत समस्या थियो । व्यक्तित्वको अहम् र टकराव थियो । राम्रो पक्ष के भने उनीहरुले विभाजनपछि पनि अरु पार्टीले जस्तो तल्लो स्तरमा ओर्लेर हिलो छ्यापाछ्याप गरेनन् । यदि गरेका थिए, भने फेरि यति चाँडो एकतामा फर्किन सम्भव हुन्थेन । विवेकशीलका नेताहरुले साझाले आफूहरुलाई ‘केटाकेटी’ ठानेको गुनासो गरेका थिए भने साझाले विवेकशीलका नेताहरुमा परिपक्वता नदेखिएको आरोप लगाएको थियो । यत्ति हो, भित्र जति ठूलो तिक्तता भए पनि त्यसलाई उनीहरुले सडकमा छताछुल्ल पोखेनन् ।

विभाजनपछि दुवै पार्टीले धक्का खाएका छन् । एक वर्षअघि भएको उपचुनावमा दुवै पार्टीले निराशा हात पारे । पछिल्लो समय साझाबाट सुर्यराज आचार्य र मुमाराम खनाल जस्ता हस्तिहरु बाहिरिएका छन् । यसले पार्टीलाई निकै चोट पुगेको छ । यता, विवेकशीलमा नेतृत्व परिवर्तन भयो । अध्यक्ष पद स्वेच्छाले छोडेसँगै उज्ववल थापा लगभग निस्क्रिय बनेका छन् । पछिल्लो समय एकता प्रक्रियामा असहमति जनाउँदै एउटा गुट विवेकशीलबाट चोइटिएको छ ।

नेतृत्वको विरोधाभाष

हरेक पार्टीबीचको एकीकरण प्रक्रियामा सबैभन्दा ठूलो अड्चन त्यतिबेला उत्पन्न हुन्छ, जब एकीकृत पार्टीको नेतृत्वको कुरा आउँछ । आफूलाई अरु पुरातन पार्टीभन्दा फरक दावी गर्ने साझा विवेकशीलबीच अघिल्लोपटक एकता हुँदा पनि यो उल्झन उत्पन्न भएको थियो । रवीन्द्र मिश्र र उज्वल थापा दुवैले पहिलो पदमा दाबी गरेपछि एकता प्रक्रियाले लामो समय लियो । अन्तमा दुवैजना संयोजक रहने गरी भागबण्डाको सिद्धान्त अपनाइयो ।

त्यसबेला अधिकार बराबर भए पनि रवीन्द्र पहिलो र उज्ववल दोस्रो वरियतामा थिए । रवीन्द्रको सेलिब्रटी छवि र आक्रमक नेतृत्व शैलीले गर्दा ‘रिजर्भ’ स्वभावका उज्ववल छायाँमा परे । विवेकशीलका अन्य नेताहरुले पनि साझाबाट आएका नेताहरुले पेल्न खोजेको अनुभव गरे । अन्ततः यही बहानाले पार्टी विभाजन भयो । फेरि विवेकशील र साझा पार्टी ब्यूँतिए ।

अहिलेको एकता प्रक्रियामा नेतृत्वको प्रश्न पहिलेभन्दा अलि सरल हुन सक्ने ठानिएको थियो । विवेकशीलमा उज्ववलको ठाउँमा युवा नेता मिलन पाण्डे आएका थिए । विगतमा आफ्नो मातहतमा काम गरिसकेका हुनाले मिलनले एकीकृत पार्टीमा पनि आफ्नो नेतृत्व स्वीकार्ने आशा मिश्रलाई थियो । तर, यो विषय सोचेजस्तो सरल भएन । पार्टी अध्यक्ष भएयता मिलनले प्रशस्त व्यक्तित्व विकास गरिसकेका थिए । मिडियाहरुमा पनि उनले राम्रै स्पेस पाए, जसले गर्दा उनको आत्मविश्वास बढ्दो थियो । उनले नयाँ पार्टीमा मिश्रसँगै समानान्तर अध्यक्षको दावी गरे । फेरि पनि पहिलेजस्तै दुवै बराबरी हैसियतका अध्यक्ष बन्ने गरी प्रारम्भिक सहमति जुट्यो ।

तर, यसरी जाँदा जनतामा नराम्रो सन्देश जाने दुवैतर्फका नेताहरुले महसुस गरे । फेरि मिश्र पहिलो वरियतामा रहने गरी अध्यक्ष र मिलन संयोजक हुने गरी नयाँ सहमति गरिएको छ । तर, समस्या कहाँनेर छ भने नाम फरक भए पनि अध्यक्ष र संयोजक दुवै पदले उस्तै हैसियत बोक्छन् । फरक यति मात्र हो कि अध्यक्षले अलि स्थायी र संयोजकले अस्थायी नेतृत्वको आभास गराउँछ । एकीकृत पार्टीमा अध्यक्ष र संयोजक दुवै कार्यकारी हुने भनिएको छ । यस सम्वन्धमा साझा र विवेकशील पार्टीका नेताहरुको भनाइमा अहिले पनि थोरै विरोधाभाष पाइन्छ ।

साझा पार्टीका नेताहरु मिश्रले पार्टीको नेतृत्व गर्ने र पाण्डे ‘सेकेन्ड म्यान’ का रुपमा रहने भन्ने खालको ब्याख्या गरिरहेका छन् । उता विवेकशीलका नेताहरु चाहिँ अध्यक्ष ‘सेरेमोनियल’ जस्तो हुने र संयोजक शक्तिशाली हुने गरी अधिकारको बाँडफाँड हुने दावी गर्छन् । यो विरोधाभासले निकट भविष्यमा नै पार्टीभित्र किचलो उत्पन्न नहोला भन्न सकिन्न ।

साझाकी नेतृ समीक्षा बास्कोटा अध्यक्ष र संयोजक दुवै कार्यकारी भूमिकामै हुने विषयमा अन्योल नरहेको बताउँछिन् । तर, अधिकार बाँडफाँडको विषय भने पछि टुंग्याइने उनको भनाइ छ ।

‘अधिकार बाँडफाँडको प्रश्नलाई एकीकृत पार्टीको केन्द्रीय समितिले निरुपण गर्नेछ, यो विवादको विषय बन्दैन,’ उनले भनिन् ।
विवेकशीलका एक नेताले बराबरीको सिद्धान्तका आधारमा एकता गरिएको अवस्थामा अध्यक्ष र संयोजकबीचको अधिकार बाँडफाँड पनि बराबरी नै हुनुपर्ने बताए ।

‘वरियतामा तलमाथि भए पनि अधिकारमा तलमाथि हुँदैन र हुनु हुँदैन,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने ।

सिद्धान्तको अन्योल

एउटै स्पिरिटमा हिँडिरहेका भए पनि साझा र विवेकशीलबीच राष्ट्रिय राजनीतिका केही एजेन्डाहरुमा मतैक्यता छैन । एकता वार्ताका क्रममा पनि यी विषयमा उनीहरुले साझा धारणा बनाउन सकेनन् । अन्ततः अहिले दुवै पार्टीले बोकेका सिद्धान्तलाई आत्मसात गरेर ६ महिनापछि महाधिवेसनमा जाने टालटुले सहमति गरिएको छ ।

साझा पार्टीको गत वर्ष बुटबलमा भएको राष्ट्रिय भेलाले धर्म निरपेक्षता र संघीयताका विषयमा जनमतसंग्रह गर्नुपर्ने निस्कर्ष निकालेको थियो । उक्त निर्णयमा साझा अहिले पनि कायम छ । जनमतसंग्रहमा जानुपर्ने भए पनि पार्टीले यी धर्मनिरपेक्षता र संघयताको स्पष्ट विरोध भने गरेको छैन । यो निर्णयमाथि विवाद उत्पन्न भएपछि त्यसलाई थप स्पष्ट पार्ने काम चैतमा बसेको केन्द्रीय कमिटीले गरेको थियो ।

केन्द्रीय कमिटीले यी दुई विषयमा सार्वजनिक गरेको धारणा यस्तो छ :

धर्म निरपेक्षताका विभिन्न विकल्प हुन सक्छन् । अल्पसंख्यक धार्मिक समुदायलगायत सबै नेपालीका परम्परादेखि चली आएका धार्मिक आस्था र संस्कृतिको संवर्द्धन तथा कुनै पनि खाले धार्मिक र सांस्कृतिक अतिक्रमणका विरूद्ध साझा पार्टी उभिने छ ।

त्यस्तै केन्द्रीकृत राज्य प्रणालीबाट उच्च तहको विकेन्द्रीकरणसहित नेपालको विविधितामा हरेक समूह र तप्कामा आत्मसम्मान, समान अधिकार र राष्ट्रिय अपनत्व र एकताको भाव जगाउने प्रभावकारी र परिणाममुखी राज्य व्यवस्थाको पक्षमा साझा पार्टी हुनेछ ।

यता विवेकशील भने जनमतसंग्रहको कुरामा सहमत छैन । वर्तमान संविधानलाई जस्ताको त्यस्तै स्वीकारेर जानुपर्ने उसको मत छ । यो अन्तरविरोधलाई कार्पेटमुनि थिचेर एकता हुन लागेको हो । दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रको एकता पनि लगभग यसैगरी भएको थियो । फलस्वरुप एकीकृत पार्टी नेकपा अहिलेसम्म पनि सैद्धान्तिकरुपमा स्पष्ट हुन सकेको छैन । र, जुन गल्ति नेकपाले गर्यो, साझा-विवेकशीलले त्यही दोहोर्‍याउँदैछ ।

विवेकशील ब्युँतिन सक्ने

पार्टी एकताअघि विवेकशील नेपालीमा ‘पहिरो’ गएको छ । विविध विषयमा अन्तुष्टि जनाउँदै संघीय समितिका २९ मध्ये १३ जना एकता प्रक्रियाबाटै अलग भएका छन् । यो विद्रोहको नेतृत्व उपाध्यक्ष अजीता राईले गरेकी छन् । साझाका पूर्वअध्यक्ष उज्ज्वल थापा पनि एकताको विपक्षमा रहेको बुझिएको छ । यद्यपि, अध्यक्षबाट राजीनामा दिएयता उनी पार्टीमा खासै सक्रिय छैनन् ।

असन्तुष्ट समूह साझासित एकतामा जान नहुने पक्षमा पहिलेदेखि थियो । विवेकशीलले आफ्ना तल्ला कमिटीहरुमा मतदान गराउँदा एकताको पक्षमा दुईतिहाई मत आयो । तर, त्यो परिणामलाई आफूहरुले स्वीकार्न नसकेको उपाध्यक्ष अजीता बताउँछिन् । अब विवेकशीललाई फेरि ब्युँताउन सक्ने उनको भनाइ छ ।

‘हामीले अहिलेसम्म पार्टीले बहुमतका आधारमा गरेका निर्णय सबै मान्दै आयौं, तर एकताको विषयमा भने सहमत हुन सकेनौं,’ उनले भनिन्, ‘पहिले विवेकशीललाई बलियो बनाएर अनि मात्रै अरुसँग एकताको विषयमा सोच्नुपर्छ भन्ने हाम्रो अभिमत थियो ।’

एकताका विषयमा अजीताको थप धारणा यस्तो छ :

हामी गएको असारबाटै यो प्रक्रियाबाट अलग भएका हौं । अहिलेसम्म औपचारिकरुपमा विवेकशील छोडेका छैनौं । म आजका दिनसम्म पार्टीको उपाध्यक्ष पदमा कायम नै छु । तर, नयाँ पार्टीमा नजाने निश्चित भइसकेको छ । उहाँहरुलाई एकताको शुभकामना दिन चाहन्छौं ।

हाम्रा असहमति दुईवटा छन् । पहिलो त विगतमा आएको विभाजनको कारणबारे पार्टीका सदस्य र जनतालाई बुझाउनै सकिएको छैन । फेरि पनि त्यही अवस्था दोहोरिँदैन भन्न सकिने आधार पनि छैन । निर्वाचनमा ठूलो दललाई जनताले पत्याउँछन् भन्ने लोभले मात्रै एकतामा जान खोजिएको छ । यो त पुरानै पार्टीहरुको जस्तो सोच भयो । दोस्रो कारण भनेको हामीले विवेकशीलकै संगठनलाई पूर्णता दिन भ्याएका थिएनौं । माथि टाउको छ, तर तल हातखुट्टा छैनन् । संघीय समितिले नै पूर्णता पाएको छैन । प्रदेश कमिटी र प्रदेश कमिटीका कामहरु बाँकी छन् । यो सबैलाई पूर्णता दिएर पार्टीलाई सबल बनाएपछि मात्रै एकताको विषयमा सोच्नुपर्ने थियो ।

हामी अब के गर्ने भनेर छलफलकै क्रममा छौं । साथीहरुले दल दर्ता गरौं भन्नुभएको छ । विवेकशीललाई ब्यूँताउने सम्भावनाबारे पनि छलफल हुँदैछ । विवेकशीलका पुराना साथीहरु पनि छलफलमा आउनुभएको छ । निर्णयमा पुगिसकेका छैनौं ।

यस्तो छ एकताको मोडल

एकीकृत पार्टीको नाम विवेकशील-साझा राख्ने सहमति छ । अघिल्लोपटक पनि यही नाममा उनीहरु एक भएका थिए । पार्टीको चुनाव चिन्ह तराजु रहने छ । यो अहिले साझा पार्टीको चुनावचिन्ह हो ।

दुई पार्टीका कमिटीहरुलाई बराबरीका आधारमा मर्ज गर्ने सैद्धान्तिक समझदारी भएको छ । दुई पार्टी अहिले फरक-फरक संरचनामा छन् । साझा पार्टीमा १३ सदस्यीय सचिवालय र त्यसमुनि ६५ सदस्यिय केन्द्रीय कमिटी रहेको छ । विवेकशीलमा भने सबैभन्दा माथिल्लो निकायका रुपमा संघीय समिति छ, जसमा अहिले २९ सदस्य छन् ।

अब एकीकृत पार्टीमा सबैभन्दा माथिल्लो निकायका रुपमा सचिवालय हुनेछ । यसमा दुवै पार्टीका १३/१३ जना रहनेछन् । साझाबाट हाल सचिवालयमा भएका १३ जना नै रहनेछन् । विवेकशीलले संघीय समितिभित्रबाट १३ जनाको नाम सचिवालयका लागि सिफारिस गरेको छ ।

यसैगरी, एकीकृत पार्टीमा १ सय ३० जनाको केन्द्रीय समिति रहने छ, जसमा साझा र विवेकशीलबाट ६५-६५ जना रहनेछन् । एकीकृत पार्टीमा अध्यक्ष र संयोजकबाहेक अन्य पदाधिकारीको अहिले घोषणा नगरिने बुझिएको छ ।

एकता घोषणाका लागि साझा पार्टीको बखुण्डोलस्थित कार्यालयमा मुख्य नेताहरु भेला हुनेछन् । अरु सहभागीहरु जुममार्फत जोडिनेछन् ।

साझा र विवेकशील २०७४ साल साउन ११ गते एकीकृत भएका थिए । २०७५ पुसमा यो पार्टीमा फुट आएको थियो । फुटेको करिब दुई वर्षपछि फेरि उनीहरु एक हुन लागेका हुन् ।

साझाकी नेतृ बास्कोटा विगतमा भएको विभाजनको निर्मम समीक्षा गरेर नयाँ एकता गरिएकाले पुरानो घटना नदोहोरिने बताउँछिन् ।

‘हामीले पहिलेका गल्ती कमजोरी पहिल्याएर एकदमै राम्रो गृहकार्य गरेर मात्रै एकता गर्न लागेका हौं, त्यसैले यो एकता दिगो हुनेमा विश्वस्त छौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment