+
+
Shares

काठमाडौं वरिपरिका हाइकिङ रुट : भद्रगोल व्यवस्थापन

अच्युत पुरी अच्युत पुरी
२०७७ मंसिर २६ गते ९:१०

२६ मंसिर, काठमाडौं । जडिबुटीका सुजन सुवेदी अघिल्लो शनिबार एक साथीसँग हाइकिङको लागि घरबाट निस्किए । काठमाडौंका अधिकांश हाइकिङ रुटमा हिँडिसकेकाले ललितपुरको लेलेतर्फ लागेका उनीहरु सडक बिस्तारका क्रममा अत्यधिक धुलो भएर तीनपाने डाँडाँतर्फ लागे ।

आफ्ना लागि विलकुल नयाँ हाइकिङ रुटमा न कुनै सूचना केन्द्र थियो न त साइनबोर्ड । बाटोमा भेटिएकाहरुलाई सोध्दै अगाडि बढ्ने क्रममा उनीहरुले खाजा–पानीसम्म किनेर खान पाएनन् ।

हिजोआज हरेक शनिबार स–सानो समूह बनाएर पदयात्रामा निस्कने चलन बढेको छ । उपत्यका वरपरका अधिकांश हाइकिङ रुटमा भिडभाड बढेको छ । तर, उचित व्यवस्थापनको अभावमा फोहोर बढेको छ ।

दुईसाता अगाडि काठमाडौंको कंकाली हाइकिङ गएका सञ्चारकर्मी मोदनाथ ढकाल डाँडामा पुग्दा रमाइलो होइन, दिक्क लागेको बताउँछन् । उनका अनुसार, त्यहाँ भ्यूटावर बनिरहेको छ । त्यहीँ नै पिकनिक स्पट बनाइएको छ ।

‘कंकालीमा जताततै पानीका बोतल, चाउचाउका खोल लगायत फोहर असरल्ल पारिएको छ’, उनी भन्छन्, ‘डाँडामा पुगिसकेपछि एकछिन भुइँमा बसेर सुस्ताउन पनि सिकसिको लाग्ने अवस्था रहेछ ।’

गन्तव्य चम्किए, व्यवस्थापन कसले गर्ने ?

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी काठमाडौं उपत्यका वरिपरिका स्थानीय तहहरुले पाएको पर्यटकीय अवसर उपयोग नभएको ठान्छन् ।

‘धेरैजसो हाइकिङ रुट पहिले तयार पारेर यात्रुलाई आइदिनुस् भनेर आह्वान गर्नुपर्छ । त्यो नचल्न पनि सक्छ’, उनी भन्छन्, ‘तर, काठमाडौं वरिपरिका डाँडाकाँडामा यात्रुहरु आफैं पुगिरहेका छन् । तर, स्थानीयवासी, स्थानीय सरकार र सरोकारवाला निकायहरुको बेवास्ताले गन्तव्यहरु भद्रगोल बन्दै गएका छन् ।’

उनका अनुसार, राम्रो पर्यटकीय गन्तव्यको सम्भावना बोकेका ठाउँहरुमा समान्य सूचनापाटी समेत पाइँदैन । सुवेदी भन्छन्, ‘प्रकृतिले त दिएकै छ, त्यसमा अलिकति लगानी गर्नुपर्छ भन्ने सोच नै पाइँदैन ।’

बढ्दो जोखिम

ललितपुरको फूलचोकी डाँडा जानेहरु दुर्घटनामा पर्नेदेखि जंगलमै हराउनेसम्मका घटना हुने गरेका छन् । २०७५ सालयता मात्र फूलचोकीमा २० जनाभन्दा बढी हराएर खोजी अभियानपछि फेला परेको तथ्यांक प्रहरीसँग छ ।

हिउँ पर्ने समयमा त्यहाँ यात्रुको बढी भिड लाग्छ । पहाडी वनको बाटोमा साइनबोर्ड नभेटेर उल्टोपाल्टो हिँड्दा हराउने समस्या दोहोरिने गरेको छ ।

अर्कोतर्फ अधिकांश हाइकिङ रुटमा दुई पांग्रे सवारीमा युवायुवतीको लर्को लाग्छ । ती ठाउँमा सडकको अवस्था कमजोर भएकाले दुर्घटनाको जोखिम स्वतः बढेको छ । त्यस्ता ठाउँमा कहाँसम्म सवारी साधन लगेर जान पाइने भन्ने नियम बनाउनु पर्ने टानका अध्यक्ष सुवेदी बताउँछन् ।

राष्ट्रिय निकुञ्जभित्रका हाइकिङ रुटहरु भने बाहिरको तुलनामा सफा र सुविधाजनक छन् । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र शिवपुरी, जमाचो लगायत हाइकिङ रुट छन् ।

यी रुटमा निश्चित शुल्क तिर्नुपर्छ । सोहीकारण फोहोरमैला व्यवस्थापनका साथै सिँढी लगायत पूर्वाधार बनाइएका छन् । ठाउँठाउँमा साइनवोर्ड र सूचनापाटीहरु छन् । अन्य रुटमा भने हाइकिङका आधारभूत पूर्वाधार नै नभएको टानका अध्यक्ष सुवेदी बताउँछन् ।

प्रवर्द्धनको तयारी

नेपाल पर्यटन बोर्डले काठमाडौं उपत्यका आसपासका हाइकिङ रुटलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरिरहेको छ । बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदी छोटो घुमफिरले लामो यात्रासम्मको योजना बनाउन प्रेरित गर्ने हुनाले वरिपरिका गन्तव्यको प्रवर्द्धन जारी राखेको बताउँछन् ।

टानले पनि हाइकिङ गन्तव्यको सूचनामूलक प्रोफाइल बनाउने तयारी थालेको छ । अब रुट व्यवस्थापनको लागि पनि सरोकारवालासँग समन्वय गर्ने अध्यक्ष सुवेदीले बताए ।

आफ्नो गाउँठाउँ सफा राख्दा पाहुना बढेर आम्दानी पनि बढ्ने विषयमा स्थानीय बढी जागरुक हुनपर्ने उनी बताउँछन् ।

उपत्यका आसपासका व्यस्त केही हाइकिङ रुट

चन्द्रागिरि (भालेश्वर)

फूलचोकी

शिवपुरी

तारेभिर

चम्पादेव

जामाचो

सुन्दरीजल

लाँकुरी भञ्ज्याङ

भट्टेडाँडा

मातातीर्थ

नगरकोट–साँगा

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?