२७ मंसिर, काठमाडौं । ललितपुर लेलेका कवि केशव सिलवाल त्रिभुवन विश्वविद्यालय समाजशास्त्र अध्यापन गर्छन् । उनको कविताको मूल स्वर पनि समाज र राजनीति नै हो । प्रगतिशील लेखनसँग जोडिएका सिलवाल मार्क्सवादी आन्दोलनका क्रममा थुप्रै जनसांस्कृतिक संगठनमा जोडिए । त्यसक्रममा उनले लेखेका ‘पोलिटिकल कविता’ पाठकमाझ चर्चित रहे ।
उनको ‘वर्जित अवशेष’ २०६३ र ‘धारिला मानिसहरू’ (२०६६) दुई कविता संग्रहसँगै दर्जनौं फुटकर कविता प्रकाशित छन् । ती कवितामा तीव्र व्यंग्यसहित भुइँमान्छेको आवाज केन्द्रमा राखिएको हुन्छ । सिलवाल आफैं पनि ‘व्यक्तिले भन्दा कविताले नै स्टन्ट गरोस्’ भनिरहेका हुन्छन् ।
जनवादी कविको परिचय बनाएका सिलवाल अहिले पनि ललितपुरस्थित लेलेमै बसोबास गर्छन् । काँठ क्षेत्रबाट नेपाली कवितामा सार्थक हस्तक्षेप गरिरहेका सिलवालसँग कविता र सामाजिक विषयमा अनलाइनखबरले गरेको कुराकानी :
‘कविताले नै स्टन्ट गरोस्’ भनेर अन्तर्वार्ता दिनुभएको थियो । कविताले कसरी स्टन्ट (प्रभाव पार्ने कौशल) गर्छ ?
मैले कवि चन्द्रवीर तुम्बापोसँगको अन्तर्वार्तामा त्यसो भनेको थिएँ । त्यसो भन्नुको तात्पर्य कविताले ठीक ढंगले समाज र समयसँग संवाद गर्न सक्ने हुनुपर्छ भन्ने थियो । हामी कविता लेख्छौं भने त्यो सृजनाको आफ्नो छुट्टै शक्ति हुनुपर्छ । कविता आफैंमा बलियो हुनुपर्छ भन्ने हो । त्यस्तो शक्ति विचार र चेतना बोकेको असल कविताले गर्छ । जनताको कविताले गर्छ ।
असल कविताले कसरी बन्छ ?
स्वतन्त्रता, न्यायपूर्ण समाज र मान्छेको गौरवपूर्ण जीवन नै असल कविताको स्वर हो । कविता कहिल्यै मानिसको जीवनभन्दा पर जाँदैन । यसो त माक्र्सवादी कविहरूलाई सधैं एउटै कुरा दोहोर्याएको आरोप पनि लाग्ने गर्छ । जनताको कुरा एउटा भूपी शेरचनले लेखे पुगिहाल्यो नि भन्ने तर्क उनीरूको आरोप हुने गर्छ ।
यद्यपि, जीवनमा संघर्ष नै सत्य कुरा हो । मान्छेभन्दा पर कुनै साहित्य हुन सक्दैन । यस अर्थमा हामीले लेख्ने साहित्य एकोहोरो हुन भएन तर मान्छेसँग छुट्टिन पनि भएन । मान्छेको युगको कुरा छुट्न भएन ।
आजको कविताले समय र समाजसँग ठीक ढंगले संवाद गर्न नसकेको हो ?
हामीसँग (नयाँ पुस्ता) धेरै अवसर थियो । गणतन्त्रका अवसर, प्रविधि र ‘ग्लोबलाइजेसन’ले ल्याएका थुप्रै अवसरहरू थिए । पहिचानको कुरा थियो, जुन सबैभन्दा उर्वर विधा बन्यो ।
यी विविध कुरा हुँदाुहँदै पनि हामीले किन लेख्न सकेनौं ? जनताको तहबाट अझै जीवन्त कविता साँच्चै किन लेख्न सकेनौं ? जाति, जनजाति, सीमान्तकृतका सूक्ष्म सांस्कृतिक पक्षमाथि ख्याल गरेर खोइ कविता लेखिएको !
यो प्रश्न म आफैंसँग पनि गरिरहन्छु भने जरुर केही कमजोरी त छ ।
६२–६३ को आन्दोलनपछि दर्जनौं कवि एकसाथ आए । तर अहिले उनीहरूको स्वर कम हुँदै गएको भन्नुभएको हो ?
कविताकै मूल्यांकन गर्दा गोपालप्रसाद रिमाल, भूपी शेरचन, बैरागी काइँलालाई छोडेर विमल निभाको पहिलो संग्रह ‘आगोनेर उभिएको मानिस’ (२०४०) मै आइपुग्दा त्यसबीच धेरै सामर्थ्यवान् कविका कविता आए ।
आजका नयाँ कविहरूलाई त्यो बीचको लेभलसम्म उक्लन पनि गाह्रो भइरहेको छ । कसरी राम्रो लेख्ने भन्ने नै हाम्रो साझा पीडा हो । समकालीन साथीहरूको पनि पीडा यही हो । हामी त अझै माथि जानुपर्ने तर कविताको तहमा हामी तल–तल जाँदै पो छौं कि ! हामीले साधनाको तहमा ध्यान दिएनौं कि भन्ने लागिरहन्छ ।
अभाव र असमानताले कविता जन्माउने कुराचाहिँ सत्य हो ?
मान्छेले कविताबाट आफ्ना कुरा सहज ढंगले अभिव्यक्त गर्न सकेर नै यो विधा रुचाएको हो । कविता, गीत जनताको कुरा सहजै अटाउन सक्ने विधा हो । यसैले पनि असमानता र अन्यायमा मानिस कविता लेख्न जुर्मराउँछ नै ।
तर, अभाव र आक्रोशको स्वर कहिलेसम्म टिकिरहन्छ भन्ने कुरा मुख्य हो । कति साथीहरू त पहिचानका कुरा उठाएर थाकिसके । आफ्नोे मुद्दाबाट बाटो मोडिसके । यसरी छिटो थाक्ने कुरा ठीक होइन । हाम्रा कुरा त विचारको तहमा आएर दीर्घकालीन हुनुपर्यो ।
एउटा कवि कत्तिको निष्ठावान् (शुद्ध) हुनुपर्छ ?
हामी हाम्रै कविताप्रति कति इमानदार छौं त्यो सबैभन्दा मुख्य कुरा हो । मेरो लागि राजनीति घृणाको कुरा होइन । यो आवश्यक चिज हो । राजनीतिभित्र पनि इमानदारी चाहिन्छ भने कविले आफूले बोलेको कुरामा इमानदार हुनै पर्छ ।
हामी यति इमानदार हुनुपर्छ कि, आन्दोलनको कुरा लेख्छौं भने आन्दोलनको मोर्चामै हुनुपर्छ । जनताको कुरा गर्छौं भने जनताकै माझ हुनुपर्छ । सत्यलाई उद्घोष गरिन्छ भने सत्यकै बाटोमै हुनुपर्छ । इमानदार भएर निरन्तर आन्दोलनमै हुनुपर्छ । म त सडककै आन्दोलनमा पनि निरन्तर हिँडिरहन्छु ।
तपाईको ‘चिबे चरा’ र ‘रगतको रंग’ भन्ने कविता निकै पढिएको कविता हो । ती कविता कस्तो सन्दर्भमा लेख्नुभयो ?
यो कुरा बुझ्न म कवितामा कसरी प्रवेश भएँ भन्ने बुझ्न आवश्यक छ । मैले कविता गरिब र दुःखी मानिसहरूलाई प्रेम गर्न थालेपछि लेख्न सिकेको हुँ । युवावस्थामा हुने देशप्रतिको प्रेम पनि थियो । यसैले स्वभाविक रुपमा मैले गरिब, दुःखी जनताकै कुरालाई केन्द्रमा राखेर कविता लेख्न थालें ।
पछि, पहिचानको कुरालाई पनि फरक ढंगले भन्नुपर्छ भन्ने आशयमा ‘चिबे चरा’ लेखेको हुँ । २०६७–६८ तिर लेखेको यो कविताको केन्द्र नै पहिचान हो । ‘रगतको रंग’ भने जनयुद्धकालको अन्त्यमा लेखेको हुँ । त्यतिबेला समानतको कुरा गर्दा सबैले रगतको रंग त एउटै हुन्छ भन्ने गर्थे । मेरो मनले के सोच्यो भने, कहाँ रगत उस्तै हुन्छ ? मान्छेअनुसार रगतको रंग फरक–फरक हुन्छ । न्यायप्रेमी र अन्यायको रंग फरक हुन्छ, झुट र सत्यको रंग फरक हुन्छ भन्ने भावमा उक्त कविता लेखेको हुँ ।
पछिल्लो दशक ‘एन्टी थिम’ (मूलधार बाहिर) मा केन्द्रीत भएर कविता लेख्ने क्रम बढेको हो ?
‘एन्टी थिम’ केलाई भन्ने प्रश्न सुरुमै आउँछ । सत्तामा लिप्त हुनेले त्यसभन्दा बाहिरलाई एन्टी थिम सोच्छ । तर शोषित, पीडित जनताको तहले सयौं वर्षदेखि दमन गर्ने त्यही सत्ताविरुद्ध आवाज उठाउँदा त्यो एन्टी थिम हुने ?
यो दुई कुरा देख्दा सामान्य कुरा हो लाग्छ । परिवर्तन चाहनेको कुरा सतहमा हेर्दा एन्टी करेन्ट त देखिन्छ तर वातविक करेन्ट (मूलधार) त उनीहरू नै हुन् नि ! झट्ट हेर्दा उल्टो देखिन्छ यो कुरा ।
तपाईं ५० को दशकको कवि भएपनि जुनियर कविहरूसँग निरन्तर सहकार्यमा हुनुहुन्छ किन ?
मलाई नयाँ मान्छे मन पर्छ । नायँ मानिसकहरूको उर्जा मन पर्छ । आजका नयाँ कविको कविता पढ्न म सधैं लालयित हुन्छु । यसैले म नयाँ जमातमा हुन्छु । आखिर कविता एक माध्यम हो भने त्यो आन्दोलनको रुपमै हुनुपर्छ । आन्दोलन त नयाँबाट मात्र सम्भव हुन्छ । यसैले संगठीत, समूहगत र अनौपचारिक तहमा समेत नयाँ पुस्तासँगै सहकार्य गरिरहेको हुन्छु ।
‘उन्मुक्त पुस्ता’का साथीहरू जोडिनू, पोस्ट कविता आन्दोलन आदिसँग जोडिनु म युवाहरूको मोर्चामै भएको प्रमाण हो ।
प्राध्यापक हुँदाहुँदै पनि कविताबाहेक अन्य विधामा किन कम लेख्नुभयो ?
मैले निबन्ध वा कथा सोचिरहें भने कविता बन्द हुन्छ । निबन्धको चिन्तन र पठनमा कविता हराउन पनि सक्छ । फेरि, कविता लेख्न १० मिनेट लागेपनि त्यसको रचना–गर्भमा धेरै घटना, अध्ययन–मनन जोडिएको हुन्छ । असल कवितासँग अदम्य शक्ति हुन्छ । यसको प्रभाव समाजको तल्लो तहदेखि माथिल्लो तहसम्म पर्छ । बीचमा म समाजशास्त्रको औपचारिक पढाइतिर लागेकाले पनि म अन्य विधाभन्दा कवितातिर नै बढी ध्यान दिन्छु ।
औपचारिक अध्ययनतिर लागेपछि धेरैले साहित्यलाई सहायक कर्म बनाउँछन् नि ?
कतिले त्यसो गर्छन् तर समाजशास्त्र मेरो पहिलो बिट होइन । औपचारिक अध्ययन चाहिने हुनाले म शास्त्र, सिद्धान्ततिर लागेपनि सृजनाको शक्तिलाई कहिल्यै कम आक्दिनँ । सृजना र साधनाको शक्तिले नै ठूला–ठूला परिवर्तन सम्भव पारेका छन् । मानिसलाई छुन सकेका छन् । यसैले कविता लेखनमै आफूलाई सम्पूर्णतः होमिरहेको छु ।
प्रत्यक्ष राजनीतिचाहिँ कति गर्नुभयो ?
म राजनीतिको विरोधी नभएकाले राजनीति भएन भने समाज चल्दैन भन्ने कुरामा विश्वास राख्छु । चुनावको समयमा आम जनता, कवि–लेखक, कर्मचारी लागेकै कारणले हामीसँग राजनीति अभिन्न जोडिएको प्रस्ट हुन्छ ।
‘ह्युमन बिइङ इज अ पोलिटिकल एनिमल’ भनेर सिद्धान्तले नै भन्छ । यसैले केही समय व्यवहारको तहमा समेत राजनीतिमा लागें । संगठन निर्माणको तहसम्मका काममा खटिएको थिएँ । तर, मेरो राजनीतिको बाटो फरक रहेछ । अहिले म साहित्यिक राजनीतिमा म छु । साहित्य नै मेरो राजनीतिको माध्यम हो ।
तपाईं काँठमा जन्मनुभयो, त्यहीँ बस्नुहुन्छ । काँठ मूलधारमा छ कि छैन ?
काँठको कुरामा पछिल्लो दशक निकै बहस भएको छ । प्रथमतः काँठमा जनताहरू राजनीति बुझ्दैनन् भनिन्छ । तर उनीहरू जत्तिको राजनीति बुझ्ने कोही हुँदैन । नेतालाई गाली गर्नेदेखि अर्को सांसद को हुन्छ भन्नेसम्मका कुरा काँठका चिया टेबुलमा तपाईं सुन्न पाउनुहुन्छ ।
यद्यपि, काँठ दोहोरो मारमा छ । राजनीति उनीहरूले रुचाउने कुरा भए पनि प्रत्यक्ष राजनीतिमा काँठ उठ्न सकेका छैनन् । यो सहरको छायामा छ । कर्णालीको मान्छे राजधानीमा आएर बस्न सक्छ तर काँठको मान्छे सक्दैन । काँठ सबैभन्दा पीडित छ । कुरामा गर्न जान्ने भयो भन्दैमा उनीहरूसँग पहुँच र शक्ति हुन्छ भन्ने छैन ।
एकदिन मलाई एकजना मानिसले सोधेका थिए, ‘काँठको मान्छे को मन्त्री भएको छ । को शक्तिमा पुगेको छ ?’ मलाई उहाँको कुरा ठकि लाग्यो ।
काँठको मान्छे भएर पनि तपाईंलाई साहित्य र प्रतिरोधका कुरामा कसरी रुचि जाग्यो ?
म साहित्य लेखनमा पचासको दशकमा आएपनि अन्तिममा मात्र स्थान पाएको मान्छे हुँ । साहित्यमै आउन पनि निकै संघर्ष गर्नुपर्यो । धेरै मानिसले विद्यालय तथा कलेजबाटै साहित्यमा बाटो पाउने गर्छन् ।
मेरो परिवार पनि त्यति शिक्षित होइन । बुबा सेनामा हुनुहुन्थ्यो तर मैले जागिरको सानो परिधिमा जान्नँ भन्ने संकल्प गरिसकेको थिएँ । त्यहीँबाट विद्रोह सुरु भएको हो । यसपछि सक्रिय भएर साहित्यमा आउन पनि धेरै घुमाउरो बाटो हिँड्नुपर्यो ।
समुदायस्तरमै कविको सहभागिता हुनुपर्छ भन्नुभएको हो ?
हो, कवि जनताकै माझमा हुनुपर्छ । कोरा अभिव्यक्तिले मात्र परिवर्तन सम्भव छैन ।
म सामुदायिक वनको सचिव भएको नै बीस वर्ष भइसक्यो । अहिले विश्वविद्यालय पढाउँदा पनि त्यहाँ सक्रिय छु । वन समितिमा मान्छे झगडा गर्छन्, हानाहान गर्छन् तर उनीहरू कति निर्दोष तरिकाले आफ्नो हितका लागि लडिरहेका हुन्छन् । गाउँको कुरा गाउँमै मिलाउँछन् । उनीहरूलाई ज्ञान दिने तहमा म छैन तर सहसीकरण त गर्न सक्छु । म त्यो निर्वाह गरिहरेको छु । गाउँ छाडेका छैन ।
अन्त्यमा कवि केशव सिलवालको कविता ‘चिबे चरा’ यहाँ प्रस्तुत गरिएको छ :
म पनि हुँ यो देशको एउटा चरा
यही देशको एउटा रुखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?
के राष्ट्रिय चरा हुन
डाँफेको जस्तै रंगीन प्वाँख नै हुनुपर्छ ?
के मयुरले झैं
रंगीन प्वाँखहरू फिँजारेर
दर्शकको लागि नाच्नै पर्छ ?
के कोइलीको झैँ
मधुर आवाजमा गाउनै पर्छ ?
तिमीलाई घृणा लागे पनि
मेरो निख्खर कालो रङ
यो देशका अनेकौं रङहरू मध्ये
एउटा रङ हो
तिमीलाई बोझिलो लागे पनि मेरो पहिचान
म यो देशका अनेकौं पहिचानहरू मध्ये
एउटा पहिचान हुँ
मेरो पनि दाबी छ–
म यो देशको राष्ट्रिय चरा हुँ
सुनकै पिँजडामा थुनिए पनि
गाउँदिन म तिम्रो लागि–
गोपीकृष्ण कहु
म होइन तिम्रो शान्तिको प्रतीक परेवा
म होइन–
तिम्रो भ्यालेन्टाइनको प्रतीक जोडी चखेवा
म केही पनि होइन तिम्रो लागि
तर, कालो र लामो पुच्छर भएको
कुरूप नै सही
म यो देशको एउटा चरा हुँ
मेरो पनि दाबी छ–
म यो देशको राष्ट्रिय चरा हुँ
यो देशलाई हुरीले उडायो भने
खस्नेछ मेरो गुँड पनि रुखबाट
र मर्नेछन् मेरा बचेराहरू
यो देशमा सूर्य म¥यो भने
मेरो पनि अन्त्य हुनेछ त्यस दिन
म यो देशका लागि
दिन सक्छु मेरा सबै प्वाँखहरू
बरु, तिमी जान सक्छौ बसाइँ सरेर
अर्कै टापुमा
म भने कालो र लामो पुच्छर फिरफिर हल्लाउँदै
चिरबिराइ रहनेछु यही देशको गीत
यही देशको एउटा रुखमा
बनाएको छु मैले आफ्नो गुँड
म उड्छु यहीँको खुल्ला आकाशमा
म यहीँ काढ्छु आफ्ना बचेरा
र हुर्काउँछु
तर, किन भइनँ म
यो देशको राष्ट्रिय चरा ?
(प्रस्तुति : निर्भीकजंग रायमाझी, तस्वीरः शंकर गिरी/अनलाइनखबर)