Comments Add Comment
पुस्तक समीक्षा :

नियात्राको निरन्तर पाइला : देश देशावर

नियात्रा नेपाली साहित्यमा पछिल्लो समय निकै लोकप्रिय विधा भएको छ । नियात्राकार तारानाथ शर्माले यस विधालाई उचाइमा पुर्याएका हुन् । विसं २०२७ सालमा प्रतिष्ठित मदन पुरस्कार उनको नियात्रा पुस्तक “बेलाइततिर बरालिंदा” ले पाएपछि नियात्रा विधाले मान्यता र प्रतिष्ठा एकसाथ पाएको हो । त्यसपछि यो विधामा लेख्नेहरु प्रशस्त आए । यही क्रममा केही वर्षअघि झुल्केका हुन् जीवा लामिछाने ।

विसं २०३७ सालमा पहिलो निबन्ध “ब्राम्हणको चलाखी” कक्षा ९ मा पढ़दा नेपाल माध्यमिक विद्यालय रत्ननगर टांडीको वार्षिक मुखपत्र “नेपालज्योति” मा प्रकाशित भए पनि उनको गम्भिर लेखन यात्राको थालनी भने साठीको दशकको शुरुतिर नेपाल पत्रिकामा “युरोपको रेलमा एक फन्को” को प्रकाशनसँगै भएको हो । त्यसपछि उनका नियात्राहरु फूटकर रुपमा प्रकाशित हुन थाले र पाठकहरुले निकै रुचिका साथ लिन थाले । अनि छोटो समयमा उनको लेखनले पाठकको मन तान्यो । त्यो मन तान्ने क्रमले निरन्तर उकालोको यात्रा गरिरह्यो र पहिलो पुस्तक “सरसर्ती संसार” प्रकाशित भएपछि त्यसले पाठकको मन र ध्यान खिच्ने क्रमलाई अर्को उचाइ दियो ।

खासमा पछिल्लो समयमा नियात्रा लेखनमा यतिधेरै कलम चलेको छ कि, एक प्रकारको बाढी नै आएको छ । त्यस बाढीमा नियात्राकारहरु यात्राका प्रसङ्गभन्दा आफ्ना मनका गुम्फनलाई बढी अभिव्यक्त गर्न थालेका छन्, भावनाको भेलमा बढी बग्न थालेका छन् र यात्राका भूगोल, इतिहास र अन्य आकर्षण भने गौण हुन पुगेका छन् । यसले एक प्रकारको पट्यारलाग्दो बनाइदिन्छ नियात्रालाई ।

विदेशको कुरा सँगसँगै पत्तै नपाउने गरी नेपालको मिल्दोजुल्दो तथ्य आउँदा पाठकलाई मजाले घत लाग्छ, नेपालसँग निकट लाग्छ भावनात्मक हिसाबले

हुन त आजकाल इतिहास र भूगोल गुगल सर्चमै पाइन्छ, किन लेखिरहनु पर्यो र भन्ने अभिमत पनि देखिन्छ । तथापि कुनै नियात्रा पढ्दा त्यस स्थानको भूगोल, इतिहास र पृष्ठभूमि पनि अन्तर घुलन हुनसक्यो भने उत्तम नियात्रा बन्दछ, जुन आजकालका धेरैजसो नियात्रामा पाइन्न । तर जीवा लामिछानेका नियात्रामा त्यसको पौल पाइन्छ, त्यसैले पनि उनका नियात्राहरु छोटो समयमा अत्यधिक लोकप्रिय हुन पुगेका छन् ।

छोटो समयको अन्तरालमै दोश्रो नियात्रा कृति लिएर उदाएका जीवाको “देश देशावर” ले उनको नियात्रा लेखनप्रतिको निरन्तरता र प्रतिबध्दता समेत प्रमाणित गरेको छ । आजको समय निरन्तर पाठकसँग नजिक हुने समय हो । नियमित लेखन र लेखनप्रतिको प्रतिवद्धताले यो शर्त पूरा गर्छ ।

जीवाको लेखनमा पाइने खास विशेषताहरुमा उनी जहाँ पुग्छन्, त्यहाँ पुग्नु अघि नै त्यस स्थानको बारेमा जानकारी विभिन्न माध्मवाट हासिल गर्छन् र ती अनुभव र अनुभूति यात्राको क्रममा पाठकलाई बाँड्न रुचाउँछन्–’जर्मनीबाट रुवाण्डा पुग्दा मेरो मनमा जातीय द्वन्द्वले आक्रान्त भएको र लाखौं मानिस जातीय विद्वेषको आगोमा भष्म भएको देशमा जाँदैछु भन्ने अनौठो त्रास थियो । फर्किंदा एउटा सम्पन्न र सुसंस्कृत देशवाट फर्किएको अनुभूति भइरहेको थियो ।’

उनी प्रसङ्ग आउनासाथ नेपालसँग तादात्म्य मिलाइहाल्छन् आफ्नो नियात्राको क्रममा । यो एउटा नेपालीको मन र मष्तिष्कमा गढेर बसेको नेपालको मायाँ, छाप र नेपालप्रियता हो । तान्जानियाको दास दासीको प्रसङ्ग आउनासाथ उनी राणा प्रधानमन्त्री चन्द्र शम्शेरले दास प्रथा उन्मुलन गरेको ऐतिहासिक तथ्य सम्झन पुग्छन् । यसको कारण नेपालप्रतिको अट्याचमेण्ट मात्र नभएर उनको नेपालको इतिहासको ज्ञान पनि हो ।

यात्राको क्रममा पाइने अनेक हण्डर पनि नियात्राको रोचक पक्ष हो । ठगिएका अनुभव र अनुभूति पनि रोचक पक्ष हो । मोजाम्विकको राजधानी मापुतोमा विमानस्थलमा १० डलरका लागि सारसौंदो फारामलाई मिल्काएर त्यहींका मानिसले भरेको मात्र मान्य हुने ठगीलाई समेत उनले छर्लङ्ग्याइदिएका छन् ।

यात्राको क्रममा नेपालीसँग भेट्न चाहनु, रुचाउनु र नेपाली रेष्टुँरा देखे त्यहाँ गएर खानु पनि उनको विशेषता हो । नेपालीले गरेको मेहनतको तारिफ गर्न र नेपालीको उन्नतीमा गर्व गर्न पनि उनी खुला दिलले रुचाउँछन्- ‘चार वर्षअघि युगाण्डा पुगेका कृतिले आफ्नै नेतृत्वमा एक्सप्रेस हाइवे निर्माणको धेरै काम सकिएको बताइरहँदा उहाँको अनुहारमा प्रशन्नताका रेखा कुदिरहेका थिए । तत्क्षण मेरो मनमा भने इन्जिनियर थापाको क्षमता प्रयोग गरेर नेपालले पनि यस्तै हाइवे बनाएको खबर सुन्न पाए भन्ने सपना दौडिरहेको थियो ।’

नयाँ नयाँ गन्तब्य खोजेर यात्रा गर्नु र सर्वथा नयाँ जानकारी पस्किनु जीवाका नियात्राका थप विशेषता हुन् । संसारमा सबैभन्दा धेरै दूध पिउने फिनलैण्डवासी रहेछन् भन्ने देखि लिएर साइप्रसमा एउटै शहर दुई देशमा विभाजित भएको र विनाभिसा यता-उता गर्न नमिल्ने जानकारी पनि प्राप्त हुन्छ । उनी स्थानीय अन्धविश्वासका कुराहरुलाई पनि टिपेर पाठकलाई बाँड्न छुटाउँदैनन्, ‘पाफोस सहरमा एउटा अनौठो रुख रहेछ । त्यो रुखमा आफूले मन पराएको ब्यक्तिले लगाएको लुगाको टुक्रा बाँध्यो भने अलि दिनमा त्यो व्यक्ति फर्केर आउँछ भन्ने विश्वास रहेछ । प्रेम गाढा हुने विश्वासमा धरानको बूढा सुब्बाको बाँस झ्याङमा माला वा धजो रुखमा बाँध्दा रहेछन् । यस्तो धजो बाँधेकै कारण कति प्रेमी वा प्रेमिकाको मिलन भयो त्यो त मैले थाहा पाइएन । तर साइप्रसले पर्यटकलाई भुलाउने बाटो भने पाएको छ ।’

गुगल सर्चबाट प्राप्त जानकारी त आधिकारिक हुने नै भयो तर ट्याक्सी ड्राइभरको बयानबाट लिइएको जानकारी उनी आफैंले कति ठाउँमा हाँसेर उडाएका छन् । आगामी नियात्रा लेखनका लागि यी कुराहरु मननीय हुन सक्छन्

यसरी विदेशको कुरा सँगसँगै पत्तै नपाउने गरी नेपालको मिल्दोजुल्दो तथ्य आउँदा पाठकलाई मजाले घत लाग्छ, नेपालसँग निकट लाग्छ भावनात्मक हिसाबले ।

जीवा कुनै कुरा पत्ता लागेपछि त्यसको चुरोसम्मै पुग्न रुचाउँछन् । जस्तो एकपल्ट सामाजिक सञ्जालमा प्रशस्त चर्चा भएको राजा वीरेन्द्रको फोटो स्केचसहित उत्पादन गरिएको वीरेन्द्र वियरको वारेमा थाहा पाएपछि अनेक धामा गरेर ती उद्पादकसम्मै पुग्छन्, अनेक सूत्रवाट र वीरेन्द्र बियर उपहार पाउँछन् । ती वियर उत्पादकसँगको कुराकानीबाट त्यो वीरेन्द्र बियरको विषयमा चलेको हल्ला चिर्ने यथार्थ प्रस्तुत गरिदिन्छन् ।

नियात्रामा भेटिएका पात्रहरुको चरित्र चित्रणलाई पनि जीवाले जीवन्तता र तीक्ष्ण रोचकता प्रदान गरेका छन् । यस्तो रोचकता ‘म्युनिखमा बियरको खोलो’ नियात्राका दुई जर्मन बूढाहरुको चरित्र चित्रणमा खुलेको छ । २५ वर्षदेखि बर्सेनि बियर मेलामा भाग लिंदै आएका तिनीहरुसँगको फरासिलो, ठट्याईलो सम्वाद र रोचक कुराकानी सुन्दा पाठकले मनमा उठेको हाँसोको फोहरा रोक्न मुस्किल पर्छ । म्यूनिखको वियर महोत्सवको प्रत्यक्ष वर्णन र त्यसको ईतिहास समेत पढेपछि बियर पारखीलाई राम्रै काउकुती लगाइदिन्छ ।

यो बियर महोत्सवको प्रसङ्गमा नेपालको रोदीघरको संस्कृतिलाई समेत जोड्न चुकेका छैनन् जीवाले । यौटा जर्मनले सिङ्गो नेपाललाई आफ्नो सङ्ग्रहालयमा समेटेको अद्भूत लाग्ने तथ्य पनि बेजोडको छ । बियर महोत्सवमा मात्र होइन, वाइनको बखान सुनेपछि त्यो वाइन चाख्न र बियरको बखान सुनेपछि बियर चाख्न पनि उनी चुक्दैनन् ।

क्यानडाको केसा लोमा (हिल हाउस) को वर्णन पढ्दै जाँदा यौटा इतिहासको परिभ्रमण गरेझैं, दन्त्यकथाको देशमा पुगे झैं बनाइदिन्छ ।

यात्राको क्रममा ती स्थानको उन्नती प्रगति र प्रविधिमा चासो राख्नु, आर्थिक उन्नतीको जरो पहिल्याउनु र ती सबलाई नेपालमा कसरी लैजान सकिएला र नेपालको रुपान्तरण होला भन्ने चिन्ता र चिन्तन अर्को महत्वपूर्ण पाटो हो । उनको प्रत्येक नियात्रामा भेटिने नवीन जानकारी, घतलाग्दा प्रसङ्ग र नेपालसँग बारम्बार जोडिने सन्दर्भहरुको उद्धरण गर्ने हो भने त्यो निकै लामो हुन्छ ।

यति हुँदाहुँदै जीवाले गरेका यात्रा सुविधा सम्पन्न पर्यटकले गरेको यात्रा हो । ती यात्रामा सामान्य मानिस र सामान्य जनजीवनका कथा उतिसारो पाइन्नन् । तिनीहरुसँग नियात्राकारको जम्काभेट हुँदैन । प्राय: सबै पूर्ण ब्यवस्थित यात्रा हुन् । सामान्य यात्रुले भोग्ने हण्डर उनले भोगेको देखिन्न । गुगल सर्चबाट प्राप्त जानकारी त आधिकारिक हुने नै भयो तर ट्याक्सी ड्राइभरको बयानबाट लिइएको जानकारी उनी आफैंले कति ठाउँमा हाँसेर उडाएका छन् । आगामी नियात्रा लेखनका लागि यी कुराहरु मननीय हुन सक्छन् ।

तर समग्रमा भने यो नियात्रा कृतिले जीवाको नियात्राकार ब्यक्तित्वलाई उँचो बनाएको छ, नियात्राकारहरुको भीडमा टडकारो देखिने बनाएको छ । उनको भाषामा पाइने मिठास र उनीसँग परिचितले उनैले फुटुफुटु बोलेजस्तो लाग्नु उनको निख्खर मौलिकताको परिचायक हो । त्यसमाथि सुरुचिपूर्ण वर्णन शैली, रोचकता र पठनियता यी नियात्रामा बेजोड विशेषता हुन् ।

-गोविन्द गिरी प्रेरणाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment