Comments Add Comment

प्रदेश २ मा महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु

३० मंसिर, सप्तरी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको छनौटका लागि सप्तरी सदरमुकाम राजविराजमा प्रदेश २ स्तरीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन सिराहा र महोत्तरी टिम विजयी भएको छ । स्थानीय राज रंगशालामा भएको खेलमा सिराहाले सप्तरीलाई र महोत्तरीले बारालाई पराजित गरेको हो ।

पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित १४ ओभरको खेलमा ९ विकेट गुमाउँदै २७ रन मात्रै बनाउन सक्यो । बलिङतर्फ सिरहाका आरती चौधरीले ३ ओभर बलिङमा १ मेडनसहित २ रन दिई ३ तथा अनुराधा चौधरीले २ एवं सन्तोषी चौधरी, सरस्वती चौधरी र कविता गौतमले १/१ बिकेट लिए ।

२८ रनको झिनो लक्ष्य लिई जवाफी व्याटिङ गरेको सिराहाले २ ओभर २ बलमा बिना कुनै क्षति उक्त लक्ष्य पूरा गर्‍यो । सिरहाका आरती चौधरी ७ तथा अनुराधा चौधरी ५ रन बनाएर अविजित रहे ।
खेलको वुमन अफ द म्याच सिराहाका आरती चौधरी भइन् ।

मंगलबारै भएको अर्काे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बाराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रन बनायो । बाराका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् भने ३१ रन अतिरिक्त प्राप्त गर्‍यो । बलिङतर्फ महोत्तरीकी रोजी कडेरीले ४ ओभरमा १२ रन दिई ३ बिकेट लिइन भने विमला मगर, मानषी चौहान र शोभा आलेले १/१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको महोत्तरीले ७ ओभर २ बलमा २ विकेट मात्र गुमाएर पूरा गर्‍यो । महोत्तरीका लागि बिमला मगरले अविजित १९ रनको योगदान दिइन भने पुष्पा फुयाँलले १२ रन जोडिन् ।

बलिङतर्फ बाराका साना प्रवीण र चान्दनी अधिकारीले १÷१ विकेट लिए । खेलको वुमन अफ द म्याच महोतरीकी रोजी कडेरीलाई घोषणा गरियो ।

प्रदेश क्रिकेट संघको समन्वयमा सप्तरी क्रिकेट संघले यो प्रतियोगिताको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment