Comments Add Comment

टोटनहमलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

२ पुस, काठमाडौं । रोवर्टो फिर्मिनोले अन्तिम समयमा गोल गरेपछि टोटनहम हट्सपरलाई पराजित गर्दै साविक विजेता लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ ।

गएराति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा टोटनहमलाई २-१ ले हरायो । जितपछि लिभरपुलले टोटनहमसँग ३ अंकको स्पष्ट अग्रता बनाएको छ ।

एनफिल्डमा मोहम्मद सालाहाले २६औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा हेउन मिन सनले टोटनहमका लागि बराबरी गोल फर्काए ।

खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला फिर्मिनोले ९०औं मिनेटमा गोल गर्दै लिभरपुललाई शानदार जित दिलाए । फिर्मिनोले एन्ड्रु रोवर्टसनको कर्नरमा उत्कृष्ट हेडर गोल गरे ।

जितपछि १३ खेलबाट लिभरपुलले २८ अंक जोडेको छ । समान खेलबाट २५ अंकसहित टोटनहम दोस्रो स्थानमा छ ।

यस्तै तेस्रो स्थानको लेस्टर सिटी भने एभरटनसँग २-० ले पराजित हुँदै चौथो स्थानमा झरेको छ ।

उता आर्सनलसँग बराबरी खेल्दै साउथह्याम्पटन तेस्रो स्थानमा उक्लेको छ । आर्सनलको मैदानमा भएको खेलमा थियो वल्कोटले १८औं मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए ।

तर ५२औं मिनेटमा पिएरे एमरिक ओवामेयाङले बर्सनलका लागि बराबरी गोल फर्काए । ६२औं मिनेटमा आर्सनलका गाब्रीएल रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । तर त्यसको फाइदा साउथह्याम्पटनले उठाउन सकेन ।

बराबरीपछि १३ खेलबाट २४ अंक जोड्दै साउथह्याम्पटन तेस्रो स्थानमा उक्लेको हो । लेस्टर समान अंक भएपनि गोलअन्तरमा साउथह्याम्पटन अघि रहेको हो ।

लेस्टरले भने हारपछि दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । लेस्टरलाई हराएको एभरटन २३ अकं जोड्दै पाँचौ स्थानमा उक्लेको छ । लेस्टरलाई उसैको मैदानमा पराजित गर्न एभरटनका लागि रिचार्लिसनले २१औं र मासोन होल्गेटले ७२औं मिनेटमा गोल गरे ।

प्रिमियर लिगकै अन्यल खेलमा लिड्सले न्यूकासललाई ५-२ ले पराजित गर्दा वेष्टहम र क्रिस्टल प्यालेसले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment