Comments Add Comment

कथा : रातो प्रकाश बस्ती

हिजोजस्तै अँध्यारो छ हगि ? किन होला यस्तो ? साँच्चै ! यो बस्ती नै यस्तै हो कि क्या हो ? बिरालाहरूको ङ्यार…ङ्यार…ङुरङुर पनि हराएको होइन ।

बैंस लागेका घोडाहरू हिल्लिने यी झुप्राहरू पनि कति थपिएका ।

लौ ! आँखा पनि देखिँदैन, के भएको त्यो…। ऊ त्यो कौसीबाट कसले पिसाब फेरेको त्यस्तरी…त्वारा…रा…रा…। लाज पचेका भाँडहरू ।

अगिको कुकुर पनि कस्तो रहेछ । के चाटेर आएको होला छिः त्यो ।

राल चुहाउँदै भट्टीभित्र पस्यो । जाँडका भुँड्काहरू पनि कति फुटेको आवाज आइरहेको लगातार । रोकिनु पर्ने नियम नै छैन के यो जथाभावी गर्ने केन्द्र हो ?

****

‘हिजोको हुन्न, आज अर्कै चाहिन्छ ।’

‘कुन हिजोको, कुन अर्कै ?’

‘मलाई कमजोर हुन्न, नगन्हाओस् पनि’

‘कस्तो कमजोर, कस्तो नगन्हाउने ?’

‘कस्सिएको होस्, सारो बाक्लो ।’

‘कस्सिएको ? त्यो त रबड हो रबड ।’

मेरो रुपियाँ लिने मान्छे खासखुस गर्दै कता लाग्यो कता । टुकी देखाउने हात पनि हरायो । उज्यालो छँदै छैन । के गरेर उज्यालो पार्ने हो ? खै !!

मेरो वस्त्र तह लगाउने मान्छे कहाँ गयो ? जुत्ता पनि छैन । कता बेपत्ता भएछ, पाइँदै पाइएन ।

हैन मेरो खुट्टै पो छैन कि क्या हो ? किन त म आफूमा उभिन सक्तिन !

साँच्चिकै यो थुतुनो किन गन्हाउँछ ! लाज नभएका जुठा मुखहरू !!

ओ हो !! अब त मलाई आकाशले किच्छ कि क्या हो !

लौ ! लौ ! मलाई रिँगायो ।

यो गल्लीमा चुरीहरू पनि कति बजिरहेका ,आवाज पनि अनेक थरीका ।

यो बजारको भाउ झुन्डिएको साइनबोर्ड कहाँ छ ? उदाङ्गमा ? अङ्गालोमा ? कस्सिएको छातीमा ?

हैन ! यो समुद्र हो कि टापू  ? कि नरक जन्माउने उद्यानहरू ? गजब छ गजब  ! कीराको बीउ पनि महङ्गो हुने लक्षण देखा पर्न थाल्यो ।

****

यो महङ्गीको युग रे, यो महङ्गो विश्व रे ! त्यसो भए म घोषणा गर्छु––

यो घृणाको युग हो ! जहाँ एकले अर्कोलाई माया गर्दा गर्दै घृणा गर्छन्, यो त्यही बस्ती हो–– जहाँ सबैथोक आफूखुसी महङ्गो हुने गर्छ ।

शंख बज्यो म पूजा गर्छु,देवता (प्रकृति) मान्छु ।

बर्षा झर्यो, खेत खन्छु, पसिना तर्काउँछु ।

घण्टी बज्यो ,पुस्तक खोज्छु, अध्ययन गर्छु ।

ए मान्छे ! तिमी भ्रममा पर्न लाग्यौ, यहाँ त्यसो गर्नु हुन्न, भोकै पर्लाउ र मर्लाउ । यो कुन त्यस्तो थलो होस् जहाँ सत्य र स्वाभिमानको कदर होस्।यो त फगत भिरंगीग्रस्त वेश्याजस्तै नाङ्गो बस्ती हो, नाङ्गो !! यहाँ त शिक्षा र पसिनाको जरुरत छैन, नाइकेलाई फकाएर वस्तुलाई गिजोले, खेलाए हुन्छ । मन लागुन्जेल जीउँदो र नाङ्गो लासमाथि उफ्रे हुन्छ । तर त्यो जीउँदो लाश जुरमुराउँदा…..?

बरु भन ! तिमीलाई कस्तो वेश्या चाहिन्छ ? यहाँ नानाथरी पाइन्छन् । जस्तो कि :

समुद्र जस्तै वेश्या !

सभ्यता जस्तै वेश्या !!

आकाश जस्तै वेश्या !

पृथ्वी जस्तै वेश्या !!

नियम र नीति जस्तै वेश्या !

वेश्याको सत्रन्जा जस्तै वेश्या !!

र लोग्ने मान्छे जस्तै वेश्या !!!

भन ! कस्तो चाहिन्छ ? यो वेश्या बस्ती हो, रोेजेर पाउँछौ । बरु दामचाहिँ पहिले नै ठीक पार ।।

(वरिष्ठ साहित्यकार कणाद महर्षिको पाँच कवितासंग्रह र ‘कणाद कथाहरू’ कथासंग्रह प्रकाशित छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment