Comments Add Comment

आज प्रधानमन्त्रीले ‘पन्चलाइन’ बोल्नुभएको छ : प्रवक्ता ज्ञवाली

‘बहुमतप्राप्त प्रधानमन्त्रीले गरेको संसद विघटनलाई असंवैधानिक ठान्नु दृष्टिदोष हो’

७ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगलबारदेखि नेकपा (ओली समूह) को प्रवक्तामा नियुक्त भएका छन् । बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले पार्टीको प्रवक्तामा नियुक्त गरेपछि ज्ञवालीले प्रधानमन्त्री निवास परिसरमै उभिएर पत्रकारहरुको सामना गरे ।

सुरुमा प्रवक्ता ज्ञवालीले मंगलबारको बैठकले गरेका निर्णयहरुको जानकारी गराए । त्यसपछि उनी र सञ्चारकर्मीहरुबीच केहीबेर प्रश्नोत्तर सुरु भयो ।

‘अध्यक्ष तथा प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीले आज बैठकमा असाध्यै महत्वपूर्ण, तपाईं(पत्रकार)हरु पन्चलाइन भन्नुहुन्छ नि, त्यो पन्चलाइन बोल्नुभएको छ,’ प्रवक्ता ज्ञवालीले भने ।

प्रवक्ता ज्ञवालीले पत्रकारसँग व्यक्त गरेका विचारहरुको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । सुरुमा बैठकका निर्णयबारे ज्ञवालीको व्याख्या –

केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक पार्टीका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भर्खरै सम्पन्न भएको छ । मुख्यतया २०७५ साल जेठ ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टीको त्यतिबेलाको अवस्थामा ४४१ सदस्यीय केन्द्रीय कमिटी, जसको मुख्य अभिभारा दुईवर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्न नसकेको र देश र जनताका सामु उपस्थित महत्वपूर्ण कार्यभारहरूमा ध्यान केन्द्रित गरेर राज्यको नेतृत्व गर्ने जुन एउटा ऐतिहासिक अवसर नेपाल कम्युनिस्ट पार्टीलाई प्राप्त छ, त्यसलाई ड्राइभ गर्ने गरी त्यसलाई अगाडि बढाउने सन्दर्भमा कमिटी आफ्नै केही समस्या अल्झिएको स्थितिलाई ध्यानमा राखेर परिवर्तित सन्दर्भमा नयाँ दायित्व पूरा गर्ने हिसाबले पार्टीको पहिलो अध्यक्षको हैसियतले कमरेड केपी शर्मा ओलीले केन्द्रीय कमिटीलाई विस्तार गर्नुभएको छ । अब नेकपाको केन्द्रीय समिति ११९९ सदस्यीय भएको छ । हाल यसमा १००३ जना सदस्यहरु रहने गरी केन्द्रीय कमिटीको विस्तार गरिएको म जानकारी गराउन चाहन्छु ।

दोस्रो कुरा, नेपाल कम्युनिस्ट पार्टीको एकता महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा सुरु गर्ने गरी महाधिवेशनको मिति निर्धारण गरिएको छ ।

तेस्रो, केन्द्रीय कमिटीको बैठकले विधानमा केही सामयिक संशोधनहरु गरेको छ । जसका बारेमा हामी तपाईंहरुलाई विस्तृतमा जानकारी गराउने नै छौं । त्यो संशोधनको प्रयोजन पार्टीलाई अहिलेका आवश्यकताहरु पूरा गर्न सक्ने एउटा सक्षम र गतिशील पार्टी बनाउने प्रयोजनका लागि हो ।

चौथो केन्द्रीय कमिटीले सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुभएको प्रतिनिधिसभाको विघटन र नयाँ निर्वाचनको घोषणालाई, त्यसको औचित्यलाई समर्थन गर्दै एकताबद्ध भएर निर्वाचनको तयारीमा लाग्ने संकल्प गरेको छ ।

बैठकमा सम्माननीय प्रधानमन्त्रीजीले के कारणले प्रतिनिधिसभा विघटन गर्नुपर्ने अवस्था सिर्जना भयो भन्नेबारेमा कमिटीका सदस्यहरुलाई प्रष्ट पार्नुभएको छ । पार्टी र संसदलाई देश र जनताका एजेण्डाहरुमा होइन, कोभिड १९ मा होइन, बाढी वा अरू प्राकृतिक विपत्तिबाट आक्रान्त जनताको पीडामा होइन, मुलुकले लिएको राष्ट्रिय स्वाभिमानको, राष्ट्रियता सुदृढीकरणको एजेण्डामा होइन, केही नेताहरूका कहिल्यै पनि सन्तुष्ट नहुने आकांक्षाहरुको एक किसिमले बन्धकजस्तो बनाएर अगाडि बढ्नै नसक्ने स्थिति सिर्जना गरिसकेपछि प्रतिनिधि सभाको ६४ प्रतिशत सदस्यहरूको समर्थन प्राप्त दलको नेता र प्रधानमन्त्रीको हैसियतले उहाँले प्रतिनिधिसभा विघटन गरेको जानकारी गराउनुभयो ।

सरकारले गरेका राम्रा काम र पार्टीका सही विचारलाई लिएर जनताको बीचमा जाने र लोकतन्त्र, राष्ट्रियता र सामाजिक-आर्थिक रुपान्तरण एवं समृद्धिको मुख्य एजेण्डालाई स्थापित गर्ने गरी सिंगो पार्टी पङ्तीलाई परिचालित हुन उहाँले निर्देशन दिनुभएको छ । सारतः आजको केन्द्रीय कमिटी बैठक यिनै कुराहरुमा केन्द्रित रहेको जानकारी म यहाँहरुलाई गराउन चाहन्छु । केन्द्रीय कमिटीको अर्को बैठक पुस ९ गते दिउँसो १ बजे बस्ने पनि तय भएको छ । बैठकलाई अब मूलतः निर्वाचन ओरियन्टेड गर्ने कुरामा बैठक केन्द्रीय भएको ब्यहोरा म यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

अब प्रवक्ता ज्ञवालीसँग पत्रकारहरुको प्रश्नोत्तर–

यहाँले केन्द्रीय कमिटीका सदस्यहरु थप गरिएको भन्नुभयो, पहिलेका ४४१ जनाको मौजुदा सूची त निर्वाचन आयोगमा दर्ता छ । अब यो (नयाँ) सूचीलाई निर्वाचन आयोगमा कसरी वैधानिकता दिने ?

हैन, त्यो संख्या पनि मनोनयनबाट गठन भएको हो, कुनै निर्वाचित कमिटी होइन, यहाँहरुले हेक्का राख्नुपर्छ । निश्चित संख्या तत्कालीन नेकपा एमालेबाट र निश्चित संख्या तत्कालीन माओवादी केन्द्रबाट दुईजना अध्यक्षको परामर्श र मनोनयनबाट गठन भएका कमिटीहरु हुन् ।

कुनै पनि अधिवेशनबाट निर्वाचित कमिटी अहिले नेकपामा छैनन् । जुन बाटोबाट ती कमिटीहरु बने, त्यही बाटोबाट कमिटी विस्तार भएको हो । जस्तो- बीचमा यहाँहरुलाई थाहा छ, हामीले केही साथीहरूलाई केन्द्रीय कमिटीमा थप गरेका थियौं । जुन बाटोबाट थप गरियो, त्यही बाटोबाट केन्द्रीय कमिटी विस्तार भएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाइएको र तपाईंलाई प्रवक्ता नियुक्त गरिएको भन्ने छ, उहाँलाई कारबाही गरेर हटाएको हो कि ?

होइन, पार्टी प्रवक्ताको काम पार्टीका आधिकारिक विचारहरुको सम्प्रेषण गर्नु हो । आफ्ना निजी आग्रह, आकांक्षा या बुझाइलाई व्यक्त गर्ने होइन । त्यसो भएको हुनाले पार्टी अध्यक्षले पार्टीका आधिकारिक विचारहरु प्रस्तुत गर्ने जिम्मेवारीचाहिँ मलाई दिनुभएको हो ।

यो केन्द्रीय कमिटीको बैठकले कसैलाई कारबाही गरेको छैन । कार्यविभाजनमा सामान्य हेरफेरमात्रै हो, कसैलाई कारबाही गरेको छैन । नेपाल कम्युनिस्ट पार्टी एकताबद्ध छ । प्रतिनिधि सभा विघटन भएको हो, नेपाल कम्युनिस्ट पार्टी विघटन भएको होइन ।

अब केन्द्रीय कमिटीमा थप गरिएका सदस्यहरुको सूची निर्वाचन आयोगमा पठाएर दर्ता हुन्छ कि ? त्यो प्रक्रिया कसरी अगाडि जान्छ ?

त्यो माइन्युटसहित जान्छ ।

पार्टी विभाजनकै आज औपचारिक घोषणा भयो भन्दा पनि हुन्छ । उता अर्को पक्ष पनि छ, उहाँहरुले यो अल्पमतको निर्णय मान्य हुन्न भनिरहनुभएको छ । अब चुनावमा पार्टी सँगसँगै जान्छ कि ? फुटेर जान्छ कि ? नयाँ दल भएर जान्छ कि ? अलिकति बुझाउनुपर्‍यो…

अध्यक्ष तथा प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीले आज बैठकमा असाध्यै महत्वपूर्ण, तपाईंहरु पन्चलाइन भन्नुहुन्छ नि, त्यो पन्चलाइन बोल्नुभएको छ । अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डसँग अस्ति भएको कुराकानीलाई आधार मानेर हाम्रो पार्टीलाई अरू केही कुराले एकतावद्ध बनाउन सकेन, म तपाईं कहाँ धाएँ, एकता भएन । तपाईं मकहाँ आउनु’भो, एकता भएन। कार्यदल बन्यो, एकता भएन । अरू साथीहरुले यावत प्रयासहरु गर्नु’भो, एकता भएन । केही चिजले त एकता गर्ला । निर्वाचनमा जाँदा त मिलेरै जानुपर्‍यो । त्यही भएर निर्वाचनले एकता गर्ला । उहाँले एउटा त्यो सन्देश पनि दिनुभएको छ।

उहाँहरूले त आजको केन्द्रीय कमिटीको बैठकमा केपी शर्मा ओलीलाई कारबाही गर्ने भनेर एजेण्डासमेत बनाउनुभएको छ । तपाईं परराष्ट्रमन्त्रीसमेत हुनुहुन्छ, यो नेकपाको विभाजन विदेशीले गरेको भन्ने पनि छ नि ? जस्तै‍, रअको प्रमुखसँग प्रधानमन्त्रीले भेटिसकेपछि एउटा कुरा भयो, त्यस्तै एमसीसीसँग सम्बन्धित रहेर नेपालको शक्ति सन्तुलनचाहिँ बाह्य हस्तक्षेपका कारणले भै’राखेको छ भन्ने पनि छ नि ?

म तपाईंलाई सानो एउटा प्रश्न गरौं ? पार्टीको अध्यक्ष, महासचिव र माइन्युटबिना पनि बैठक बस्छ र ? बैठक त बस्दैन । त्यो बैठक हुँदैन । उहाँहरु, कामरेडहरु, लाइक मान्डेड साथीहरु बस्नुहोला, त्यो बैठक हुँदैन । त्यो बैठकको निर्णयको कुनै बैधानिकता हुने कुरा पनि भएन । किनभने, बैठक बस्न त अध्यक्ष चाहियो, महासचिव चाहियो, माइन्युट चाहियो । सूचना जारी गर्नुप¥यो महासचिवले । हाम्रो पार्टीको मौजुदा विधानले त्यही भन्छ ।

पार्टीको मौजुदा विधानले महासचिवले पार्टीको सूचना र एजेण्डा तय गर्ने भन्छ, पहिलो कुरा यो हो । पहिलो कुरा त पार्टी विभाजित भएको छैन । कमसेकम हाम्रोतर्फबाट, प्रधानमन्त्रीको तर्फबाट पार्टी विभाजित छैन । पार्टी एकताबद्ध छ । कमिटीमा साथीहरु थपिनुभएको छ । नयाँ निर्वाचनमा हामी एकताबद्ध भएर जानुपर्छ भनेर उहाँले अपिल गर्नुभएको छ । त्यसकारण अहिले विभाजनै नभएको हुनाले यसमा कसेको हात देखिरहनुपरेन । आफ्नो थैलीको मुख बलियो गरी बाँधौं, अरू कसैलाई दोष नदिऔं । तपाईंले आफ्ना समस्याहरुको समाधान आफैं गर्न सक्नुहुन्न भने अरूलाई दोष दिएर पन्छिन पाइँदैन ।

एउटा कुरा सत्य हो, यतिबेला सरकारको विरुद्ध यो ढंगको गतिविधि गर्नुपर्ने कारण चाहिँ के थियो ? सरकारले के चैं त्यस्तो नराम्रो काम गरेको थियो, जसले गर्दा एकदम एकाबिहानै दौडादौड गरेर एउटा प्रयोजनका निम्ति गरिएको हस्ताक्षरलाई कपीपेस्ट गरेर टाँसेर अविश्वासको प्रस्तावको लिखत तयार गर्नुपर्ने कारण के थियो ? यसकारणले कि नेपालको राष्ट्रियता बलियो बन्दै गएको छ । यसकारणले कि नेपालको प्रोफाइल बढ्दैछ । यसकारणले कि नेपाल आँखामा आँखा जुधाएर आफ्ना समस्याहरुका बारेमा भन्न सक्ने भएको छ । हिजो प्रधानमन्त्रीज्यूले भन्नु पनि भएको छ, यो कतै पुनरावृत्ति त होइन ? चार वर्ष अगाडि जुन पृष्ठभूमिमा सरकार हट्ने स्थिति बनेको थियो, त्यस्तो त होइन ?

दुईजना अध्यक्ष रहेको अवस्थामा एकल अध्यक्षले गरेको निर्णयलाई मान्यता दिने भन्ने हुन्छ ?

हैन, उहाँहरुलाई बोलाएकै हो । किन आउनुभएन, थाहा भएन ।

मिलेर जान सक्ने अझै बाँकी छ र ?

यस्तो प्रश्न भएन । यो प्रश्न भएन । राजनीतिक प्रश्न गरौं न । व्यक्तिगत रूपमा मलाई के लाग्छ, के लाग्दैन भन्ने कुराको अर्थ हुँदैन ।

अध्यक्षबिनाको बैठकको आधिकारिकता हुन्न भन्नु’भो, एकजना अध्यक्ष त यहाँ पनि हुनुहुन्न नि ? यसको आधिकारिकता के हो ?

पहिलो अध्यक्ष प्रमुख कुरा हो । अध्यक्ष र महासचिवले बोलाएको बैठक वैधानिक हुन्छ । यसलाई निर्वाचन आयोगमा जान दिनु न । यो निर्वाचन आयोगमा जान्छ । यसमा कुनै वैधानिक प्रश्न उठ्यो भने निर्वाचन आयोगले हेर्ला । तर यसमा कुनै वैधानिक प्रश्न उठ्नुपर्ने कारण केही छैन भन्ने मलाई लाग्छ । जुन आधारमा हिजो केन्द्रीय समितिमा चारजना साथीहरू थपिनुभएको थियो, त्यही आधारमा थपिनुभएको छ ।

आजको बैठकमा कतिजना केन्द्रीय सदस्यहरु उपस्थित हुनुहुन्थ्यो ?

अत्यधिक बहुमत हुनुहुन्थ्यो ।

कतिजना ?

त्यो हेर्नुपर्छ । म साँझ प्रेस विज्ञप्तिमार्फत तपाईंहरूलाई जानकारी गराउँछु ।

अर्को पक्षले संसद ब्युँताउने भनिरहेको छ । उहाँहरु सडकमा पनि लाग्ने भन्नुभएको छ । हिजो सर्वदलीय बैठक पनि गर्नुभो । आज तीनवटै दलको आन्तरिक छलफल पनि छ । संसद पुनर्स्थापना सम्भव छ कि छैन ?

कुनै पनि लोकतान्त्रिक दल निर्वाचनबाट पन्छिन्छन् भन्ने मलाई लाग्दैन । सार्वजनिक खपतका लागि केही भनिरहनुपर्ने हुन्छ, त्यो उहाँहरुको कुरा होला । तर निर्वाचनका लागि साथीहरुले भित्रभित्रै तयारी गर्न थालिसक्नुभएको हामीलाई जानकारी छ ।

यहाँहरुलाई एउटा तथ्यचाहिँ म भन्छु, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली संसदको झण्डै ६४ प्रतिशत मत प्राप्त सर्वसम्मत संसदीय दलको नेता हो । त्यसै हैसियतमा उहाँ प्रधानमन्त्री बन्नुभएको हो । न उहाँको त्यो बहुमत संसदमा खण्डित भएको छ, न नेकपा विभाजित भएको छ । ६४ प्रतिशतलाई एकातिर राखेर बाँकी ३६ प्रतिशतले सप्पै मिल्दाखेरि पनि सरकार त बन्दैन नि त । त्यस्तो अवस्थामा बहुमत प्राप्त दलको नेताले, प्रधानमन्त्रीले मलाई काम गर्न अप्ठ्यारो भयो, त्यसकारणले म जनताको बीचमा जान्छु भन्दा त्यसलाई असंवैधानिक ठान्नु त दृष्टिदोष हो । संविधानको स्पिरिट नबुझ्नु हो भन्ने मलाई लाग्छ ।

साढे दुई वर्ष त प्रधानमन्त्रीलाई साथ थियो त, के गर्नुभयो ?

हामी छिट्टै के-के गर्‍यौं भन्ने कुराको आधिकारिक, डेटामा, ग्राफिक्समा लिएर आउँछौं । हामीले गरेका कामहरुप्रति पश्चाताप गर्नुपर्ने कुनै जरुरी छैन । अघिल्लो दुई-तीन हप्ता अगाडिकै मात्रै कुरा गर्नुहुन्छ भने हामीले एकैसाथ ३९६ वटा पालिकाहरुमा न्यूनतम पाँचदेखि १५ शय्यासम्मका अस्पतालहरुको शिलान्यास गर्‍यौं ।

नेपालको जनस्वास्थ्यको इतिहासमा जनताको जीवन जोगाउने हिसाबले विगतमा कुनै सरकारहरुले काम गरेका थिए ? त्यसो भएर हामीलाई हाम्रो कामप्रति गर्व छ । अझै योभन्दा राम्रो गर्न सकिन्थ्यो, यदि पार्टी राज्य सञ्चालनको एउटा संवाहक बनिदिएको भए । योभन्दा धेरै राम्रो गर्न सकिन्थ्यो । तर जति गरेका छौं, हामीले राम्रो गरेका छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment