Comments Add Comment

अरुणाको अभिलाषा : साग फाइनलमा फेरि फर्किन पाए …

७ पुस, काठमाडौं । गत वर्ष नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदलाई सम्झिनु पर्दा केही भावुक दृष्यहरु मानसपटलमा आउँछन् । नेपालले ऐतिहासिक सफलता हासिल गरेको प्रतियोगितामा केही चुक्चुकाउने हारहरु व्यहारेको थियो, जसमध्ये भलिबलको हारलाई सायदै कसैले बिर्सन सक्नेछन् ।

इतिहास रच्दै फाइनलसम्मको यात्रा तय गरेको नेपालले उपाधिका लागि हात लम्काइसकेको थियो । तर, नेपाली चेलीहरु अन्तिम समयमा सम्हालिन नसक्दा भारतले खेलमा कमब्याक गर्दै रोमाञ्चक जित हासिल गर्‍यो। त्यो हारको वेदना अरुणा शाही जति अरु कसलाई होला, जो नेपाली टिमको कप्तानी गरिरहेकी थिइन् ।

अरुणा नेपालको राष्ट्रिय टिमकी कप्तानमात्र नभएर एउटा बलियो खम्बा नै हुन् । सागमा स्वर्ण पदकबाट चुके पनि नेपाललाई पहिलोपटक दोस्रो स्थानमा पुर्‍याएको गौरव उनीसँग छ । यही गौरवले त उनका बुवाआमाको अनुहारमा पनि हाँसो ल्याएको छ, जो पहिले छोरी खेलकुदमा लागेर बिग्रिने हो कि भनेर चिन्ता गर्थे ।

आमा कमला शाही र बुवा कुवीर शाहीको यस्तो चिन्ता लिनु अन्यथा पनि थिएन । खेलकुदमा पनि भविष्य छ भन्ने विश्वास अहिलेसम्म राज्यले उनीहरुजस्ता आमाबुवालाई गराउन सकेको छैन । तर, जब करुणाले सफलताको खुड्किलो चड्दै गइन्, कमला र कुबीर आफ्नी छोरीप्रति गर्व गर्न थालेका छन् ।

उनीहरु भन्ने गर्छन्, ‘छोरीले भलिबल खेलेर हाम्रो इज्जत बढाइरहेकी छन् ।’

भलिबल त नेपालको राष्ट्रिय खेल पनि हो अहिले । त्यसमाथि महिला भलिबल देशभरि निकै लोकप्रिय छ । पोहोर साल नेपालको महिला भलिबल टिमले हासिल गरेको उपलब्धिले गर्दा यसको ग्ल्यामर अझै बढेको छ ।

गत वर्ष नै नेपालले एभीसी सेन्ट्राल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जितेको थियो । यो महिला भलिबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो ।

त्यसपछि दक्षिण एसियाली खेलकुदमा रजत पदक हात पर्‍यो । यी दुवै उपलब्धीको केन्द्रमा रहेकी छिन् करुणा । उनी कप्तानका साथै नेपाली टिमको अब्बल ‘सेटर’ पनि हुन् । नेपाली महिला भबिलमा सबैभन्दा चिनिने नाम उनी नै हुन् । यी २७ वर्षीया चेलीले आफ्नो उमेरको आधाभन्दा बढी समय भलिबलका लागि समर्पित गरिसकेकी छिन् ।

म्याग्दीको रघुगंगा गाउँपालिकामा जन्मेकी अरुणा अब बाबुआमाको मात्रै नभएर देशकै शान बनेकी छन् । त्यसैले त नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने वर्ष ०७६ को पल्सर स्पोर्टस अवार्डको लोकप्रिय खेलाडी विधामा उनको मनोनयन भएको छ ।

अरुणा खासै बोलिरहने खालकी होइनन् । उनलाई हल्का अन्तरमुखीभन्दा पनि हुन्छ । तर, कप्तान भएयता उनलाई बोल्नै पर्ने वाध्यता छ । उनलाई अहिले पनि सागको त्यो फाइनलले पछ्याइरहन्छ, जुन नेपालले अन्तिम समयमा गुमाएका थियो ।

फाइनल सकिएको एक वर्ष भइसकेको छ, अरुणाको मनबाट त्यति बेलाका कुनै पनि क्षण हराएको छैन । सिनेमाका दृष्य जस्तै मनमस्तिष्कमा ताजा छन् ।

उनलाई लाग्छ, समयको चक्रलाई उल्टो घुमाएर फेरि फाइनलसम्म पुग्न पाए । उनी ती हारेका तीन सेटलाई उल्टाउने प्रयास गर्थिन् । स्वर्ण जित्न प्रयास गर्थिन् । तर यी सबै कल्पना नै त हुन्, तर यसले अरुणा कस्ती छिन्, त्यसको सार पनि खिच्छ । उनी हाकाहाकी भन्छिन्, ‘भलिबल नै मेरो पहिलो प्रेम हो ।’

सानोमा वीरेन्द्र शिल्ड खेल्दा उनी पहिलोपल्ट प्रशिक्षक कौशिला खत्रीको नजरमा परेकी थिइन् । त्यसपछि त सिधै भलिबलका लागि प्रसिद्ध ज्ञानुबाबा स्कुल पुगिन् । त्यहाँ उप्रान्तको कथा त धेरैलाई थाहै छ ।

फोटो :एनएसजेएफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment