+
+

किन फुट्यो दोहोरो नेकपा जुट्न नभ्याउँदै ?

ध्रुवराज अधिकारी ध्रुवराज अधिकारी
२०७७ पुष १० गते १९:४९

करिब तीन वर्ष पहिले एकता प्रक्रिया थालेको नेपाल कम्युनिष्ट पार्टी (दोहोरो नेकपा) उक्त प्रक्रिया नटुङ्गिँदै फुटेको छ । तर, फुटको भावनात्मक उछालको यो परिवेशमा उक्त पार्टीका नेता–कार्यकर्ता र राजनीतिक टिप्पणीकारहरू एक वा अर्को कित्तामा उभिँदा नेकपाको एकता प्रक्रिया किन सफल हुन सकेन भन्नेबारे पर्याप्त बहस हुन सकेको छैन ।

त्यस्तो बहस फुटका तात्कालिक वा निमित्त कारणमा होइन राजनीतिक पार्टीहरू कसरी निर्माण हुन्छन् र नेपालका ठूला राजनीतिक दल कसरी निर्माण भएका हुन् र तिनको एकताको जग कसरी भत्किन्छ त्यसमा केन्द्रीत हुन जरुरी छ ।

लेनदेन बाँकी नै रहेका काररण नेताहरू वामदेव गौतम र रामबहादुर थापाले कित्ता प्रष्ट्याइसकेको नभएपनि दोहोरो नेकपा दुई फ्याक भने भइसकेको छ । दोहोरो नेकपाको पार्टी एकीकरण पूरा हुन नभ्याउँदै भएको फुटको सन्दर्भमा मात्रै होइन, पूर्वमाओवादी प्रधानमन्त्री बाबुराम भट्टराईको गएका तीन वर्षमा तीन आबद्धता परिवर्तन र अन्य सिकारु राजनीतिज्ञका वैकल्पिक शक्ति निर्माणका प्रयाससँगै देखिएका फुट र मिलनका श्रृंखलाका सन्दर्भमा पनि यस्तो बहस जरुरी देखिन्छ ।

राजनीतिक दल निर्माणका ऐतिहासिक आधार

नेपाली काङ्ग्रेस, तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी) लामो इतिहास र वैचारिक पृष्ठभूमि बोकेका दल हुन् । यी तीनमध्ये नेपाली काङ्ग्रेस र तत्कालीन माओवादीको इतिहास बढी उथलपुथल र रक्तपातले भरिएको छ । तत्कालीन एमालेको उदयसापेक्ष रूपमा कम उथलपुथल र रक्तपातको सामना गरेर भएको थियो ।

इतिहासमा खासै पिँध नभएको तत्कालीन एमालेले नेपाली समाजको मौकापरस्त तप्काको प्रतिनिधित्व गर्दै आएको थियो । तत्कालीन एमालेलाई विगतमा राजाको र एक दशकयता चीनको विशेष आडभरोसा प्राप्त भएको कुरा इतिहासमा छिपेको छैन ।

नेपाली काङ्ग्रेसको जग २००७ सालको क्रान्ति हो । संयुक्त जनआन्दोलनमार्फत २०४६ मा भएको बहुदलीय व्यवस्थाको पुनः स्थापनाको नेतृत्व पनि नेपाली काङ्ग्रेसले नै गरेको हो । झापाबाट २०२९ सालमा सुरु भएको व्यक्तिहत्याको राजनीतिको पृष्ठभूमि भएको एमालेको ०४६ सालको जनआन्दोलनमा सहयोगी भूमिका थियो। ०४७ सालमा राजाले जारी गरेको संविधानलाई तत्कालीन एमालेले आलोचनात्मक समर्थन गरेको थियो ।

माओवादीको उदय भने ०४७ सालको संविधानको पूर्ण खारेजीको मागबाट भएको थियो । वैचारिक समुदायका रूपमा ०४७ सालपछि नेपाली काङ्ग्रेस उदारवादी प्रजातन्त्रको हिमायती र ०४७ सालको संविधानको पूर्ण समर्थक थियो । तत्कालीन एमालेले मदन भण्डारीको बहुदलीय जनवादलाई कार्यक्रम बनाएको थियो । माओवादी भनेचिनियाँ सर्वोच्च नेता माओत्से तुङका दीर्घकालीन जनयुद्ध र जनवादी क्रान्तिका कार्यक्रम मान्ने राजनीतिक ठालुहरूको नेतृत्वमा बनेका राजनीतिक एवम् वैचारिक समुदाय थियो ।

राजनीतिक दल वैचारिक समुदायमात्र होइन, भावनात्मक समुदाय पनि हुन् । नेपाली काङ्ग्रेस १०४ वर्षे जहानियाँ राणा शासनदेखि ०४६ सालको प्रजातन्त्र पुनः स्थापनासम्मको इतिहासप्रति विशेष भावनात्मक साइनो राख्छ । ती आन्दोलनका शहीद र प्रजातन्त्र सेनानीप्रति काङ्ग्रेसको सङ्गठनमा अझै पनि सम्मानभाव छ ।

एमालेमा पञ्चायत कालमा जेलनेल भोगेकाहरू नेतृत्वको उच्च तहमा पुगेका छन् । एमालेले झापा आन्दोलनको हिंसात्मक विरासतलाई परित्याग गरे पनि त्यसका शहीदलाई भने सम्मान गर्छ । पहिलोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले झापा विद्रोहका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेका थिए ।

दोहोरो नेकपाका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जेजति शक्ति लिएर आज फेरि एक पटक प्रधानमन्त्रीको पद हासिल गर्न देशभित्र र बाहिरका विभिन्न शक्तिसित लेनदेन गर्दै आएका छन् त्यो शक्ति जनयुद्धको जगमा प्राप्त भएको हो । झापा आन्दोलन व्यक्ति हत्यामै सीमित रहे पनि त्यसको छुटेको कडीलाई जोडेर निरन्तरता दिएका प्रचण्ड र भट्टराईले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा रूपान्तरण गरेर आधुनिक विश्व इतिहासमा बिरलाकोटीको अभिलेख दर्ता गराएका थिए ।

प्रचण्ड र बाबुरामले दस्तावेजीकरण नै गरेर ‘जाली–फटाहा’को सफायाको नाममा नीतिगत रूपमा गराएका व्यक्ति हत्याको नीतिलाई आमनेपालीले अझसम्म स्वीकार गरेका छैनन् । तर, त्यो बाहेक जनयुद्धलाई आम नेपालीले वैधानिकता दिइसकेका छन्, धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्रलाई अनुमोदन गरेर ।

जनयुद्धका क्रममा राज्यको तर्फबाट बाह्य हजारभन्दा बढीको हत्या भएको थियो भने हजारौं नागरिकहरूलाई उनीहरूले नै निर्वाचित गरेको संसदीय सरकारले र पछि संसदवादीलाई अपदस्थ पारिसकेपछि राजाको निरंकुश सरकारले बेपत्ता पारेका थिए ।

हजारौंले राज्यका यातना गृहहरूमा वैचारिक आस्थाकै आधारमा अमानुषिक र बर्बर यातना भोग्नुपरेको थियो । माओवादी आन्दोलनका नेता लाखापाखा लागे पनि शहीद परिवार, बेपत्ताका परिवार र जनयुद्धमा भूमिगत भएर दुःख पाएका र राज्यको जेलनेल भोगेकाहरू भावनात्मक समुदायको रूपमा रहेका छन् ।

पूर्वमाओवादीलाई घोचपेच गर्दा उनीहरूको भावनामा ठेस पुग्छ र उनीहरू प्रचण्डदेखि आजित भइसकेको भए पनि हिजोका नेताको हैसियतले उनै वरिपरि गोलबद्ध हुनपुग्छन् भन्ने कुरा केपी ओली र उनका सल्लाहकारले बुझ्न चाहेको देखिएन । बरू पूर्व माओवादीलाई हतोत्साही बनाएर आत्मसमर्पण गराउन खोजेको देखियो ।

वैचारिक र भावनात्मक जग विनाको एकता

तीन वर्ष पहिले वैचारिक र भावनात्मक एकताको कुनै जग नै नहाली सत्ताको कुर्सीलाई केन्द्रमा राखेर अध्यक्षद्वय ओली र प्रचण्ड बीचको बन्दकोठाको मोलतोल, राजनीतिक शक्ति र मुद्दाहरूको क्रय–विक्रयबाट भएको एकतालाई दुई पार्टीको आमपङ्क्तिले दुई अध्यक्षका बाहुबाट भागसान्ती पाइएला भन्ने आशाले अनुमोदन गरेको थियो ।

दस्तावेजमा जे लेखिएको भएपनि जनयुद्धको वैधानिकता पूर्व एमालेका कुनै पनि समूहले स्वीकार गरेका थिएनन् । जनयुद्धका शहीद र विविध दिवस जसले पूर्व माओवादी पङ्क्तिका लागि विशेष भावनात्मक महत्व राख्छन् तिनमा पूर्व एमालेका मूल नेताले सहभागी हुन अस्वीकार गरे । ओली पक्षले प्रचण्डलाई ‘प्रचण्ड’ पुकार्नसमेत बेला–बेलामा अस्वीकार गरेर पुष्पकमल भनेर सम्बोधन गर्न चाह्यो ।

पूर्वएमाले यसबीच आफ्नो वैचारिक आधारहरूबाट यताउता भएन । तर, यसबीच प्रचण्डमा चरम सिद्धान्तहीनता र सत्तालोलुपता देखियो । प्रचण्डले आफ्नो अध्यक्षको हैसियतलाई वैधानिकता दिनका लागि समेत बेलाबेलामा जारी गर्ने वक्तव्यहरू उनको मौकापरस्त चरित्रको ऐना बने । प्रचण्डले केपी ओलीसित भागबण्डा मिल्दा उनले आफैंले नेतृत्व गरेको जनयुद्धलाई ‘सशस्त्र विद्रोह’, ‘सशस्त्र द्वन्द्व’जस्ता पदावलीले सम्बोधन गर्ने तर केपी ओलीसित अन्तरविरोध बढेर फेरि प्रधानमन्त्री वा एकल अध्यक्ष नपाउने भएपछि फेरि क्रान्तिकारी भाषाशैली अपनाउने गरे । बाबुरामले पनि नेपालका र भारतका सनातन ठालुहरूले आफूसित कस्तो व्यवहार गर्छन् त्यो आधारमा भाषाशैली उग्र वा तटस्थ बनाउने गरिरहे ।

यसबीच जनयुद्धका बेला उनकै आह्वानमा तत्कालीन शाही सेनाबाट विद्रोह गरेर तत्कालीन जनमुक्ति सेनामा सामेल योद्धाहरूलाई नेपाली सेनाले गिरफ्तार गर्दा प्रचण्डले चुँसम्म बोलेनन्। बालकृष्ण ढुंगेललाई राष्ट्रपतिले माफी दिएर मुक्त गर्दा समेत उनलाई राजनीतिमा आउन सघाउन प्रचण्ड र बाबुराम दुवैले चासो दिएनन् ।

प्रचण्डले न जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद बनाउनुपर्छ भनेर नै केपी ओलीसित कुनै अडान लिए । अदालतमा रहेका युद्धकालीन झूठा मुद्दाहरूलाई केपीले प्रचण्ड तर्साउने हतियारको रूपमा प्रयोग गरे भने प्रचण्डले पूर्व माओवादी पङ्क्तिलाई डर र त्रासको बन्दी बनाएर आफ्नो पछि लगाइरहने हतियारको रूपमा प्रयोग गरे ।

एकताको वैचारिक र भावनात्मक जगको सर्वथा अभाव रहेको अवस्थामा एकता गराएर केपी र प्रचण्डले पूर्वएमाले र पूर्वमाओवादीलाई आ(आफ्नो व्यक्तिगत, समूहगत र प्रचण्डको हकमा पारिवारिक समेत स्वार्थ सिद्धिका लागि भावनाको बन्दी बनाउन सकिने अवस्थालाई यथावत् नै राखे ।

प्रचण्ड–माधव गठबन्धन पनि उस्तै

प्रचण्ड र माधवकुमार समूहबीचको गठबन्धन पनि सैद्धान्तिक कम र परिस्थितिजन्य बढी देखिएको छ । जनयुद्धबारे उनीहरूमा मतैक्यता छैन । केपीजस्तै माधव नेपालले पनि प्रचण्डको व्यक्ति हत्यावाला नीतिगत विगतलाई प्रचण्डको शक्ति नियन्त्रण गर्ने डोरीको रूपमा प्रयोग गर्छन् कि वा प्रचण्डले त्यसबारे आत्मालोचना गर्छन् त्यो त समयले नै प्रष्ट पार्ला ।

पूर्वमाओवादीको आघातपूर्ण विगत र त्यसले वर्तमानमा उनीहरूमा पारेको मनोदशामा नुनचुक छर्कन्छन् कि मल्हम लगाउने जिम्मेरीपूर्ण भूमिका खेल्छन्, माधव समूहका पूर्व एमालेले त्यो पनि हेर्न बाँकी नै छ ।

तर हाल प्रचण्ड–माधव गठबन्धन भने मुख्य त तीन कुराले बनेको देखिन्छ । पहिलो, प्रचण्ड र माधव नेपाललाई केपी ओलीले व्यक्तिगत रूपमा गरेको अपमान र तिरस्कार ।

दोस्रो, सरकारी नियुक्तिमा प्रधानमन्त्री ओलीको एकलौटी ।

तेस्रो, फेरि प्रधानमन्त्री बन्ने प्रचण्डको लिप्सा, झलनाथ खनालको केपीले खोसेको राष्ट्रपति बन्ने रहर र माधव नेपालको एकल अध्यक्ष बन्ने चाहना । छोटकरीमा भन्दा विगतको एमाले–माओवादी केन्द्र एकता जस्तै प्रचण्ड नेपाल गठबन्धन पनि भोलिको सत्ताको आपसी भागबन्डामा आधारित छ । सत्ता प्राप्त नहुने अवस्थामा के हुने हो अहिल्यै भन्न सकिन्न ।

त्यसमाथि प्रचण्डको विगतदेखिकै चरम व्यक्तिवाद र परिवारवादलाई अब नयाँ दलमा अल्पमतमा परिसकेका पूर्व एमालेले झेल्न सक्लान् वा उनीहरू केपी ओली कित्तामा फर्कनुपर्ने अवस्था आउने हो त्यो सवाल खिलजस्तै बल्झिरहने छ आउने दिनमा ।

जो जो आज पूर्वमाओवादीबाट केपी ओली समूहमा सामेल भएका छन् तिनलाई ओलीका प्रवक्ताहरूका छुरा जस्ता मुखहरूले घायल बनाइरहने छन् । कि त ओली समूहले जनयुद्धको पुनः मूल्याङ्कन गर्नुपर्ने छ, वा ओली समूहमा गएका माओवादीहरूले इतिहासप्रति पश्चाताप गर्नुपर्ने छ । होइन भने त्यहाँ बसेका पूर्व माओवादीको आत्मसम्मानको दिनदिनै चीरहरण हुनेछ । यही अवस्था रहे अन्ततः उनीहरू कि राजनीतिबाट बाहिरिनुपर्ने छ,  होइन भने कुनै पूर्वमाओवादी समूहमा फर्कनुपर्ने छ ।

समग्रमा भन्नुपर्दा अहिलेको फुटबाट दोहोरो नेकपाको खराब दिन सुरु मात्रै भएको छ । नयाँ समूहमा नयाँ राजनीतिक शक्ति निर्माणका ऐतिहासिक, वैचारिक र भावनात्मक जग बसाउँदै जानुपर्ने देखिन्छ । अन्यथा यो फुट नेपालको सरकारी कम्युनिष्टहरूको विघटन र मुलुकको दीर्घकालीन अस्थिरताको शिलान्यास बन्न सक्छ ।

लेखकको बारेमा
ध्रुवराज अधिकारी

‘द्वन्द्व व्यवसायी’हरूले राजनीतिक हिंसामा कसरी भावनाको परिचालन गर्छन् भन्ने विषयमा सोधरत अधिकारी हाल नेपालको माओवादी आन्दोलनमा भावनाको परिचालनको विषयमा विद्यावारिधि गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?