१३ पुस, दाङ । दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा प्रदेश २ ले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको प्रदेश २ ले सान्त्वना जित हासिल गर्ने क्रममा कर्णालीलाई १ सय ४३ रनले पराजित गर्यो ।
सोमबार दिनको पहिलो खेलमा प्रदेश २ ले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २२ रनमा सिमित हुन पुग्यो ।
कर्णालीका लागि त्रिशना विश्वकर्माले ७ रन र आयुशा टन्डनले अविजित रहँदै ४ रन जोडिन ।
बलिङतर्फ प्रदेश २ का लागि सरस्वती कुमारी र कविता गौतमले समान ३-३ विकेट लिँदा सन्तोषी चौधरी र आरती चौधरीले पनि १-१ विकेट लिएका थिए ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।
टिमले ठूलो योगफल खडा गर्ने क्रममा उसका लागि अनुराधा चौधरीले अर्धशतकीय पारी खेलिन् । अविजित रहेकी उनले ६० बलमा ६ चौकासहित ६९ रन बनाइन् ।
टिमले सुरुवाती देखिनै राम्रो सुरुवात गरेको थियो ओपनरद्वय अनुराधा चौधरी र शोभा आलेले ६६ रनको ओपनिङ साझेदारी गरेका थिए ।
७.२ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी शोभाले २४ बलमा २ चौकासहित २३ रन बनाइन्।
यस्तै टोलीका लागि विमला मगरले २१ रन र सन्तोषी चौधरीले ७ रनको योगदान गरिन् ।
बलिङतर्फ कर्णालीका लागि निशा पराजुलीले २ तथा सुजाता बोगटीले १ विकेट हात पारिन् ।
यो सँगै प्रतियोगिताको समूह ‘ए’ मा रहेको कर्णालीले समूह चरणका सबै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ । यता प्रदेश २ दुई खेलमा पराजित हुँदा एक खेलमा जित हासिल गर्न सफल भयो ।
यस समूहबाट लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफ सेमिफाइनल पुगेको छ ।
प्रतिक्रिया 4