Comments Add Comment

संसद विघटनपछि अस्तव्यस्त बन्न थाले उपत्यकाका सडक

१३ पुस, काठमाडौं । उपत्यकामा आइतबार मात्रै १८ वटा विरोध प्रदर्शनका कार्यक्रम भए । तीमध्ये अधिकांश संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा गरिएका थिए । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको योजनामा मात्रै १० स्थानमा प्रदर्शन गरिए ।

विरोध कार्यक्रमका कारण राजधानीको माइतीघर मण्डला, थापाथली, कुपण्डोल, बागबजार, पुतलीसडक, भद्रकाली, गोंगबु, लगनखेल लगायतका क्षेत्रमा सवारी आगमन अस्तव्यस्त बन्यो । मुख्य सडकबाट सवारीसाधन सञ्चालन हुन नसकेपछि भित्री सडकहरुमा पनि चाप बढेको छ ।

महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका एसएसपी जनकराज भट्टराई भन्छन्, ‘प्रदर्शनका कारण भिडभाड भएका ठाउँमा सवारीसाधनहरुलाई डाइभर्ट गरेर वैकल्पिक बाटोबाट पठाइरहेका छौं ।’

तर, सबै सवारीसाधनलाई वैकल्पिक बाटोतिर डाइभर्ट गरिँदा वैकल्पिक सडकमा पनि सवारी चाप बढेको छ ।

भट्टराईका अनुसार मुख्य सडकमा १५ मिनेटसम्म सवारी सञ्चालनमा अवरोध भए डेढ घन्टासम्म जाम हुनसक्छ । सुरक्षा अधिकारीहरुका अनुसार पछिल्लो समय भिड, जुलुस बढी रहेका बेला मुख्य सडकमा सवारी सञ्चालन मात्र होइन, पैदल यात्रा गर्न पनि सकस छ ।

ट्राफिक प्रहरीले अधिकतम जनशक्ति प्रयोग गरेर सवारी व्यवस्थापन गर्ने कार्य गरिरहेको छ । ट्राफिक महाशाखाका अनुसार हाल उपत्यकामा एक हजार ४ सय ७० जना ट्राफिक प्रहरी कार्यरत छन् ।

‘सबै अहिले कार्यक्षेत्रमा परिचालित छन् तर, जनशक्ति छरिएर रहँदा नपुग्ने भएकाले ललितपुर, भक्तपुर लगायतका क्षेत्रमा खटिएकालाई पनि काठमाडौंमा केन्द्रित गरेका छौं’, भट्टराई भन्छन् ।

विगतका दिनमा ट्राफिक प्रहरीलाई निश्चित समयमा ड्यूटी परिवर्तन गर्ने गरिएको थियो भने अहिले सडकमा चाप बढेका कारण बिहानदेखि बेलुकीसम्मै खटाइने गरिएको छ ।

सवारीसाधन प्रयोगकर्ताको सहजताका लागि ट्राफिक प्रहरीले विगतमा डाइभर्ट गरिएका बाटोको विषयमा फेसबुक र ट्वीटरमार्फत जानकारी दिने गरेको थियो । तर, अहिले छोटो समयमा डाइभर्ट गर्नुपर्ने स्थान परिवर्तन भइराख्ने भएकाले ट्राफिक एफएमबाट मात्रै जानकारी दिने गरिएको छ ।

ट्राफिकले जुलुसको अवस्थालाई हेरेर सडक नै बन्दसमेत गराउने गरेको छ ।

मद्दत टोली पनि तैनाथ

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भने प्रदर्शनका कार्यक्रम जति नै भएपनि प्रशासनले व्यवस्थापन गरेको बताउँछन् ।

‘धेरै भए भनेर हामीले भन्न मिलेन, कति कार्यक्रम भइरहेका छन् वा हुँदै छन्, सबैमा सुरक्षा प्रबन्ध मिलाएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा सवारी आगमनमा केही असहजता भए पनि नेपाल प्रहरीले व्यवस्थापन गरिरहेको छ ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार प्रहरीले विशेष सुरक्षा योजना नै लागू गरेर प्रदर्शन हुने स्थानमा सुरक्षा र निगरानी गराइरहेको छ । ‘हाम्रो जनशक्तिसँगै ब्याकअपमा विभिन्न गण र गुल्मबाट पनि थप मद्दतको टोली परिचालन गरेका छौं’, सिंहले अनलाइनखबरसँग भने ।

प्रदर्शनमा घुसपैठ तथा कुनै अप्रिय घटना नहोस् भनेर निगरानीका लागि सादा पोशाकका प्रहरी टोली पनि परिचालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment