+
+
चिनियाँ नेताको दौडधुप :

चिनियाँ नेताको प्रश्न–नेकपामा मिल्ने ठाउँ छ कि सकियो ?

चिनियाँ रणनीति : कम बोल्ने, धेरै बोल्न लगाउने !

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते २१:२२

१३ पुस, काठमाडौं । वैदेशिक मामिलामा चिनियाँ नीति ‘क्वाइट डिप्लोमेसी’ (शान्त कूटनीति)का रुपमा परिचित छ । तथापि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि आइतबार काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टी टोलीले नेकपाको मामिलामा गहिरो चासो देखाएको छ ।

नेकपाका नेतालाई चिनियाँहरुको प्रश्न छ– अब एकता गर्ने ठाउँ छ कि सकियो ?

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यैचोको टोली नेकपाका नेताहरुलाई भेट्न आइतबार काठमाडौं आएको हो । यो टोलीले आइतबार र सोमबार विभिन्न शीर्षनेताहरुसँग भेटवार्ता गरेको छ ।

आइतबार काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका नेता यैचोले सुरुमै शीतलनिवास पुगेर विद्या भण्डारीसँग कुराकानी गरेका थिए । त्यसपछि उनले आइतबार राति नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरे ।

सोमबार बिहान चिनियाँ टोलीले पूर्वप्रधानमन्त्री प्रचण्डसँग करिब डेढ घण्टा छलफल गर्‍यो । सोमबारै अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि चिनियाँ टोलीले कुराकानी गर्‍यो ।

आइतबार अपराह्न राष्ट्रपतिलाई भेटेको येचौ नेतृत्वको टोली साँझ बालुवाटार पुगेको थियो । सोमबार बिहान प्रचण्ड निवास पुगेको यो टोलीले माधवकुमार नेपाललाई भने नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता गरेको थियो । यस्तै डल्लु पुगेर वरिष्ठ नेता झलनाथ खनालसँग पनि कुराकानी गरेको छ ।

‘मिल्ने ठाउँ छ कि सकियो ?’

चिनियाँ टोलीले नेकपाको विभाजनबारे राष्ट्रपति, प्रधानमन्त्री र अन्य नेताहरुसँग जिज्ञासा राख्दै विभिन्न प्रश्न सोधेका थिए । नेकपाका नेताहरुलाई भेटेर फेरि मिल्ने ठाउँ छ कि छैन भनेर चिनियाँहरुले चासो राखेका छन् ।

‘चिनियाँ टोलीको चासो के कारणले यस्तो भएको हो ? अब मिल्ने ठाउँ छ कि छैन भन्ने थियो’ नेकपाका एक नेता भन्छन्, ‘उहाँहरुको कुनै राय सल्लाह थिएन ।’

स्रोतका अनुसार प्रचण्ड र नेपालले आफूहरुले अन्तिमसम्म एकताको पहल गरेको तर, प्रधानमन्त्री ओलीले संविधानमाथि नै प्रहार गर्दा यो अवस्था आएको बताएका छन् ।

अब मिल्ने ठाउँ छ कि छैन भन्ने चिनियाँहरुको प्रश्नमा प्रचण्ड, माधव र झलनाथ सबै नेताहरुले अब केपी ओलीले गल्ती सच्याएर आत्मालोचना गर्ने र संसद पुनस्थापना गर्ने हो भने मात्रै त्यसबारे सोच्न सकिने जवाफ दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

‘संसद पुनर्स्थापना गरेर संविधानलाई ट्रयाकमा ल्याउनु पूर्वसर्त जस्तै बनेको छ’ एक नेता भन्छन्, ‘यही कुरा अध्यक्षद्वयले भन्नुभएको छ ।’

कम बोल्ने, धेरै बोल्न लगाउने !

केपी ओली र प्रचण्ड–माधव दुवै समूहसँगको भेटमा चिनियाँ नेताहरुले सकेसम्म ‘रिजर्भ’मा रहने प्रयत्न गरे । ‘चिनियाँहरु धेरै बोलेनन्, हामीलाई मात्रै बोल्न लगाए’ सोमबार यैचोको टोलीसँग भेट गरेका नेकपाका एक नेताले अनलाइनखबरसँग भने, ‘उनीहरुले हाम्रा कुरा बढी सुने, हामीलाई आफ्ना कुरा सुनाउँदैमा भेटघाटको समय सकियो ।’

नेकपामा विभाजन आएपछि यसको कारण र असरबारे बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि यैचो काठमाडौं आएका हुन् । कुराकानीका क्रममा चिनियाँहरु धेरै नखुलेको र नेपाली नेताहरुको कुरामात्रै बढी सुनेको नेताहरुले बताएका छन् ।

उनीहरुले नेकपालाई मिल्नोस् भनेर खासै दबाव नदिएको भेटमा सहभागी एक नेताले बताए । उनले भने, ‘चिनियाँहरुले तपाईंहरु मिल्नोस् आदि–इत्यादि केही पनि भनेनन्, हामी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, पार्टीभित्र के भएको हो, त्यो बुझ्न मात्रै आएका हौं मात्रै भने ।’

नेताहरुका अनुसार चिनियाँ टोली कुनै सल्लाह दिनुभन्दा पनि के भएको हो भन्ने बुझ्न आएको देखिन्थ्यो । उनीहरुले घटनाक्रमबारे चासो राख्दै नेताहरुलाई सुन्ने प्रयास गरेका थिए । चिनियाँहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका थिए । साथै नफुटेको एकीकृत कम्युनिस्ट पार्टी हेर्न चाहेको समेत बताएको भेटमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार आइतबार साँझ बालुवाटारमा भएको भेटका क्रममा चिनियाँ उपमन्त्रीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राष्ट्रपतिको तर्फबाट नयाँ वर्ष सन् २०२१ को शुभकामना सन्देश सुनाएका थिए । साथै नेपाल-चीन तथा नेकपा-चिनियाँ कम्युनिष्ट पार्टीको सम्बन्धबारे आफ्नो धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले पनि लामो समयदेखि चीनसँग नेपालको सुदृढ द्विपक्षीय सम्बन्ध रहेको र पछिल्ला केही वर्षमा सम्बन्धमा थप सुधार आएको बताएका थिए । ओलीले एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहेको र नेपाली भूमि चीनविरोधी गतिविधिका लागि प्रयोग हुन नदिने बताएका थिए । चिनियाँ पक्षले पनि एक चीन नीतिको सहयोग गरेकोमा धन्यवाद दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?