Comments Add Comment

माधव नेपालले भने – केपी ओलीलाई सच्चिने अन्तिम मौका छ

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका छन् ।

पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’

पार्टीका कतिपय नेतालाई पनि ओलीलाई सुधार्न सकिन्छ कि भन्ने लागेको उनले बताए । ओलीतिर लागेका नेताहरुतर्फ संकेत गर्दै उनले भने, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबास भन्छु । बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु ।’

उनले प्रधानमन्त्री ओली पश्चाताप गरेर आए छलफल गर्न समेत तयार रहेको ताए । उनले भने, ‘गल्ती भयो भन्ने स्वीकार गर्नुहुन्छ, असंवैधानिक कदमबाट पछि हट्नुहुन्छ र पुनर्स्थापना गर्न तयार हुनुहुन्छ भने सबै विषयमा छलफल गर्न तयार छौं ।’

अन्यथा, भीरबाट लड्नेलाई रामराम मात्र भन्न सकिने पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले बताए । यही बाटोमा हिँडे निरंकुश बाटो समातेका केपी ओली एण्ड प्रवृत्तिको अन्त्य हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment