Comments Add Comment

‘प्रजातन्त्र ल्याउन भूमिका खेलेको छु, मण्डले भनेर गिज्याउँछन्’

१७ पुस, काठमाडौं । अन्तिम राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेर जबराका नाति, विजयशमशेर जबराका छोरा पशुपति शमशेर राणा उमेरले ७९ वर्ष पुगे । तर, अरु नेपाली राजनीतिज्ञहरुका लागि जस्तै उनका लागि पनि उमेर भनेको फगत एक अंक हो ।

‘स्वास्थ्यले साथ दिएकै छ, सुद्दी हराएको छैन, उमेरसँग डराएर किन निस्क्रिय बन्ने ?’ उनी आत्मविश्वासपूर्वक भन्छन् ।

राणासँग उनकै निवास ( महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको ठीक सामुन्ने) मा गरिएको करिब एक घन्टा लामो वार्तालापमा हामीले अन्तिम प्रश्न सोधेका थियौं, ‘८० वर्ष पुग्न लाग्नुभयो, अब त राजनीतिबाट सन्न्यास लिँदा हुँदैन ?’ यसैको जवाफमा उनले माथि उल्लेखित दलिल पेश गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँगको यो कुराकानीको मूल विषयवस्तु राजनीति नै हो । खासगरी उनी नेपालमा हिन्दू राज्य र राजसंस्थाको पुनर्स्थापनाका सम्भावनाहरुमाथि बोल्न बढी इच्छुक देखिएका छन् । तथापि, कुराकानीको सुरुवातचाहिँ तत्कालीन राजनीतिक घटनाक्रमबाटै गरियो ।

प्रधानमन्त्रीले अनायास गरेको प्रतिनिधिसभा विघटन र त्यसपछि उत्पन्न परिस्थितिलाई उनले तीनबुँदामा यसरी संश्लेषण गरे :

  • यो (संसद विघटन) चर्चामा रहेकै विषय थियो । तर, पनि प्रधानमन्त्री यति एक्स्ट्रिममा जानुहोला जस्तो लागेको थिएन । मेरो विचारमा प्रधानमन्त्रीले चाल्नुभएको कदम संवैधानिकभन्दा बढी नैतिक हिसाबले गलत छ । जनादेशको धज्जी उडेको छ र जनतामाथि धोका भएको छ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीका गलत काममा पनि निरन्तर साथ दिइरहनुभएको छ, जुन दुर्भाग्यपूर्ण हो । प्रधानमन्त्रीले गरेका प्रत्येक सिफारिस राष्ट्रपतिले हुबहु कार्यान्वयन गरिरहँदा उहाँको पदीय मर्यादामा समेत प्रश्न उठेको छ । संविधानमाथि समेत प्रश्नचिन्ह खडा भएको छ ।
  • तर, हामीलाई मध्यावधि चुनावमा जान आपत्ति छैन । अहिले राजसंस्थाप्रति जनतामा आकर्षण बढेको हुनाले हाम्रो पार्टीले चुनावमा राम्रै नतिजा हात पार्न सक्छ । हामी जनतामा जान डराउँदैनौं ।

राणाको तेस्रो तर्कलाई समातेर प्रश्न गरियो, ‘भनेपछि अहिलेको माहोल आफ्नो पार्टीका निम्ति अनुकुल रहेको ठानेर राप्रपा चुनावमा जान भित्रभित्र उत्साहित बनेको हो ?’

हामीले समय अनुसार बदलिन पनि तयार हुनुपर्छ । मैले आफूमा मुख्य बदलाव ०४७ सालमा गर्नुपर्‍यो । एउटा प्रणालीमा काम गर्दै आएको मान्छे । त्यो प्रणालीलाई ठूलो जनविरोध आयो । पञ्चायतबाट बहुदलमा सेफल्याण्डिङ गरियो । मैले बहुदललाई स्वीकारेँ ।

‘त्यसो होइन’ उनी आदर्श वाणी बोल्न थाले, ‘हामीले राप्रपाको अनुकुलताभन्दा पनि देशको अनुकुलता हेर्ने हो । संविधान–कानून पालना भएको छ, छैन भन्ने हेर्ने हो । त्यस आधारमा धारणा बनाउने हो ।’

राणालाई मिठो लाग्ने प्रश्न सोधियो, ‘जे भए पनि राजनीतिक दलहरुको निरन्तर किचलो गर्दा जनता गणतन्त्रबाटै विरक्त बनेको ठानेर अहिले चुनावमा जाँदा राजावादी पार्टीलाई फाइदा हुने समीक्षा त गर्नुभएकै होला ।’

राणाले अलिकति हौसिएर भने, ‘हो, यतिबेला राजसंस्थाप्रति जनताको झुकाव बढेको छ । खासगरी युवापुस्ताले राजसंस्था र हिन्दू राज्यको महत्वलाई बुझ्न थालेका छन् । यो हाम्रा लागि सन्तोषको विषय पक्कै हो । अहिले भइरहेका आन्दोलनमा युवा चेहराहरु धेरै देखिनुले नेपालमा राजसंस्था फर्किने विश्वास अझै गाढा भएको छ । हामीले लामो समयदेखि उठाउँदै आएको एजेन्डाले सार्थकता पाउन थालेको छ ।’

मीठोपछि अब तीतो प्रश्न ।

‘तपाईंले पञ्चायतकालमा मज्जाले सत्ताभोग गर्नुभयो । पटक–पटक मन्त्री हुनुभयो । प्रजातन्त्र आएपछि फेरि यही व्यवस्थामा आफूलाई ढाल्नुभयो र फेरि दुईचोटि मन्त्री हुनुभयो । गणतन्त्र आएपछि यसलाई पनि स्वीकार्नुभयो र नेपालमा राजतन्त्र फर्किन सक्दैन भन्दै हिँड्नुभयो । तर, अब जनताले पत्याउन छाडेपछि फेरि राजतन्त्रको नारा उराल्न थाल्नुभएको हो ?’

राणा अलिकति ब्याकफुटमा आए । उनले आफूले हिजो गणतन्त्र स्वीकारेको कुरा स्वीकारे । तर, राष्ट्रपतिबाट जनताको अभिभावकत्व हुन नसकेको तर्क गरे ।

राणा भन्छन्, ‘त्यसो होइन । हामीले समय अनुसार बदलिन पनि तयार हुनुपर्छ । मैले आफूमा मुख्य बदलाव ०४७ सालमा गर्नुपर्‍यो । एउटा प्रणालीमा काम गर्दै आएको मान्छे । त्यो प्रणालीलाई ठूलो जनविरोध आयो । पञ्चायतबाट बहुदलमा सेफल्याण्डिङ गरियो । मैले बहुदललाई स्वीकारेँ ।

०६२/६३ सालको आन्दोलनपछि हामी संविधानसभाको चुनावमा गयौं । त्यसबेला लभगभ ९६ प्रतिशत मत गणतन्त्र पक्षधर पार्टीहरुलाई गयो । हामीले ठान्यांै कि जनताले गणतन्त्र स्वीकारेर नै उनीहरुलाई यत्रो मत दिए । त्यसैले जनमतको कदरकै लागि हामीले पनि गणतन्त्र स्वीकारेका थियौं ।

तर, अभ्यासका क्रममा गणतान्त्रिक व्यवस्थाले नेपाललको हित नगर्ने देखियो । राष्ट्रपतिबाट राष्ट्रप्रमुखको दायित्व नै सही निर्वाह हुन सकेन । मुलुकले अभिभावकीय भूमिका उहाँहरुबाट पाउन सकेन । त्यसैले यो पुष्टि भयो कि दलको प्रतिनिधिबाट देशको अभिभावकत्व हुनै सक्दैन । त्यसैले यो कटु अनुभवबाट म राप्रपा संयुक्तमा हुँदादेखि राजतन्त्र चाहिन्छ भन्नेमा पुगेको हुँ । तर, अहिले पनि हामी लोकतन्त्रको विरोधि होइनौं । लोकतन्त्र चाहिन्छ, तर राजासहितको ।’

तीन राजाहरुमध्ये शासन व्यवस्थामा सफल राजा महेन्द्र नै हुन् । नेपालका सफल शासकको कुरा गर्दा पृथ्वीनारायण शाह, जंगबहादुर राणा, भीमसेन थापाहरुको लहरमा राजा महेन्द्रको नाम आउँछ । उहाँ हरेक किसिमको राजनीतिक कलामा निपूर्ण हुनुहुन्थ्यो ।

उनले थपे : ‘संविधानको मूल मक्सद के हो भने यो मुलुकको सञ्चालन जनताबाट हुनुपर्छ । जनताको सर्वोच्चतामा कुनै आँच आउनुहुन्न । तर, अभिभावकीय भूमिका चाहिँ दलको प्रतिनिधिबाट हुने या राष्ट्रको भन्ने प्रश्न छ । १२ वर्षको अनुभवबाट के देखियो भने दलिय प्रतिनिधिबाट निस्पक्ष भूमिका….’

बीचमै काटेर अर्को प्रश्न : ‘राजाको अभिभावकीय भूमिका पनि त हेरिएकै हो । राजाले प्रत्यक्ष शासनको अभ्यास पनि गरेकै हुन् । त्यसमा असफल भएरै जनआन्दोलनको बलमा गणतन्त्र आएको हो नि ?’

उनले राजा ज्ञानेन्द्रबाट चालिएको कदम गलत भएको स्वीकारे ।

राणाले भने, ‘पक्कै पनि गल्तिहरु भएका छन् । भएन भनेर म भन्दिनँ । हामीले एउटा अभ्यास गर्‍यो । त्यो अभ्यासबाट अनुभव भयो कि प्रत्यक्ष शासन राजाबाट हुन सक्दैन । शासन पद्दति चलाउन जनप्रतिनिधि नै चाहिन्छ । तर त्यो शासन पद्दतिलाई अभिभावकीय भूमिका दलको प्रतिनिधिबाट ….’

यति अगाडि बढिसकेपछि फेरि राजतन्त्रमा फर्किनु त प्रतिगमन भएन र ?

‘मेरो बिचारमा लोकतन्त्र कायमै रह्यो भने प्रतिगमन हुँदैन । बेलायतको इतिहास हामी हेर्न सक्छौं । त्यहाँ राजा हटाएको मात्रै होइन, राजाको टाउकै छिनाएर हत्या गरियो । तर, फेरि प्रजातान्त्रिक परिपाटी कायम गरेर संवैधानिक राजा ल्याइयो । यहाँ त सेरेमोनियल राजाको मात्रै कुरा छ । त्यसरी ल्याउँदा प्रतिगमन होइन, पुनःस्थापना हुन्छ ।’

****

राणाले आफ्नो जीवनकालमा तीनजना शाहवंशीय राजाको शासन चाखे । तर, उनको निकट सम्वन्धचाहिँ राजा वीरेन्द्रसँग मात्रै भयो । राजा महेन्द्रसँग केही भेटघाट भए पनि अन्तरंग कुराकानी नभएको उनी बताउँछन् । यसैगरी, अन्तिम शाहवंशीय राजा ज्ञानेन्द्रसँग पनि त्यति घनिष्ठता नभएको उनको भनाइ छ ।

आफूले भोगेका तीन राजाहरुको मूल्यांकन उनी यसरी गर्छन् :

महेन्द्र

तीन राजाहरुमध्ये शासन व्यवस्थामा सफल राजा महेन्द्र नै हुन् । नेपालका सफल शासकको कुरा गर्दा पृथ्वीनारायण शाह, जंगबहादुर राणा, भीमसेन थापाहरुको लहरमा राजा महेन्द्रको नाम आउँछ । उहाँ हरेक किसिमको राजनीतिक कलामा निपूर्ण हुनुहुन्थ्यो । एकप्रकारले भन्दा उहाँ चाणक्य नीतिमा अत्यन्त सफल राजा हो । असल र खराबभन्दा पनि उहाँ एउटा सफल राजा हो ।

वीरेन्द्र

राजा वीरेन्द्रको सानिध्यमा रहेर मैले धेरै काम गरेको छु । उहाँसँग मेरो व्यक्तिगत सम्वन्ध पनि राम्रो थियो । उहाँलाई राजाका रुपमा भन्दा पनि एउटा असाध्यै असल र भलाद्मी मान्छेका रुपमा चिन्छु । राजनीतिक हिसाबले चाहिँ उहाँ बुवाजतिको सफल होइन । तर, उहाँ सदैव मुलुकको हित चाहने राजा हो ।

ज्ञानेन्द्र

राजा ज्ञानेन्द्रले पनि देशका लागि केही गर्न खोज्नुभएको हो । उहाँको स्वभाव दाजुसँग भन्दा बुवासँग मिल्छ । तर, उहाँले २०५८ सालमा चाल्नुभएको कदमको हामीले समर्थन गर्न सकेनौं । त्यो कदम गलत नै थियो भन्ने निस्कर्ष हाम्रो अहिले पनि छ ।

टर्निङ प्वाइन्ट

राजा वीरेन्द्र हुँदासम्म नेपालमा राजसंस्था लोकप्रिय नै थियो । त्यसबेलासम्म गणतन्त्र बहसमा समेत थिएन । तर, त्यसपछिको छोटो समयमै गणतन्त्र आयो । यसको अर्थ के दरबार हत्याकाण्ड नै राजतन्त्रबाट गणतन्त्रतर्फ मोडिने ‘टर्निङ प्वाइन्ट’ थियो त ?

यो प्रश्नमा राणाले सहमति जनाए ।

उनी भन्छन्, ‘नारायणहिटी हत्याकाण्ड यो मुलुकका लागि ठूलो दुर्भाग्य हो । सम्पूर्ण मुलुकलाई अँध्यारो पार्ने ट्रेजेडी थियो त्यो । त्यसले ठूलो सन्नाटाको अवस्था सिर्जना भयो, जसको कहिल्यै परिकल्पना गरिएको थिएन । राष्ट्र ब्याकुल भयो । दरबार हत्याकाण्डको पराकम्पका रुपमा धेरै घटनाहरु भए । अब ती घटनाहरु एउटा उसमा भनौं न, एउटा स्तरसम्म पुगेको छ । त्यो स्तरलाई बसालेर मुलुकलाई स्थाई स्वरुप दिनका लागि राजसंस्थाको पुनस्र्थापना आवश्यक छ । यसकारण कि, दलको प्रतिनिधिबाट अभिभावक…..।’

राजा महेन्द्रले ०१७ सालमा कु गरेर देशमा पञ्चायती व्यवस्था ल्याए, जुन ३० वर्ष टिक्यो । तर, राजा ज्ञानेन्द्रले यस्तै प्रयास गर्दा किन छिट्टै असफल भए । २०५९ सालमा सत्ता हातमा लिएका उनले ६२/६३ को जनआन्दोलनपछि गद्दी नै त्याग्नुपर्यो । के कारणले महेन्द्र सफल र ज्ञानेन्द्र असफल भए ?

बेला हो । समय हो । राजा महेन्द्रले चालेको कदम सजिलै सफल हुने थिएन । मलाई लाग्छ, १९६२ मा चीनले हिन्दूस्तानलाई लडाइँ नछेडेको भए, त्यो सफल हुन्थेन । यहीँभित्रको घटनाक्रम मात्रै हेरेर हुँदैन । बाहिरको घटनाक्रमले पनि प्रभाव पर्छ । त्यसबेला यस्तो परिस्थिति थियो, कि नेपाललाई कसैले च्यालेन्ज गर्न नसक्ने ।

राजाको कदम र चीन–भारत लडाईंको के सम्वन्ध छ र ?

त्यो (धमनिरपेक्षता) वास्तवमा कसरी छिर्‍यो छिर्‍यो । सुटुक्क आयो । जनआन्दोलनमा कसैले यो माग उठाएकै होइन । म त त्यसबेला संसदमै थिएँ । एक दिन छ्वास्स धर्मनिरपेक्षता घोषणा भयो ।

जब त्यो कदम राजाबाट चालियो, त्यसको सबैभन्दा विरोध हिन्दूस्तानबाट हुने थियो । तर, १९६२ मा चीनले हिन्दूस्तानमाथि आक्रमण गर्यो । त्योपछि हिन्दूस्तानले नेपालको विरोध गर्नै सकेन । त्यसैले भू–राजनीतिक अवस्थाले त्यो कदम सफल भएको हो ।

‘नेपालमा पञ्चायती शासन व्यवस्था ३० वर्ष चल्यो, त्यसपछि आएको प्रजातन्त्रले पनि ३० वर्ष खपत गरिसकेको छ । तपाईं यी दुई शासन व्यवस्थालाई तुलना गर्दा कुनलाई बढी असफल मान्नुहुन्छ ?’

(हाँसो) ‘बडो इन्ट्रेस्टिङ तरिकाले सोध्नुभयो । तपाईंले कुन व्यवस्था बढी सफल भनेर नसोधी कुन बढी असफल भनेर सोध्नुको तात्पर्य दुबै असफल हुन् भन्ने लागेको रहेछ । मचाहिँ के भन्छु भने, दुवै व्यवस्थाका गुणदोष आ–आफ्ना ठाउँमा छन् ।

०४६ सालमा प्रजातन्त्र आएपछि केही वर्षसम्म राम्रै भएको हो । कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको सरकारले समयमै संविधान निर्माण र आमनिर्वाचन ग¥यो । त्यसपछि गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको सरकारले अर्थतन्त्रको जग बसाल्ने प्रयास ग¥यो । ०५२ सालमा मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको अल्पमतको ९ महिने सरकारले पनि जनमुखी कामहरु गरेको हो । म त भन्छु, मनमोहनको सरकार ढलेपछि शेरबहादुर देउवाजीको नेतृत्वको सरकार, जसमा हामी पनि थियौं,ले समेत राम्रै गरेको थियो । यसप्रकारले त्यो कालखण्डमा केही ठोस उपलब्धी हासिल भएकै हुन् । तर, त्यसपछि भने राजनीतिले बाटो बिराएको जस्तो लाग्छ ।

त्यसपछिको कालखण्डमा जुन राजनीतिक अस्थिरता उत्पन्न भयो, त्यसले गर्दा विकास–निर्माण नै ओझेलमा पर्न गयो । अझ, गणतन्त्र आएपछि त झन् केही कामै हुन सकेको छैन । अबचाहिँ केही हुन्छ भनेर जनताले आशा गरेको यही सरकारका पालामा हो । केपी ओलीको पार्टीसँग झण्डै दुईतिहाई बहुमत थियो । लामो समयपछि पाँच वर्ष ढुक्कले चल्न सक्ने बलियो सरकार बनेको थियो । त्यसले राजनीतिक स्थायित्व दिने र देश प्रगतिपथमा लम्किने आशा जनताले लिएका थिए । तर, सोचेजस्तो भएन ।

यो तीन वर्षमा जनताका सबै आशाहरु निराशामा बदलिएका छन् । साम्यवादीले ठूलो अवसर खेर फालेका मात्रै होइनन्, धुजाधुजा नै बनाएका छन् । जनताको विश्वासको दुरुपयोग गरे साम्यवादीले । बेकारमा यिनीहरुलाई भोट हालिएछ भनेर मतदाता पछुताएको अवस्था छ । राष्ट्रपतिबाट पनि अभिभावकीय…।’

अहिलेको व्यवस्थाभन्दा पञ्चायत नै ठीक थियो भन्ने एकथरि भाष्य निर्माण भइरहेको छ, तपाईं पनि त्यसमा सहमत हो ?

‘त्योबेलामा यति भ्रष्टाचार हुँदैनथ्यो । भ्रष्टाचार त थियो, तर अहिलेको जस्तो व्यापक थिएन । दोस्रो कुरा, वैदेशिक हस्तक्षेप पनि यो तहमा थिएन । त्यसलाई केही मात्रामा नियन्त्रित गरिएकै हो । यो मुलुकका आसपासमा दुई ठूला राष्ट्र भएकाले हस्तक्षेपको चेष्टा त भइ नै हाल्छ । त्यसलाई हामीले कतिसम्म खुम्च्याउन सक्छौं भन्ने हो । पञ्चायतमा चाहिँ वैदेशिक हस्तक्षेपलाई खुम्च्याइएकै थियो । अहिले त हस्तक्षेप खुल्लाखुल्ला छ ।’

नेपालको भू–राजनीतिक अवस्थाले गर्दा यहाँ लोकतन्त्र नै अफाप बनेको कतिपय राजावादीहरुको तर्क छ । तपाईंलाई के लाग्छ ?

‘त्यतिसम्म त म भन्दिनँ । म के भन्छु भने यो मुलुकलाई लोकतन्त्र चाहिन्छ, नचाहिने भन्ने होइन । हामी ती चार शक्तिमध्ये हौं जसले यो संविधान ल्यायो । तर, संविधानका दुईवटा व्यवस्थाप्रति हाम्रो असहमति छ । यो राष्ट्रलाई धर्मनिरपेक्ष बनाउनुपर्ने कुनै आधार र कारण थिएन । यसले गर्दा मुलुकको परिचय नै मेटियो । संसारभरिका हिन्दूहरुको एउटा केन्द्रविन्दू बनेको थियो हाम्रो देश । संसारले मान्यता दिएको थियो । धर्मनिरपेक्ष बनाएर देशको परिचय मेट्ने काम भएको छ । अर्को चाहिँ राष्ट्रपति प्रणाली नेपालमा ठीक छैन भन्ने १२–१५ वर्षको अनुभवबाट देखियो । दलको प्रतिनिधिबाट अभिभावकीय….।’

धर्मनिरपेक्षता घोषणा भएका बेला चाहिँ तपाईंहरुले मौन समर्थन गर्नुभएकै हो । अहिले आएर विरोध गर्नुको के तुक छ ?

‘त्यो (धमनिरपेक्षता) वास्तवमा कसरी छिर्‍यो छिर्‍यो । सुटुक्क आयो । जनआन्दोलनमा कसैले यो माग उठाएकै होइन । म त त्यसबेला संसदमै थिएँ । एक दिन छ्वास्स धर्मनिरपेक्षता घोषणा भयो । त्यसअघि कहिँ कतै नसुनिएको कुरा । हामी अचम्ममै परेका थियौं । यसमा कतै न कतै विदेशी चलखेल भएको छ भन्ने लाग्छ । विदेशी शक्तिहरुले तत्कालिन नेतृत्वलाई प्रभावित बनाएका हुन भन्ने लाग्छ । अन्यथा जनताले नमागेको कुरा अपर्झट किन आउँथ्यो ? हामी असन्तुष्ट भए पनि त्यसबेलाको माहोलमा विरोध गर्ने अवस्थै थिएन ।’

नेपाल हिन्दू राज्य हुनु र नहुनुले ठूलो के ठूलो फरक पार्छ र ?

मैले भनें नि, हिन्दू राज्य नेपालको पहिचान थियो । मुलुकको जनसंख्यामा ८१ प्रतिशतभन्दा बढी हिन्दूहरु छन् । किरात, बुद्ध धर्म जोड्दा ओमकार परिवार ९४ प्रतिशत छन् । उनीहरुको मानेको कुरालाई चुनौति दिएर मुलुकको पहिचान मेटाउनु ठूलो अपराध थियो । यो गणतन्त्रभन्दा पनि ठूलो अपराध थियो ।

तपाईं पञ्चायतकालमा पटकपटक मन्त्री हुनुभयो र प्रजातन्त्रमा पनि । दुई शासन व्यवस्थामा मन्त्रालयको नेतृत्व गर्दा के फरक महसुस गर्नुभयो ?

मैले मन्त्रीका रुपमा सबैभन्दा लामो अवधि देउवाजीको मन्त्रिमण्डलमा काम गरेको हुँ । बहुदलीय प्रजातन्त्रमा । देउवाजीले एकचोटि पत्याएपछि काममा हस्तक्षेप गर्नुहुन्नथ्यो । त्यो बखतमा मन्त्रालय चलाउन जुन स्वतन्त्रता मैले पाएको थिएँ, त्यो हदसम्म पञ्चायतकालमा थिएन । पञ्चायतमा आफ्नै स्वविवेकमा सबै काम गर्न अलि असजिलो हुन्थ्यो । धेरै कुरा त राजालाई नै सोध्नुपर्थ्यो ।

तपाईंहरुजस्ता पञ्चायतको पृष्ठभूमिबाट आउनुभएकाहरुलाई ‘पूर्वपञ्च’, ‘मण्डले’, ‘प्रतिगामी’ जस्ता उपमाहरु दिने गरिएको छ । यसलाई सहजरुपमा लिनुहुन्छ कि कुनै आपत्ति छ ?

‘खोई, प्रतिगामी भनेको के हो, मैले बुझ्न सकेको छैन । यो मुलुकलाई संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा लैजान मेरो पनि भूमिका छ । तर, मलाई नै प्रतिगमनकारी भन्दिन्छन् । कसरी प्रतिगमनकारी भएँ म ?’

पूर्वपञ्चभन्दा त रिसाउने कुरा छैन । यसले देशको एउटा खास कालखण्डलाई सम्झाउँछ । म पञ्चायतबाटै आएको हुनाले पूर्वपञ्च होइन भन्दिनँ । तर ‘मण्डले’ भनेको चाहिँ गिज्याएकै हो ।

प्रजातन्त्र ल्याउन भूमिका खेलेको छु भन्नुभयो । आन्दोलनमा हिँड्नुभएको त देखिएन । कस्तो भूमिका हो तपाईंको ?

०४६ सालको आन्दोलन उत्कर्षमा पुगेका बेला आन्दोलनकारीसँग वार्ता गर्ने म पनि हुँ । प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा गठन गरिएको वार्ता समितिमा म सदस्य थिएँ । त्यही समितिले आन्दोलनकारीसँग वार्ता गरेर राजालाई प्रजातन्त्रमा जान सुझाएको हो । अनि मेरो भूमिका छैन भन्न मिल्छ ? हामीले त्यसरी लचकता प्रस्तुत नगरेको भए त्यति सहजै देशमा प्रजातन्त्र आउने नै थिएन ।

तपाइँहरुलाई सहज भयो होला, तर राजालाई त पक्कै सहज थिएन । त्यसबेला उहाँलाई निर्णय लिन कति कठिन भएको थियो ?

हो, त्यो अत्यन्त गाह्रो निर्णय थियो उहाँ (वीरेन्द्र) का लागि । उहाँको त्यो गुण हो क्या ! त्योबेला यो हदभन्दा बाहिर जान नसक्ने अवस्था आयो भनेपछि हामी दरबारमा गएर यो बाटो जानुपर्छ भन्यौं । राजाले सहजै स्वीकारिबक्स्यो । राजा वीरेन्द्रमा बदलाव स्वीकार गर्न सक्ने साहस थियो ।

राजाचाहिँ लचिलो तर, रानी एकदमै कठोर हुनुहुन्थ्यो र उहाँले कुनै पनि हालतमा प्रजातन्त्र बहाल गर्नु नहुने अडान लिनुभएको थियो भन्ने त्यसबेला सुनिन्थ्यो नि ? कति सत्य हो ?

मैले बडामहारानीसित कुरै गरिनँ । मेरो कुरा सबै राजासित मात्रै भयो । बडामहारानीको के भूमिका थियो, पत्ता लगाउने अवसरै भएन ।

अब राजनीतिमा तपाईंका व्यक्तिगत महत्वकांक्षा केही बाँकी छन् कि छैनन् ? फेरि मन्त्री बन्ने वा एकचोटि प्रधानमन्त्री नै बन्ने इच्छा छ कि ?

म बाँचुञ्जेल यो मुलुकको सेवा गर्न तत्पर छु । स्वास्थ्यले पनि साथ दिएकै छ । मेरा लागि पदभन्दा पनि मैले बोकेको आदर्श र सिद्धान्त ठूलो हो । मन्त्री बन्ने इच्छा त मरि नै सक्यो । अब सम्भावना पनि त्यति साह्रो छैन । अब मेरा लागि आदर्श मात्रै हो । हामी अहिले एउटा आन्दोलनमा लागेका छौं । संघर्षमा अगाडि बढेका छौं । अब राजनीति कता जान्छ, हेरौं ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment