Comments Add Comment

प्रतिनिधिसभा पुनर्स्थापना हुने कुनै सम्भावना छैन : विष्णु पौडेल

१९ पुस, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् ।

६४ प्रतिशत सांसदहरुको समर्थनप्राप्त प्रधानमन्त्रीले आफू चौतर्फी घेराबन्दीमा परेपछि बाध्यात्मक अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको कदम चाल्नुपरेको भन्दै उनले संसद पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताए । यद्यपि यो विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेकाले अदालतले गर्ने फैसलालाई आफूहरुले स्वीकार गर्ने पौडेलको भनाइ छ ।

ओली समूहको रुपन्देही जिल्लास्तरीय बृहत अगुवा कार्यकर्ता भेलालाई आइतबार बुटवलमा सम्बोधन गर्दै पौडेलले बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न सक्ने परिकल्पना संविधानले गरेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नै कम्युनिस्ट पार्टीको मूल धार भएको उनको दावी छ । पार्टीका दोस्रो नम्बरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत बाटो रोजेको उनको भनाइ थियो । प्रधानमन्त्री र शक्तिशाली कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने प्रचण्डको सपना पूरा नहुने उनले बताए ।

आफूहरुले पार्टीका प्रथम अध्यक्षमाथि लगाएको आरोपपत्र फिर्ता लिन आग्रह गर्दा फिर्ता नलिएर प्रचण्डले पार्टीलाई संकटतर्फ धकेलेको र अर्का नेता माधव नेपालले विभाजनमा योगदान पुर्‍याएको उनको भनाइ थियो । ‘त्यो आरोपपत्र फिर्ता लिएर अझै पनि सच्चिएर आउने हो भने हामी स्वागत गर्छौं, यसका लागि त्रुटिहरु सच्याएर आउनुपर्छ,’ महासचिव पौडेलको भने ।
सरकार कोरोनाको भ्याक्सिन ल्याउने तयारीमा रहेको र यसका लागि ५० अर्बको व्ययभार सरकारमाथि पर्ने भन्दै अर्थमन्त्री पौडेलले उक्त रकम विभिन्न प्रवन्धबाट जुटाएर जनतालाई निःशुल्क भ्याक्सिन उपलब्ध गराइने बताए ।

प्रचण्ड–नेपाल पार्टी एकताको म्यान्डेट विपरीत चले : टोपबहादुर

भेलालाई सम्बोधन गर्दै नेकपा स्थायी समिति सदस्य एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले पार्टी एकताको म्यान्डेट विपरीत प्रचण्ड–माधव अघि बढेकाले आफूले साथ छाडेर कम्युनिस्ट पार्टीको मूल धारमा आएको बताए । एकताको म्यान्डेटविपरीत समीकरण बनाउने र प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारी गरेपछि प्रधानमन्त्रीले बाध्यतावश प्रतिनिधिसभा विघटन गरी चुनावमा जाने निर्णय लिएको बताए । ‘अहिले दाहाल–नेपालहरु सडकमा गएर जनतामा भ्रम छरिरहेका छन्, जनताले वास्तविकता बुझेपछि उनीहरु सडकबाट खाडलतिर धकेलिने छन्,’ उनले भने ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर अस्थिरता निम्तिन रोकेको र सिस्टम जोगाएको भन्दै रायमाझीले निर्वाचनमा गएर ताजा जनादेश लिने कुरा अग्रगामी र सरकार ढलाएर अस्थिरता सिर्जना गर्ने कुरा प्रतिगामी भएको बताए ।

प्रचण्डको आरोपपत्रले पार्टीमा संकट : मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीमा संकट आउनुको मूल कारण प्रचण्डको आरोपपत्र रहेको बताए । ‘पार्टी कब्जा गर्ने उद्देश्यले ल्याइएको आरोपपत्रमाथि छलफल हुन सक्ने ठाउँ नै थिएन, त्यो पार्टी विघटनका लागि थियो,’ उनले भने । प”र्व एमालेभित्रको अन्तरविरोधमा खेलेर नेतृत्व कब्जा गर्न खोज्दा पार्टीमा अहिलेको अवस्था आएको पोखरेलको भनाइ छ ।

निर्वाचन आयोगमा ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहेकाले त्यसको बहुमत आफूहरुसँग रहेको भन्दै उनले आफूहरुले नै आधिकारिकता पाउने दावी गरे ।

भेलालाई नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य दधिराम न्यौपाने, शिवराज सुवेदी, भोजप्रसाद श्रेष्ठ, प्रदेश कमिटी सदस्य अनुप बराल लगायतले पनि संबोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment