Comments Add Comment

विमानस्थलबाट गोलीसहित पक्राउ परेका राईलाई हातहतियार सम्बन्धी मुद्दा

२० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित पक्राउ परेका व्यक्तिलाई हातहतियार तथा खरखजना सम्बन्धी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने भएको छ ।

विमास्थलबाट समातिएका झापाको मेचीनगर नगरपालिकाका बद्रीहाङ राईलाई हातहतियार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीले अदालत लगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार श्री एयरलाइन्सबाट झापाको भद्रपुर विमानस्थल जान लाग्दा उनी पक्राउ परेका थिए । र, थप कानुनी कारबाही र अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको थियो ।

गौशाला प्रहरीले राईलाई हातहतियार तथा खरखजना सम्बन्धी ऐनअनुसार म्याद थप गर्नका लागि जिल्ला अदालत, काठमाडौंमा लगेको हो । गौशालाका डीएसपी जितेन्द्रकुमार बस्नेत भन्छन्, ‘कानुनी प्रक्रिया अघि बढाउन म्याद थपका लागि अदालत उपस्थित गराइसकेका छौं ।’

सोमबार विमानस्थलमा नियमित चेकजाँचका क्रममा राईको लगेजभित्र रहेको ज्याकेटमा ९ एमएम पेस्तोलमा लाग्ने ५० राउण्ड गोली भेटिएको थियो । राई आमा मुनादेवीसँग झापा जान लागेका थिए ।

यो पनि पढ्नुहोस त्रिभुवन विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित एकजना पक्राउ

पक्राउ परेपछि राईले झोलामा गोली भएको आफूलाई थाहा नभएको बताएका छन् । प्रहरीका अनुसार राई अवकाश प्राप्त प्रहरी नायब निरीक्षक (सई) रामचन्द्रका छोरा हुन् । बुबाले नै ज्याकेट ल्याइदिनु भनेपछि लगेको छोराको बयान छ ।

बहालवाला प्रहरी अधिकारीले समेत त्यति ठूलो संख्यामा गोली बोक्दैनन् । पूर्वप्रहरीले राख्नु झन् गैरकानुनी हो । ‘छोराको भनाइ अनुसार बुबाले गोली राखेको हो कि भन्ने देखिन्छ, उनले किन राखे भन्ने विषयमा पनि छानविन गरिररहेका छौं’, काठमाडौं प्रहरीका एक अधिकृत भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment