Comments Add Comment
कोरोना प्रभाव :

२० लाख पर्यटक भित्र्याउने लक्ष्य, तर ३४ वर्षयताकै कम आगमन

२२ पुस, काठमाडौं । सन् २०२० मा वाषिर्क २० लाख पर्यटक भित्रयााउने लक्ष्यसहित सरकारले पर्यटन वर्ष घोषणा गरेको थियो । तर, अध्यागमन विभागका अनुसार यो वर्ष कुल २ लाख ३० हजार ८५ जना पर्यटक मात्रै नेपाल भित्रिए । यो वर्ष त्रभुवन विमानस्थलबाट १ लाख ८३ हजार १३० र स्थलमार्गबाट ४६ हजार ९५५ पर्यटक आए ।

कोरोना भाइरसको महामारीकाबीच चार महिना नबित्दै भ्रमण वर्षका अभियान रद्द भयो । सन् २०२० को अन्तसम्म आइपुग्दा पर्यटन क्षेत्र यति नराम्रोसँग प्रभावित भयो की, यो वर्षको कुल पर्यटक आगमन संख्या पछिल्लो ३४ वर्षयताकै सबैभन्दा कम हो । यो वर्ष पछिल्लो साढे तीन दशकयताकै खराब अवस्थाबाट गुजि्रएको हो ।

यसअघि सन् १९८६ मा २ लाख २३ हजार ३ सय ३१ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसपछिका वर्षमा निरन्तर पर्यटक आगमन बढेको थियो ।

पछिल्लो समय नेपालमा आएको विनासाकारी भूकम्पको वर्ष सन् २०१५ मा समेत नेपालले ५ लाख ३८ हजार पर्यटकलाई स्वागत गर्न सफल भएको थियो ।

तर, कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि विश्वव्यापी रुपमा अपनाइएका प्रतिबन्धको मारमा पर्यटन क्षेत्र पनि परेको हो । सन् २०१९ मा भने इतिहासकै सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका थिए । सो वर्ष कुल ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक नेपाल आएका थिए ।

नेपालमा अघिल्लो वर्ष आएको पर्यटकको संख्या समेत जनवरीदेखि मार्चसम्म आएका पर्यटकको संख्या बढी छ । त्यसपछि भने सरकारले नेपालमा लकडाउन सुरु गर्‍यो । नेपालमा ७ चैतबाट लकडाउन शुरु भएको हो । यससँगै पर्यटक आगमन समेत बन्द भयो ।

यसको असर समग्र पर्यटक आगमनमा परेको हो । मार्चयता भने नगन्य संख्यामा मात्र पर्यटक भित्रिए । तथ्यांक विभागका अनुसार पछिल्लो असोजयता मासिक औसतः २ हजारको संख्यामा मात्र पर्यटक आइरहेका छन् ।

यो वर्ष वीरगन्ज हुँदै ३८८, काकडभिट्टाबाट २०२१, भैरहवाबाट ४३ हजार २७२, गड्डाचौकीबाट ६२१, नेपालगन्जबाट ९४, धनगढीबाट ३४ र रसुवागढीबाट ५२५  जना पर्याट नेपाल आए ।

सबैभन्दा बढी पर्यटक भारतबाट

तथ्यांकअनुसार सन् २०२० मा भारतबाट सर्वाधिक संख्यामा पर्यटक आगमन भएको छ । एक वर्षको अवधिमा भारतबाट मात्र ४० हजार ३ सय ३६ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा भने म्यानमार रहन सफल भएको छ । म्यानमारबाट २० हजार ९ सय ११ जना पर्यटक आएका छन् ।

तेस्रो स्थानमा थाइल्याण्ड छ । थाइल्याण्डबाट २० हजार ७ सय ७८ जना पर्यटक आएका छन् । चौथो स्थानमा चीन रहेको छ । यस मुलुकबाट १९ हजार २ सय ५७ जना पर्यटक नेपाल आएको पाइएको छ ।

यो वर्ष चीन चौथो स्थानमा खस्किएको हो । यसअघि धेरै वर्षसम्म नेपालमा भारतपछि चीनबाट धेरै पर्यटक आउने गरेका थिए । तर, चीनमा कोरोना भाइरसको संक्रमण अगाडि नै देखिएसँगै नेपालले पनि चिनियाँ पर्यटकको आगमनलाई निरुत्साहित गरेको थिए ।

लकडाउन खुलेपछि भने चिनियाँ नागरिकको नेपाल आगमन क्रमशः बढ्न थालेको छ । पाँचौ स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट यो वर्ष १७ हजार ७ सय ६७ जना पर्यटक आएका छन् ।

एक-एक जना पर्यटक पनि

एक वर्षको अवधिमा नेपालमा १ सय ७१ भन्दा बढी मुलुकबाट पर्यटक आएका छन् । यसमध्ये कुनै कुनै मुलुकबाट एक जना मात्र पर्यटक समेत भित्रिएको तथ्यांक छ ।

विभागका अनुसार सन् २०२० मा मकाउ, उत्तर कोरिया, चाड र तूर्किमिनिस्तानबाट एक-एक जना मात्र नेपाल आएका छन् । जिम्बावे, टोङ्गा, सेन्ट किट्स एण्ड नेभिज, पपुवा न्यूगिनी र अंगोलाबाट दुई-दुई जना मात्र पर्यटक नेपाल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment