Comments Add Comment
वासिङटन हिंसाको वृतान्त :

अमेरिकी संसदमा ट्रम्प समर्थकको उपद्रो

२३ पुस, काठमाडौं । बुधबार अमेरिकाको वासिङटन डीसीस्थित क्यापिटल हिलमा कंग्रेसको बैठक चलिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रदर्शनमा उत्रिए ।

प्रदर्शनकारीहरु बलपूर्वक बैठक हलमा प्रवेश गर्न खोजे । सुरक्षाकर्मीहरुले रोक्दारोक्दै प्रदर्शनकारी बैठक हलमा प्रवेश गरेर उपद्रो मच्चाएपछि अवस्था तनावपूर्ण बन्यो । प्रहरीले गोली चलायो । गोली लागेर घाइते भएकी एक महिलाको निधन भयो । थप तीन जनाको मृत्यु भएको वासिङटनका मेयरले जानकारी दिएका छन् ।

पछिल्लो अवस्था

क्यापिटोल हिल (अमेरिकी संसद) मा हिंसात्मक प्रदर्शन भएसँगै बिहीबार बिहानसम्मका लागि कफ्र्यू घोषणा गरिएको छ । वासिङटन डीसीमा १५ दिनका लागि आपतकाल घोषणा गरिएको छ ।

वासिङटन डीसीका मेयर म्युरियल बाउसरले धेरै मानिसहरु हतियारसहित हिंसामा उत्रिएको र उनीहरुले तोडफोठका साथै इँटा, बोतल, बन्दुकको प्रयोग गरेको बताएका छन् । हिंसात्मक गतिविधि अझै जारी रहेको भन्दै उनले वासिङटन डीसीमा १५ दिन सार्वजनिक आपतकाल घोषणा गर्नुपरेको बताएका छन् ।

आपतकाल जनवरी २१ अर्थात राष्ट्रपति जो बाइडनको शपथग्रहणको भोलिपल्टसम्म जारी रहनेछ ।

क्यापिटोल बिल्डिङको चारैतर्फका सडकमा सुरक्षाव्यवस्था कडा पारिएको छ । वासिङटन प्रहरी प्रमुखले दिएको जानकारीअनुसार बुधबार राति साढे नौ बजेसम्म ५२ जनालाई गिरफ्तार गरिएको छ, जसमध्ये ४७ जनालाई कफ्र्यू उल्लंघन तथा गैरकानुनीरुपमा प्रवेश गर्न खोजेको आरोप लगाइएको छ ।

बुधबार किन भयो प्रदर्शन ?

नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनको औपचारिक नतिजा घोषणा गर्न बुधबार कंग्रेसको बैठक बोलाइएको थियो । नयाँ राष्ट्रपति छान्ने यो अन्तिम औपचारिक प्रक्रिया हो ।

बैठकमा नोभेम्बरमा भएको निर्वाचनमा राष्ट्रपतिका उम्मेदवारहरुले पाएको इलेक्टोरल कलेज भोटको गणना गर्ने र त्यसलाई अनुमोदन गर्ने काम हुन्छ । गत नोभेम्बरमा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडनले ३०६ इलेक्टोरल कलेज भोट पाएका छन् भने डोनाल्ड ट्रम्पको पक्षमा २३२ इलेक्टोरल भोट परेको छ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । यद्यपि उनले अहिलेसम्म कुनै प्रमाण पेश गर्न सकेका छैनन् । यस्तोमा बुधबार बाइडनको जित रोक्न ट्रम्पका समर्थकहरुले अन्तिम प्रयास स्वरुप क्यापिटोल हिलमा उक्त प्रदर्शन गरेका हुन् ।

ट्रम्पलाई कस–कसको साथ ?

अमेरिकी वर्तमान राष्ट्रपति ट्रम्पलाई आफ्नै पार्टी रिपब्लिकनका सीमित मानिसले मात्र साथ दिएका छन् । टेक्सासका सिनेटर ट्ड क्रुजको नेतृत्वमा रहेको ११ सिनेटर्सको टोलीले ट्रम्पको दाबीलाई समर्थन गर्दै निर्वाचनमा भएको धाँधलीको विषयमा अनुसन्धान गरिनुपर्ने माग राखेका थिए । उनीहरुले बुधबारको प्रक्रिया १० दिन पर सारेर निर्वाचनबारे अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।

तर धेरै नेताहरुले निर्वाचन परिणाम स्वीकार गर्न ट्रम्पलाई आग्रह गर्दै आएका छन् । यसअघि ट्रम्पको पक्षमा देखिँदै आएका उपराष्ट्रपति माइक पेन्सले पनि बुधबारको घटनाको खुलेर विरोध गरेका छन् । शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार भएपनि क्यापिटोल हलमाथि गरिएको आक्रमण सह्य नहुने उनले बताए ।

बाइडनलाई रोक्ने यसअघिका प्रयास

नोभेम्बरमा भएको निर्वाचनभन्दा अघि नै ट्रम्पले उक्त निर्वाचनमा धाँधली हुने आशंका व्यक्त गर्दै आएका थिए । विशेषगरी कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै चिठीबाट पनि भोट गर्न सकिने व्यवस्था गरिएसँगै निर्वाचनबारे विवाद देखिएको थियो । ट्रम्प मतदान केन्द्रमा नै गएर मतदान गर्न मतदातालाई आग्रह गरिरहेका थिए भने बाइडन चिठीबाट मतदान गरी भिडभाडमा नजान मतदातालाई प्रेरित गरिरहेका थिए ।

निर्वाचन सकिएपछि सुरुआती गणनामा डेमोक्रेटिक पार्टीका जो बाइडन अगाडि देखिए । अग्रताको हिसाबमा भने ट्रम्प पुनः राष्ट्रपति बन्ने सम्भावना देखिएको थियो । तर मतदान केन्द्रमा खसेको मत सकिएर चिठीबाट पठाइएका मत गन्न थालेपछि भने राष्ट्रपतिको चुनाव जित्न महत्वपूर्ण मानिएका पेन्सिल्भानिया, मिसिगनजस्ता राज्यहरुको नतिजा उल्टियो र बाइडनले विजयी भए ।

महत्वपूर्ण राज्यमा आफ्नो जित भएको दाबी गर्दै ट्रम्ले अदालत जानेदेखि पुनः मतगणना गराउनेसम्मको प्रयास गरे । तर नतिजा उल्टिएन । ट्रम्पले बाइडन राष्ट्रपति बन्नुपूर्वको प्रक्रिया ट्रान्जिसन टोलीलाई पनि काम गर्न दिन आनाकानी गरेका थिए । तर, अन्त्यमा उनी ट्रान्जिसन टोलीलाई काम गर्न दिन बाध्य भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment