+
+
Shares

शान्ति मिसनमा भएको कुटपिटबारे सूचना चुहाउने सैनिक बर्खास्त

कुटपिटमा संलग्न तीन क्याप्टेनलाई एक वर्ष बढुवा रोक्का

गौरव पोखरेल गौरव पोखरेल
२०७७ पुष २६ गते २०:४६
कुटपिटमा परेका सैनिकको तस्वीर ।

२६ पुस, काठमाडौं । शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएको नेपाली सैनिकमाथि भएको कुटपिट प्रकरणको सूचना चुहाउने अधिकारी बर्खास्तीमा परेका छन् ।

नेपाली सेनाको मिडिया तथा सामाजिक सञ्जाल प्रयोग नीति विपरीत कार्य गर्दै अन्यलाई पनि सैनिक आचरण बाहिरको कार्य गर्न उक्साएको ठहर गर्दै सैनिक अदालतले संलग्न जवानलाई बर्खास्तीको आदेश सुनाएको हो ।

उनलाई भविष्यमा कुनै पनि सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्दै ६ महिनाका लागि कैद सजाय पनि तोकिएको सैनिक स्रोतले अनलाइनखबरलाई बतायो ।

सैनिक आचारसंहितामा अनुसार ती जवानले सामाजिक सञ्जालमा तस्वीर हाल्नुको साटो गणपति वा सैनिक मुख्यालय वा शान्ति सेना निर्देशनालयमा उजुरी गर्नुपर्थ्यो । सिधै प्रधानसेनापतिलाई उजुरी गर्न सकिने व्यवस्था पनि छ ।

हरेक सैनिक युनिटमा सिकायत उजुरी पेटिका पनि राखिएको छ, जसमा हरेक सैनिकले कार्यालयभित्र भएका गलत गतिविधिबारे लेखेर राख्न मिल्ने व्यवस्था छ । तालाबन्दी गरिएको सिकायत पेटिका खोल्ने अधिकार जंगीअड्डामा रहेको सिकाय जाँचबुझ निर्देशनालयका अधिकारी समक्ष मात्र हुन्छ ।

यसअघि ८ असोजमा कंगोमा सह–सेनानी इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

कुटपिटपछिको माझीको शरीरमा निलडाम भएको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । त्यसपछि सैनिक मुख्यालय जंगीअड्डाले ज्येष्ठ मेजर (सेनानी) को नेतृत्वमा ‘कोर्ट अफ इन्क्वायरी’ बनाएका थिए ।

त्यसले दिएको प्रतिवेदन अनुसार सैनिक अदालतले कुटपिटमा संलग्न तीन अधिकृतलाई एक वर्ष बढुवा रोक्का हुने फैसला सुनाएको छ । अदालतले अन्य जवानले पनि मादक पदार्थ सेवन गरी माथिल्लो अधिकृतको आदेश अवज्ञा गरेको निष्कर्ष निकाल्दै प्रकरणमा संलग्न ९ जनामध्ये केहीलाई नसियत पनि दिएको छ ।

अदालतले सामाजिक सञ्जालमा आएको विवरण शेयर गर्ने कंगोका केही जवानलाई पनि नसियत दिएको स्रोतको भनाइ छ । अदालतको आदेशलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै सदर गरेका छन् ।

सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदलत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था छ । सैनिक आचारसंहिताले संगठनलाई आक्षेप लाग्ने विषयमा लाइक, कमेन्ट गर्न पनि निषेध गरेको छ ।

कंगोको घटना सार्वजनिक भएलगत्तै सैनिक सूचना तथा जनसम्पर्क निर्देशक सहायक रथी सन्तोष बल्लभ पौडेलले प्रेस विज्ञप्ति जारी गरेर प्रकरणमा संलग्न सबैलाई कसूर अनुसारको कारबाही हुने बताएका थिए ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?