Comments Add Comment

गुगलले निलम्बन गरिदियो डोनाल्ड ट्रम्पको युट्युब च्यानल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाउने सोसल मिडियाको सूचिमा युट्युब पनि थपिएको छ ।

गुगल स्वामित्वको युट्युबले डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई ७ दिनका लागि निलम्बन गरेको छ । जसका कारण अब ट्रम्पको युट्युब च्यानलमा नयाँ भिडियो अपलोड गर्न तथा लाइभ स्ट्रिम गर्न पाइने छैन । तत्कालका लागि ७ दिनको निलम्बन घोषणा गरिएको भएपनि समयावधि लम्बिन सक्ने र ट्रम्पको युट्युब च्यानलमाथि स्थायी रुपमै प्रतिबन्ध लाग्नसक्ने बताइएको छ ।

हिंसा भड्काउनका लागि ट्रम्पको युट्युब च्यानलले सहयोग गरेको र यसले युट्युबको नीति उल्लंघन गरेको ठहर गुगलको छ ।

ट्रम्पले मंगलबार मात्र आफ्नो युट्युब च्यानलमा विभिन्न भिडियोहरु अपलोड गरेका छन् र त्यसमध्ये केही भिडियोहरु आपत्तिजनक रहेको युट्युबले जनाएको छ ।

प्रतिबन्ध लगाइएका ट्रम्पका भिडियोहरुमा कस्ता कस्ता सामाग्रीहरु थिए भन्ने चाहीँ गुगलले खुलाएको छैन ।

युट्युबमा संगठित रुपमा विज्ञापन बहिस्कार गर्ने अधिकारवादी समूहहरुले चेतावनी दिएको केही घण्टामै गुगलले ट्रम्पको युट्युब च्यानल निलम्बन गर्ने निर्णय गरेको हो ।

गतवर्ष फेसबुक विरुद्ध यस्तै खालको अभियान सञ्चालन गरेका कतिपय अभियन्ताहरुले चाहीँ ट्रम्पको च्यानल सधैका लागि बन्द गरिदिन आग्रह गरेका छन् ।

गुगलले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘हिंसाको सम्भावित खतराको परिप्रेक्ष्यमा गहन समीक्षा पश्चात् डोनाल्ड ट्रम्पको च्यानलमा अपलोड भएका नयाँ सामाग्रीहरु हटाइएको छ ।’

यसअघि फेसबुक र इन्स्टाग्रामले डोनाल्ड ट्रम्पका अकाउन्ट निलम्बन गरिसकेका छन् भने ट्वीटरले एक कदम अगाडि बढ्दै उनको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएको छ ।

त्यस्तै अमेजनको ट्विचले पनि ट्रम्पको अकाउन्ट निस्क्रिय पारिदिएको छ र स्नापच्याटले पनि अकाउन्ट लक गरिदिएको छ । त्यसका साथै शपिफाइ, पिन्टेरेस्ट, टिकटक र रेडिटले समेत ट्रम्पका अकाउन्टमाथि कडाइ गरेका छन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment