+
+
Shares

ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २ गते ११:०७

२ माघ, काठमाडौं । ऋण लगानीमा ‘क’ वर्गका (वाणिज्य) बैंक भन्दा ‘ख’ वर्गका (विकास) बैंक आक्रामक देखिएका छन् । नेपाल राष्ट्र बैंकको मर्जरको नीतिपछि विकास बैंकहरुको संख्या निरन्तर घट्दो क्रममा छन् ।

पछिल्लो एक वर्षकै अवधिमा पनि विकास बैंकहरुको संख्या १९ मा झरेको छ । धेरै विकास बैंकहरु विलय भए पनि सञ्चालनमा रहेकाले कारोबार विस्तारमा भने आक्रामक उपस्थिति देखाएका छन् ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षको मंसिर मसान्तको तुलनामा चालु आर्थिक वर्षको मंसिर मसान्तमा विकास बैंकहरुले कर्जा लगानी ९ प्रतिशतले बढाएका छन् । जुन वाणिज्य बैंकहरु भन्दा बढी हो । कोरोनाले निकै अप्ठेरो अवस्था सिर्जना हुँदा पनि वाणिज्य बैंक भन्दा तुलनात्मक हिसाबले विकास बैंकले कर्जा लगानी बढाएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.२ प्रतिशतले बढेको थियो । वाषिर्क बिन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२.९ प्रतिशतले बढेको छ ।

लगानी भएको निजी क्षेत्रतर्फको कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.० प्रतिशतले वृद्धि भएको प्रवक्ता भट्टले बताए । जबकी यहिँ अवधिमा विकास बैंकहरुको कर्जा प्रवाह ९.० प्रतिशतले बढेको छ ।

कर्जा लगानीमा विकास बैंक आक्रामक नै देखिए पनि ‘ग’ वर्गका (वित्त) कम्पनीहरु कमजोर देखिएका छन् । प्रवक्ता भट्टका अनुसार यस अवधिमा वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले मात्रै बढेको छ ।

कृषिमा बढ्यो लगानी

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ९.९ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.६ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ३४.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १.६ प्रतिशतले बढेको छ भनेहायर पर्चेज कर्जा ३.३ प्रतिशतले घटेको छ ।

अधिकांश कर्जा घरजग्गा धितोमा

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा नडुबोस र ऋण लिनेलाई तिर्नै पर्छ भन्ने महशुस होस भनेर धितो सुरक्षण गरेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न प्रकारका सम्पत्ति धितोमा राखेर ऋण दिने गरेका छन् ।

तर सबैभन्दा ठूलो हिस्सा घरजग्गा धिताकै देखिएको छ । राष्ट्र बैंकका अनुसार २०७७ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा रहेको छ ।

१२.१ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । २०७६ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.७ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?