
२ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको बीचमा बाँकी ठाउँमा रहेका विवाद समाधान गर्न नेपालले सकेसम्म छिटो वार्ताको प्रक्रिया सुरु गर्न चाहेको बताएका छन् ।
एक थिंक ट्याङले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले भने,‘तपाईंहरु सबै जानकार हुनुहुन्छ नेपाल र भारतको बीचको १८,०० किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमाको संयुक्त मापन गरेका हौं । केही किलोमिटर सीमामा कामहरु बाँकी रहेका छन् ।’
उनले अगाडि भने,‘बाँकी खण्डमा एक सहमतिमा पुग्दा यसले हामीलाई अन्तर्राष्ट्रिय सीमालाई पूर्ण रुपमा समाधान भएको अवस्थामा मात्र पुर्याउँदैन, यसले सर्वसाधारणको भावनामा सकारात्मक भाव उत्पन्न गर्छ र दुई पक्षीय सम्बन्धमा विश्वासको वातावरण बनाउँछ ।’ उनले भने,‘मलाई पूर्ण रुपमा विश्वास छ, हामी त्यो चरणमा पुग्ने छौं ।’
मन्त्री ज्ञवालीले सीमा समस्यालाई वार्ताद्धारा समाधान गर्न दुवै पक्ष सहमत भएको समेत दाबी गरेका छन् ।
उनले भने,‘हामी के कुरामा यादगर छौं भने कुनै पनि महत्वपूर्ण विषयलाई सधैंका लागि राख्नु हुन्न जसले दुई पक्षीय सम्बन्धमा जहिले पनि समस्या सिर्जना गरोस् ।’ सो कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन दुवै पक्षलाई स्वीकार हुनुपर्ने र सकेसम्म छिटो कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।
प्रतिक्रिया 4