Comments Add Comment

रेनु दाहालले भनिन्– केपी ओलीबाट राजनैतिक हिंसा भयो

९ माघ, काठमाडौं । भरतपुर महानगरकी मेयर रेनु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो परिवारप्रति पटकपटक व्यक्तिगत प्रहार गरी राजनैतिक हिंसा गरेको आरोप लगाएकी छिन् । बिहीबार प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरी–ज्वाइँका लागि मात्रै काम गरेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीले बोलेको अनलाइनखबरमा प्रकाशित समाचारमा प्रतिक्रिया लेख्दै मेयर दाहालले गम्भीर आपत्ति जनाएकी छिन् । आफ्ना चाहानाहरु सबै त्यागेर जनताको हितमा लडेको भन्दै उनले लेखेकी छिन्, ‘व्यक्तिगत स्वार्थमा कहिल्यै लागिएन, सेवामा समर्पित हुनु कमजोरी हो ? नकी अरुको जस्तो बाले राजनीति गर्ने र छोराछोरीले फाइदा लिएर लुट्नु पर्ने हो ?’

उनले बरु प्रधानमन्त्रीले आफ्ना गुटका आसेपासेहरुलाई भन्दा अरुका लागि केही नगरेको आरोप लगाएकी छन् । ‘तपाईंले जन्माएका छोराछोरी छैनन् भन्दैमा फेरि तपाईंले के आफ्नो गुट आसेपासे र साइबर सेनामा भर्ति भएकालाई भन्दा बढ्ता कसलाई के गर्नु भएको छ ? अति भो महाराज,’ उनले लेखेकी छिन् ।

उनले मत्रपत्र च्यातेर मेयर बनेको भनाइप्रति पनि आपत्ति जनाएकी छिन् । २९ वटा वडामध्ये एउटा वडामा मात्रै त्यस्तो घटना घटेको त्यो दुर्घटनाले आफूलाई दुखित बनाएको भन्दै उनले आफूले २९ वटै वडाका जनताको अभिमतले जितेको बताएकी छिन् ।

प्रधानमन्त्रीले चाहिँ ३ करोड जनताको मत च्यातेर संविधान भन्दा आफू माथि ठानेको आरोप समेत उनले लगाएकी छन् । उनले लेखेकी छन्, ‘आफू ३ करोड नेपाली जनताको मत च्यातचुत गर्ने र तानाशाही शासक बन्दै संबिधान कानुनभन्दा माथि ठान्ने यो के हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment