९ माघ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक आयोजना गरेको महिला डबल राउण्ड रोविन लिग खेल्न चार अफ्रिकन खेलाडी नेपाल आएका छन् ।
बुधबारदेखि सुरु भएको लिगमा स्याङ्जाको वालिङ नगरपालिकाले अफ्रिकन राष्ट्र क्यामरुनका चार खेलाडी अनुबन्ध गरेको थियो । चार खेलाडी बिहीबार बेलुका नेपाल आइपुगेका हुन् ।
विदेशी फुटबलरको एजेन्टको रुपमा काम गर्दै आएका सगुन तन्डुकारले उनीहरु नेपाल आइपुगेको पुष्टि गरे । ‘क्यामरुनमा चार खेलाडी लिग खेल्न बिहीबार आइपुगेका छन् । नेपालमा महिला लिग खेल्न पहिलो पटक क्यामरुनका खेलाडी आएका हुन्,’ तन्डुकारले अनलाइनखबरसँग भने ।
महिला राष्ट्रिय लिगमा तीन विभागीय टोली र छनोट प्रतियोगिताबाट आएका ४ नगरपालिका/महानगरपालिका गरी कूल ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका लागि विभागीय बाहेकका टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार टिमले विदेशी खेलाडी भित्र्याउन थालेका छन् । जसमा वालिङले क्यामरुनबाट चार जना अनुबन्ध गर्दा विराटनगर महानगरपालिकाले भारतका चार खेलाडी अनुबन्ध गरेको छ ।
वालिङमा अनुबन्ध भएका चार खेलाडीले क्यामरुनको उमेर समूहबाट खेलिसकेका तन्डुकारले बताए । ‘उनीहरुले आफ्नो देशको यू-२० बाट खेलिसकेका छन् । अब राष्ट्रिय टिममा खेल्न बाँकी छ,’ तन्डुकारले भने ।
क्यामरुनबाट मेथो एलेदिइ रुथ, केओमेग्ने डिजोमो भेनेस्सा नाइले, डिजोउब्बी सेलिने डायने, टोउटा ओर्मेला एभान्के नेपाल आएका छन् । यसअघि शहीद स्मारक ए डिभिजन लिग खेल्न अफ्रिकाका विभिन्न राष्ट्रहरुबाट पुरुष खेलाडी नेपाल आए पनि महिला खेलाडी भने पहिलो पटक आएका हुन् ।
लिगमा वालिङले बिहीबार आफ्नो पहिलो खेलमा विराटनगर महानगरपालिकासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
वालिङ नगरपालिकाका मेयरले विदेशी खेलाडी राख्न पाउने जानकारी गराएपछि आफूले क्यामरुनमा कुरा गरेर खेलाडी अनुबन्ध लागि काम गरेको तन्डुकारले बताए । अन्य टिमले पनि विदेशी खेलाडीका लागि आफूलाई भने पनि सबैले खर्च गर्न नसकेको उनले बताए ।
प्रतिक्रिया 4