Comments Add Comment

पोखरा वन क्याम्पसबाटै वन्यजन्तुको अंग चोरी

वाइल्डलाइफ र जुलोजी ल्याबमा थिएन सीसी क्यामरा

११ माघ, पोखरा । पोखरा-१५ हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थानका पहेरेदारले शनिबार बिहानै प्रयोगशालाको मूलगेटको ताला फोडिएको देखे ।

गेट नजिकै क्याम्पस प्रमुखले नै चढ्ने गाडीमा प्रयोग गर्न राखिएको औजार फेला पर्‍यो । सुरक्षाकर्मीले क्याम्पसमा जानकारी गराए । क्याम्पस प्रशासनले प्रहरीलाई जानकारी गरायो । क्याम्पस प्रशासनकै रोहबरमा प्रहरीले जाँच गर्दा प्रयोगशालाबाट वन्यजन्तुका बहुमूल्य अंग नै चोरी भएको पाइएको छ ।

बाघ तथा चितुवाको छाला ६ थान, चितुवाको टाउको, दाँत, हण्डी, २ थान मृगको सिङ, १ थान छाला, बदेलको टाउको, हड्डी लगायत वन्यजन्तुका बहुमूल्य सामान चोरी भएको हो ।

१ हजार ३५० रोपनी क्षेत्रफलमा संस्थानको वन फैलिएको छ । १ सय ७६ रोपनीमा क्याम्पसका विभिन्न भवन निर्माण भएका छन् । संस्थानको मूलगेटमा सीसी क्यामरा जडान गरिएको छ । क्याम्पसको होस्टेलमा २ सय ५० विद्यार्थी बसिरहेका छन् । आवासमा अन्य कर्मचारी पनि बस्दै आएका छन् ।

क्याम्पसका गेटसँगै अन्य ठाउँमा घुमुवा सुरक्षाकर्मीसमेत रहेको अवस्थामा प्रयोगशालाबाट कसरी वन्यजन्तुका अंग कसरी चोरी भयो भन्ने विषयले सबैलाई आश्चर्यमा पारेको छ । त्यसमा पनि प्रमुखले नै चढ्ने गाडीमा भएको औजार प्रयोग हुनु क्याम्पसभित्रैबाट कसैको संलग्नता हुन सक्ने आशंकालाई बल पुर्‍याएको छ ।

अध्ययनका लागि राखिएको वन्यजन्तुका बहुमूल्य अंगहरु २ तले प्रयोगशाला भवनबाट चोरी अन्तर्राष्ट्रिय गिरोहको समेत संलग्नता हुन सक्ने अनुमान गरिएको छ । ‘क्याम्पसमा सिसी क्यामरा जडान गरिएको भए पनि यसले सबै भवनलाई कैद गर्न सक्दैन,’ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस प्रमुख विनोद हेज्यूले भने, ‘आइटी ल्याबमा धेरै बहुमूल्य सामान भएकाले सीसी क्यामरा जडान गरिएको छ । तर, वाइल्डलाइफ र जुलोजी ल्याबमा सीसी क्यामरा जडान थिएन ।’

संस्थानमा शुक्रबार राति नै चोरी भएको र शनिबार बिहानमात्र थाहा लागेको क्याम्पस प्रशासनले जनाएको छ । वन्यजन्तुको अंग ओसारपसारमा अनुभवी गिरोहकै सेटिङ हुन सक्ने आशंका गरिएको छ । ‘शंकाका घेरामा विद्यार्थी, कर्मचारी र प्राध्यापकसम्म परे । ककसको संलग्नता छ भन्ने अनुसन्धानबाटै पत्ता लाग्ला,’ क्याम्पस प्रमुख हेज्यूले भने, ‘बिदाको अघिल्लो रातमै वन्यजन्तुको अंग चोरी हुनुमा क्याम्पसभित्रैबाट जो कोहीको पनि संलग्नता हुन सक्ने देखिन्छ ।’

क्याम्पसमा अहिले बिएस्सी फरेस्टीमा ४ सय र एमएस्सीमा ६५ जना विद्यार्थी छन् । त्यसमध्ये २ सय ५० जना जति विद्यार्थी क्याम्पसभित्रै होस्टेलमा बस्दै आएका छन् । डेढ महिनादेखि क्याम्पसका भवन र प्रयोगशाला सरसफाइका लागि निजी कम्पनीलाई जिम्मासमेत दिइएको थियो ।
‘पूर्व विद्यार्थी र कर्मचारी, संस्थानभित्रैका विद्यार्थी र सुरक्षाकर्मी जो कोहीले सघाएको हुन सक्छ । तर, तस्करीमा ठूलै गिरोह संलग्न हुन सक्ने देखियो,’ क्याम्पसकै एक प्राध्यापकले भने, ‘कहाँ सिसी क्यामरा छ, कहाँ कुन सामान छ र कहाँबाट त्यहाँसम्म पुग्ने भन्ने कुराको ज्ञान बाहिरको मानिसलाई हुँदैन ।’

प्रहरीले शंकाको घेरामा परेका व्यक्तिहरुलाई बोलाएर वयान तथा कागज गराइरहेको र अनुसन्धानका अन्य संयन्त्रसँग पनि सहकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कार्यालयका कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । ‘जानकारी लगत्तै अनुसन्धानमा खटियौं र ८ जनालाई उही दिन कागज गराएका छौं,’ डीएसपी हमालले भने, ‘यो क्रम अहिले पनि जारी छ ।’ अहिलेसम्मको अनुसन्धानले क्याम्पसभित्रैबाट चोरी भएको वा सूचना दिएको हुन सक्ने देखिएको प्रवक्ता हमालले बताए ।

वन्यजन्तुको अंग बहुमूल्य हुने र त्यसको ओसारपसारसमेत अन्तर्राष्ट्रिय कानुनमै बर्जित मानिन्छ । वन्यजन्तु तथा जीव विज्ञानको अध्ययनकै लागि भनेर संरक्षित क्षेत्र वा निकुञ्जमा मरेका त्यस्ता वन्यजन्तुको अंग क्याम्पसमा ल्याइएको हुन्छ ।

अध्ययनका लागि राखिएको क्याम्पसको प्रयोगशालाबाटै वन्यजन्तुको अंग चोरी हुन गम्भीर विषय हो । वन क्याम्पसको क्षेत्रफल र वनसमेत ठूलो भएकाले त्यही बाटो प्रयोग गरेर चोरी भएको हुन सक्ने अनुमान गरिएको छ । वन्यजन्तुको बहुमूल्य अंगको तस्करीमा अन्तर्राष्ट्रिया सञ्जाल नै सक्रिय रहेको विभिन्न अध्ययनहरुले देखाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment