
१२ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान रहेको टिप्पणी गरेका छन् । संसद विघटनको विषयलाई लिएर प्रधानमन्त्री ओलीले दिने गरेका अभिव्यक्तिलाई लिएर थापाले व्यंग्यात्मक शैलीमा सो टिप्पणी गरेका हुन् ।
सोमबार संवैधानिक इजलासमा बहस गर्दै उनले भने, ‘संविधान एउटै हो, श्रीमानहरूले बोकेको, हामीले बोकेको । तर त्यो संविधानले बेला–बेलामा बोली फेर्न भएन ।’
उनले अगाडि भने, ‘श्रीमानहरूले संविधान पल्टाएर यत्रो जिज्ञासा राख्नुभएको छ । संविधान त्यही हो । प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा अध्यक्ष (सुवास नेम्वाङ) सँग अर्को संविधान छ ।’
संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था संविधानमा राखेको सार्वजनिक अभिव्यक्ति दिएका थिए भने प्रधानमन्त्री ओलीले गत पुस ५ को संसद विघटन संविधानअनुसार नै भएको दाबी गर्दै आएका छन् ।
वरिष्ठ अधिवक्ता थापाले विगतको संविधानसभामा रहेका न्यायाधीश सपना प्रधान मल्ल, महान्यायाधिवक्ता अग्नि खरेल र नेता सुवास नेम्वाङमाथि पनि प्रश्न उठाए । ‘पदमा जाने, पदमा गएर बोलेर हामीलाई लिड गर्ने अनि पछि बोली फेर्न पाइँदैन नि,’ थापाले भने ।
थापाले बहस गर्दैगर्दा खाजाका लागि इजलास स्थगित गरिएको छ ।
संसद विघटनविरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।
प्रतिक्रिया 4