Comments Add Comment
नागरिक मार्चमा सहभागी पन्त भन्छन् :

प्रहरी दमनको जति भर्त्सना गरेपनि कम हुन्छ

१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गर्‍यो । बृहत नागरिक आन्दोलनको आह्वानमा जम्मा भएका नागरिकहरुलाई प्रहरीले लाठी र पानीको पोहोरा हान्यो ।

नागरिक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका नेता रघुजी पन्तलाई पनि पटकपटक पानीको पोहोरा लाग्यो । पन्त भन्छन्, आज शान्तिपूर्ण प्रदर्शनमा जसरी प्रहरी दमन भयो, यो अलोकतान्त्रिक छ । यसको जतिसुकै भर्त्सना र आलोचना गरेपनि कम हुन्छ ।’

उनले प्रहरी दमनविरुद्ध सडकमा उत्रन आह्वान समेत गरे । ‘असंवैधानिक प्रतिनिधिसभा विघटनको सडकमा आउनु बाहेक अर्को विकल्प छैन’ उनले भने, ‘सबै साथीहरु नागरिक आन्दोलनलाई साथ दिन उत्रनुहोस् । मुलतः संविधानको रक्षाका लागि आम नागरिकहरु सडकमा आउन आग्रह गर्छु ।’

पन्तको भनाइ उनकै शब्दमाः

म आज नागरिक अगुवाहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन प्रदर्शनमा सहभागी भएको थिएँ । म एउटा नागरिक, एउटा लेखक, हिजो एउटा पत्रकार, हिजो २०३५/०३६ सालको प्रगतिशील लेखक संघको संयोजक र नेपाल पत्रकार महासंघको महासचिव भइसकेको हैसियतमा नागरिकहरुको प्रदर्शनमा ऐक्यबद्धता जनाउन गएको हुँ ।

बालुवाटारभन्दा अलिक यता कार्यक्रम भइरहेको थियो । नागरिकहरुको प्रदर्शनको म पछाडि थिएँ । कार्यक्रम सकिएपछि उहाँ (नागरिक अगुवा) हरुले भन्नुभयो, हामी गिरफ्तार दिन्छौं, तपाईँले पनि गिरफ्तारी दिदाँ राम्रो हुन्छ । त्यसपछि म पनि (गिरफ्तारी) दिन्छु नि भनेर अगाडि गएको थिएँ ।

प्रहरीले राखेको बाहिरी गेट हटाएर हामीलाई गिरफ्तार गर भनेर अगाडि जाँदै थियो । शान्तिपूर्ण रुपमा त्यसरी जानेहरु निहथ्या र कलमजीवी हुनुहुन्थ्यो । बुद्धिजिवी, लेखक, पत्रकार, इन्जिनियर र लेखकहरु हुनुहुन्थ्यो । त्यसरी जाँदाखेरी पक्रदै भ्यानमा हालेर लगेको भए भइहाल्थ्यो ।

तर, त्यहाँ त लात्ताले हान्न थालियो, लाठीले हान्न थालियो । मेरै अगाडि केही प्राध्यापक साथी घाइते हुनुभयो । मेरो अगाडि एउटा कलाकार भाइ चार पाँच लाठी लागेर लड्नुभयो । त्यसपछि त लात्ताले पनि हानेको छ, लठ्ठीले पनि हानेको छ । त्यो सव देखेपछि सहन सक्नै कुरै भएन, दमनको प्रतिरोध भयो ।

म त आफैं पनि बिरामी मान्छे थिएँ । तैपनि एउटा शान्तिपूर्ण आन्दोलनमा ऐक्यवद्धता जनाउन गएको थिएँ । तर आज प्रहरीको क्रुर दमनमा परियो । चिसो पानीको फोहोराले तीन–चार चोटी हान्यो ।

तर हामीले प्रतिरोध जारी राख्यौं । कार्यक्रम सकिएपछि भने मलाई गाह्रो भयो । अलि अप्ठ्यारो भएपछि साथीहरुले ट्याक्सी खोजेर अस्पताल लैजान खोज्दै थिएँ । मैले चाहिँ सक्छु भनेर घरै जान्छु भनेर आएँ ।

त्यहाँ रमेश भट्टराई घाइते भएर अस्पताल पुगेको सुनेँ । केही पनि केही साथीहरु घाइते हुनुभएको छ ।

आज शान्तिपूर्ण प्रदर्शनमा जसरी प्रहरी दमन भयो, यो अलोकतान्त्रिक छ । नागरिकहरुको शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने अधिकार विरुद्धमा छ । यसको जतिसुकै भत्र्सना र आलोचना गरेपनि कम हुन्छ ।

मेरो आग्रह छ, यो दमनको विरुद्धमा देशभरका लेखक र कलाकारहरुले सवै ठाउँमा, जहाँजहाँ संभव हुन्छ, त्यहाँत्यहाँ बुद्धिजिवी, लेखक, प्राध्यापक, कलाकार, इन्जिनियरहरुले सडकमा उत्रनुपर्छ । असंवैधानिक प्रतिनिधिसभा विघटनको सडकमा आउनु बाहेक अब कुनैपनि विकल्प छैन । सवै साथीहरु नागरिक आन्दोलनलाई, राजनीतिक आन्दोलनलाई साथ दिन उत्रनुहोस् । नागरिक अगुवाहरुले आज पनि त्यहाँ दलहरुको पनि आलोचना गर्नुभएको छ । मुलतः संविधानको रक्षाका लागि आम नागरिकहरु सडकमा आउन आग्रह गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment