Comments Add Comment

पीसीआर मेसिन खरिद गर्दै प्रदेश १ सरकार

कोशी अस्पतालमा कोरोना परीक्षण गरिँदै ।

१५ माघ, विराटनगर । कोभिड–१९ विरुद्ध खोप ल्याउनुपर्ने बेलामा प्रदेश १ सरकारले कोरोना जाँच गर्ने पीसीआर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अटोमेटिक आरटी पीसीआर मेसिन खरिदको प्रक्रिया सुरु गरेको हो । लगभग दुई करोड ५० लाख रुपैयाँमा मेसिन खरिदका लागि माघ ११ गते टेण्डर आह्वान गरिएको छ ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामै चारवटा पीसीआर मेसिन छन्, जसमध्ये एउटा मात्र सञ्चालनमा छ । दुईवटा पोर्टेबल मेसिन थन्किएका छन् । स्वीस सरकारबाट अनुदानमा आएको रोस कम्पनीको मेसिन रिएजेन्ट किट नभएर प्रयोगविहीन छ ।

तर प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कोरोना जाँचका लागि एउटा मात्र मेसिन सञ्चालन गरेको छ ।

प्रदेश १ मै कोशी अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मेची अस्पताल झापा, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिन छन् । विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र न्यूरो अस्पतालमा पनि पीसीआर मेसिन सञ्चालनमा छन् । हिजोआज परीक्षणका लागि पर्याप्त स्वाब नआउँदा ल्याबहरु पूर्ण क्षमतामा पनि चलेका छैनन् ।

तर प्रदेश जनस्वास्थ्य प्रयोगशालाले भने नयाँ पीसीआर मेसिन खरिद गर्ने तयारी गरेको छ । ‘प्रदेश १ प्रयोगशालामा दुई वटा चाइनिज र एउटा रोस कम्पनीको मेसिन प्रयोगविहीन छ । बिग्रिएको हो भने मर्मतका लागि दुई वर्षको वारेन्टी हुन्छ’ स्रोतले भन्यो, ‘तर फेरि सोही प्रकृतिको मेसिन खरिद गर्नु गलत हो ।’

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी प्रकाश कार्कीले आधुनिक प्रविधिको अटोमेटिक आरटी पीसीआर मेसिन खरिदको प्रक्रिया सुरु गरिएको बताए । उनकाअनुसार यो मेसिनमा कोरोना मात्र नभई अन्य रोगको पनि जाँच हुन्छ । ‘खरिद गर्न खोजेको मेसिन अटोमेटिक हो । स्वाब हालेपछि एकै पटक रिपोर्ट आउँछ’ उनले भने ‘अन्य रोगको पनि जाँच गर्न सकिन्छ ।’

प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले चालु आर्थिक वर्षको बजेटमा बजेट छुट्याइएकाले मेसिन खरिदका लागि प्रक्रिया सुरु गरेको जानकारी दिए । उनका अनुसार प्रदेश १ प्रयोगशालाको नयाँ संरचना पनि बनिरहेकाले अन्य परीक्षण पनि गर्न मिल्ने खालको मेसिन खरिद गर्न लागिएको हो ।

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि मेसिनरी उपकरण खरिदका लागि चालू आर्थिक वर्षमा ४ करोड १३ लाख ९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment