+
+

ओलीले अगतिला कुरामात्रै जानेका छन् : माधव नेपाल

टोपराज शर्मा टोपराज शर्मा
२०७७ माघ १५ गते १७:३९

१५ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी असफल हुने बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहले बुटवलमा गरेको विरोध सभामा नेता नेपालले २०६२/६३ सालको आन्दोलन चलिरहँदा ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भनेर गरेको भविष्यवाणी असफल भएको स्मरण गरे ।

‘१५ वर्षअघि २०६२–६३ को आन्दोलनका बेला पनि ओलीले गरेको बयलगाडाको भविष्यवाणी असफल भएको थियो’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘उहाँले समयको गति र प्रवाह बुझ्न सक्नुहुन्न, उहाँ समयको पछि लतारिने मान्छे हो, त्यसैले अहिले वैशाखको चुनावको भविष्यवाणी पनि असफल हुन्छ ।’

केपी ओलीले कहिल्यैपनि न्यायपूर्ण आन्दोलनको नेतृत्व नगरेको उल्लेख गर्दै नेता नेपालले ओली सधैं पछाडि बसेर अरुको कुरा काट्ने, बदख्वाँई गर्ने र खुट्टा तान्ने गरेको आरोप लगाए । आफूहरुले राम्रो काम गर्नुस्, कम बोल्नुस् भनेको तर ओलीले नमानेको उनले बताए ।

‘हामीले हात समाएर हिँडाउन खोजेको थचक्क बस्नुहुन्छ अनि खाली बकबक गर्नुहुन्छ, अगतिला कुरा मात्रै बोल्न जान्नुभएको छ’ नेपालले भने, ‘उहाँलाई रिस उठ्यो पत्रकार, वकिललाई गाली गर्‍यो ।’

ओलीको पक्षमा लागेका नेताहरुलाई लक्षित गर्दै उनले ओलीको जालझेलमा परेकालाई आफ्नो पक्षमा आउन आग्रह गरे ।

‘निर्वाचन आयोग ४ सय ४१ जनाको केन्द्रीय समितिलाई मान्यता दिएको छ, बहुमत केन्द्रीय सदस्य हामीतिरै छन्’ नेपालले भने, ‘साथीहरु ओलीको जालझेलमा पर्नुभएको छ, बाटो बिराउनुभएको छ, खुरुक्क पार्टीमा आउनुस्, तपाईंहरुलाई स्वागत छ ।’

ओलीमा दृष्टिकोणकै ठूला दोष रहेको उल्लेख गर्दै उनले नवौं महाधिवेशनमा पनि जालझेल गरेर जितेका आरोप लगाए । ओलीमा झुठ बोल्न अलिकति पनि लाज नमान्ने र अरुलाई घोचपेच गर्दा रमाउने आदत रहेको नेता नेपालको आरोप थियो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?