Comments Add Comment

सोझा जनता, लम्पट कार्यकर्ता र भ्रष्ट नेता­­

आलोचना र निन्दाबीचको फरक सूक्ष्म हुन्छ । आलोचनामा करुणा हुन्छ । निन्दामा घृणा र अहंकार । आलोचना सतमार्गमा हिँडाउनका लागि हुन्छ भने निन्दा दबाउनका लागि । आलोचनामा सुध्रियोस् भन्ने हुन्छ भने निन्दामा अर्काको आत्मालाई चोट पुगोस् । पापको विरोध गर्नु आलोचना हो भने पापीको विरोध गर्नु निन्दा ।

यो लेखमा नेताको प्रवृत्तिको आलोचना गर्न खोजिएको छ, न कि नेताको विरोध ।

सुरु गरौं अलि फरक प्रसंगबाट ।

एडमन बर्क अठारौं शताब्दीका यूरोपका एक महान दार्शनिक थिए । उनी नियमित चर्चमा जाने गर्दथे । पादरीले एक दिन प्रवचनमा भने जसको पुण्य आत्मा छ र परमेश्वरमा विश्वास गर्दछ, ऊ स्वर्ग जान्छ ।

एडमनले प्रश्न गरे- मानौं कसैको पुण्य आत्मामात्र छ, तर परमेश्वरमा विश्वास गर्दैन भने के ऊ स्वर्ग जान सक्दछ ? वा कुनै मानिसको पुण्य आत्मा छैन, तर परमेश्वरमा विश्वास गर्दछ भने के ऊ स्वर्ग जान सक्दछ ?

पादरीले मनमनै सोचे पुण्य आत्मा मात्रै हुँदा पनि स्वर्ग जान सकिने भए परमेश्वरमा किन विश्वास गर्नुपर्‍यो ? वा परमेश्वरलाई मात्र विश्वास गरे पनि स्वर्ग जान पाइने भए पुण्य आत्मा नै किन चाहियो भनेर सोधे भने के भन्ने ? पादरी अक्क न बक्क भए । पादरीले भने- प्रश्न गहिरो छ । तिमीले मलाई अप्ठ्यारोमा पार्‍यौ । अहिले म जवाफ दिन सक्दिनँ । सोचविचार गर्नुपर्छ । भोलि जवाफ दिउँला ।

पादरी रातभर सोचविचारमा रहे । छटपटाए । तर, उत्तर भेटेनन् । बिहानीपख निदाएछन् । सपनामा हिँड्दै रेल स्टेसनमा पुगे । एउटा रेल आएर टक्क अडियो । यो रेल कहाँ जान्छ भन्दै उनले सोधे । एउटा यात्रुले स्वर्ग जान्छ भने । ल, राम्रै भो­ भन्दै उनी रेलमा चढे ।

गौतम बुद्ध र सुकरात दुबैको पुण्य आत्मा थियो । तर, दुबैले ईश्वरलाई मान्दैन थिए । यी स्वर्गमा छन् कि नर्कमा भन्दै सोचे । यिनीहरू स्वर्गमा भेटिए पुण्य आत्मा मात्रै भए पनि स्वर्ग जान सकिन्छ, यदि नभेटिए पुण्य आत्मा मात्र भएर स्वर्ग जान नसकिने प्रष्ट हुने भयो भन्दै उनी ढुक्क भएर स्वर्ग पुगिने पर्खार्इमा रेलमा बसे ।

स्वर्गको स्टेसनमा रेल रोकियो । पादरी ओर्लिए । स्वर्गमा उराठलाग्दो निरस वातारण देखेर उनी तीनछक्क परे । स्वर्ग कि नर्क हो भन्दै तिल्मिलाए । बाटो छेउमा एउटा साइनबोर्डले एकातिर इसारा गरेको देखे । छेउमा गएर धुलो पुछे । स्वर्ग खोपेर लेखेको र एरोले देखाएको हेरे । कतै संकेत दिन त गल्ती भएको हैन भन्दै एकछिन घोरिए । किंकर्तब्यविमुढ भए । दोधार हुँदै अगाडि बढे । एउटा गाउँमा पुगे । झनै अस्तव्यस्त देखे । उजाड गाउँका मलीन अनुहार लगाएर बसेका गाउँलेलाई सोधें- गौतम बुद्ध र सुकरात कता बस्नुहुन्छ ? खै हामीले त उनीहरूलाई चिनेको छैन, ओठ लोप्राउँदै भने । पादरीले अचम्म मान्दै यहाँ कस्ता मान्छे बस्छन् त भनेरे सोधे । यहाँ ठग नेता, कालोबजारिया, घुस्याहा कर्मचारी र हामीजस्ता मुङ्ग्रे, झोले कार्यकर्ता, चोर-फटाहा लगायत धर्म तथा ईश्वरका नाममा ठगी गर्ने पादरी, पण्डित आदि यहाँ भेटिन्छौं । तपाईंले भने अनुसारको हो भने बुद्ध र सुकरात बरू नर्कमा भेटिएलान् । दुःखी मनुवाले भने ।

पादरी रेल स्टेसनमा फर्किए । नर्क जाने रेल टक्क आइपुग्यो, उनी रेलमा चढे । अरू यात्रीसँगै उनी पनि नर्कमा ओर्लिए । मनमोहक दृश्य, मनोरमस्थल देखेर उनी चकित भए । मानौं कुनै महोत्सवमा प्रवेश गरेजस्तै । स्वच्छ हराभरा, जीवन्त जीवन देखेर पादरी ताजुब भए । हे भगवान ! म कहाँ आइपुगें भन्दै कौतुहल पोखे । सुखी जिन्दगी बाँचेका मानिसलाई नर्कमा देखेर अच्चम्म भए । पादरीले सोचे, यो नर्क हुनै सक्दैन । पक्कै पनि साइनबोर्डमा लेखेको गल्ती हुनुपर्छ उनले सोचे । के बुद्ध र सुकरातलाई यहाँ भेट्न सकिन्छ भन्दै पादरीले सोधे । प्रफुल्लित मुद्रामा स्थानीयले अवश्य भन्दै जवाफ दिए । उनीहरू यहाँ आएपछि यो ठाउँ सुन्दर भएको हो- गाउँलेले भने ।

पादरी झलास्स बिउँझिए । गजबको सपना देखेकोमा आश्चर्यचकित भए । नुवाइधुवाइ गरे । चर्चमा गए । भक्तहरू उनलाई कुरिरहेका थिए । पादरीले एडमण्डतिर र्फकंदै भने । तिम्रो प्रश्नको उत्तर त मैले पाइनँ । तर, गएको राति एउटा गज्जबको सपना देखेँ । त्यसबाट म के निष्कर्षमा पुगें भने पुण्य आत्मा भएका मानिस जहाँ पुगे पनि त्यो ठाउँ स्वर्ग बन्दछ । पापी आत्मा भएका मानिस जस्तोसुकै स्वर्गमा पुगे पनि त्यो नर्क बन्दछ ।

खराब मानिस जहाँ जाँदा नर्क लिएर गएकाले नर्क भएको हैन । त्यस्तै असल मानिस जहाँकहीँ जाँदा आफैसँग स्वर्गको टुक्रा बोकेर गएकाले स्वर्ग बनेको हैन । असल मानिसलाई धर्तीको जस्तोसुकै कुनामा हुत्याइदेऊ, केही फरक पर्दैन । उनीहरूले त्यसलाई स्वर्ग बनाउँछन् । बुद्धलाई नर्कमा जाकिदियौ भने पनि तिमीले वास्तवमा उनलाई नर्कमा कोच्न सक्दैनौं । उनले त्यसलाई स्वर्ग बनाउँछन् ।

विश्वकै अत्यन्त सुन्दर देश नेपाल । अथाह प्रकृतिक स्रोत साधन भएको मुलुक । मिहेनती, इमान्दार, शान्तिप्रीय जनता भएको देश । साँच्चिकै स्वर्गको भूमि नेपाल कसरी गरिब भयो ? दरिद्र कसरी बन्यो ? नेपाली किन दुखी भए ? अभावै अभावको जिन्दगी बाँच्न नेपालीलाई केले बाध्य बनायो ? के नेपाल परापूर्वकालदेखि नै गरिब थियो ? विल्कुलै हैन । नेपाल गरीब हुन राणा शासनकाल (१०४ वर्ष), पञ्चायती राजतन्त्र (३० वर्ष) बहुदलीय व्यवस्था (१५ वर्ष) या संघीय गणतन्त्र (१५ वर्ष) आदि व्यवस्थाका कारण भए­को हो त ? विल्कुलै हैन । विश्वमा सम्राज्य फैलाएको बेलायतलाई नेपालको तत्कालीन राणा सरकारले कम्पनी रूपैयाँ र नेपाली महेन्द्र मल्ली गरेर विश्वयुद्धताका करिब एक करोड सहयोग गरेको पढ्न पाइन्छ ।

२००७ सालमा नेपाल र दक्षिण कोरियाको आर्थिक हैसियत उस्तै थियो । दक्षिण कोरिया अहिले सम्पन्नताको शिखरमा उक्लियो । तर, नेपाल किन उक्लन सकेन ? कारण के हो ? राणा शासनजस्तै तानाशाही व्यवस्था, पञ्चायती व्यवस्थाजस्तै निरङ्कुश या बहुदलीय संघीयताजस्ता राजनीनितिक व्यवस्था भएको देश अहिले पनि विश्वमा बग्रेल्ती छन् । विकास र सम्पन्नताका सवालमा नेपालभन्दा धेरै माथि छन । तर, नेपाल किन पछि पर्‍यो ? राजनीतिक व्यवस्थाको कारणले मात्र हैन । यी व्यवस्था हाँक्ने ड्राइभर अगतिला भएर हो ।

व्यवस्था आफैंमा असल खराब हुँदैन, यसलाई हाँक्ने नेताले कस्तो पद्दति बसाले, त्यसमा निर्भर हुन्छ । सबैभन्दा उत्कृष्ट व्यवस्था भनेर अहिलेको संघीयता ल्याएको हैन ? एक्काइसौं शताब्दीको नेपालको उत्कृष्ट व्यवस्थ्ाा संघीयतामा ५५ जोडी लोग्ने-स्वास्नी माननीय सांसद छन् ।

खराब आचरण भएका नेता जस्तासुकै समृद्ध देशमा हुन्, यिनले ल्याउने भनेको नै अशान्ति, गरिबी, अभाव र कलह हो । जस्तोसुकै स्वर्गमा पुगुन् यिनले बनाउने भनेको नर्क नै हो । अहिलेका बहालवाला र पूर्वगरी पाँच थान प्रधानमन्त्री, केपी प्रचण्ड, शेरबहादुर, माधव नेपाल, बाबुराम र झलनाथ खनाललाई मानौं, सर्वधिकार दिएर सिंगापुर, नर्वे, डेनमार्क वा दक्षिण कोरिया, कुबेत, कतार जिम्मा दिने हो भने त्यो देशको हालत के होला ? नेपालजस्तो बनाउन यिनले कति पनि समय लगाउँदैनन् । उराठलाग्दा तर अत्यन्तै धनी खाडी मुलक या हावापानी प्रतिकुल भएता पनि समृद्ध भएका स्केनडेभियन देशमा यहाँका नेताले शासन गरेको भए ती देश विकसित हुने थिए या थिएनन् भन्ने हैन ती देश तन्नम भएर कसरी बेचियो भनेर इतिहासमा पढाइ हुने थियो होला ।

धन्न ! हामी आजको दिनसम्म नेपाली भएर बाँच्न पाएका छौं । नेता इमान्दार मात्र भए धेरै विकृति आफसे आफ हट्ने थियो । दक्षिण कोरिया र नेपाल दुबै प्रजातन्त्रिक मुलुक हुन् । तर, दक्षिण कोरियामा त्यहाँका तीन पूर्वराष्ट्रपतिहरू अहिले भ्रष्टाचार गरेको कसुरमा जेलमा छन् । नेपालका पूर्वप्रधानमन्त्रीहरू अहिलेका प्रधानमन्त्रीले मात्र मस्ती गरे, हामीले भागशान्तिले लुट्न पाएनौं भन्दै जुलुस निकाल्दैछन् । समर्थन तथा विरोधको जुलुसमा यिनका कार्यकर्ता परर ताली ठोक्छन् । अझै कतिञ्जेल बन्छौं, नेताका लम्पट कार्यकर्ता ? फटाहा नेताका लागि दक्षिण कोरिया नर्क हो भने नेपाल फटाहहरूका लागि स्वर्ग हो ।

नेपाल बचाउने हो भने, स्वाभिमानसहितको समृद्धिको जीवन बाँच्ने हो भने नेपाली राजनीतिक दलभन्दा माथि उठ्नैपर्छ । नेता नसुध्री देश बन्दैन । नेता सुध्रन कार्यकर्ता सुध्रनै पर्दछ । आम नेपाली सचेत हुनैपर्छ । यी थेत्तरा नेता त्यति सजिलै सुध्रनेवाला छैनन् । साच्चिँकै विधिको शासन हुने हो भने यी नेता अहिले भ्रष्टाचारी भएर जेलमा बसेका हुने थिए ।

पन्ध्र बर्षमा ७० करोड जनतालाई गरीबीको रेखाबाट माथि उठाउन सक्ने उत्तरको चीन होस् या विश्वको दोस्रो धेरै जनसंख्या भएको भारत, विकासको रˆतारमा अघि बढ्न सक्ने । प्रकृतिक श्रोत साधनमा पछि परेका कयौं देश विकसित बन्ने, तर स्वर्गको टुक्रा, तीन करोड मात्र जनसंख्या भएको नेपाल किन विकसित देश बन्न नसक्ने ? किन ?

बाटामा हिँड्दा सबैभन्दा बढी सम्हालिएर हिँड्न को खोज्छ ? र, सबैभन्दा बढी लरबराउँदै को हिँड्छ ? उत्तर हो जड्याँहा । त्यस्तै नेपालमा सबैभन्दा धेरै बेथिति र भ्रष्टाचारको विरोध गर्ने र देश खत्तम भयो भन्दै चर्को भाषण कसले गर्छ र सबैभन्दा बढी भ्रष्टाचारी को छ ? उत्तर हो- यहाँका नेता । जड्याहाँले जाँड नखाई हिँडेमा सम्हालिएर हिँड्न कोशिश गर्नै पर्दैन । स्वतः हिँड्न सक्छ । त्यस्तै, देशमा भ्रष्टाचार निर्मूल गर्न, उपयुक्त थिति तथा पद्धति बसाउने हो भने यी फटाहा नेतालाई गलहत्याउनै पर्छ । प्रचलित कानुनअनुसार अहिलेका जिवित पाँच थान प्रमहरूका र करिब पाँच दर्जन अन्य नेताहरूले गरेको भ्रष्टाचारको जाँच गर्ने र कसुर प्रमाणित भए बमोजिम जेलमा हाल्न सक्ने हो भने बेथिति, भ्रष्टाचार आफैं हट्छ ।

नेपाल सम्पन्न तथा समृद्ध मुलुक बन्न एक दशक नै काफी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment