+
+
Shares
म्यानमारबाट नेपाली पत्रकारको बयान :

नेपालमा ज्ञानेन्द्रले गरेको ‘कू’ सम्झिएँ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १९ गते २०:०९

१९ माघ, काठमाडौं । म्यानमारमा सेनाले प्रजातन्त्रवादी नेताहरूलाई नियन्त्रणमा लिएर सैन्य ‘कू’ गरेको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र उनको पार्टी नेसनल लिग फर डेमोक्रेसीका वरिष्ठ नेताहरूलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएको हो ।

त्यहाँको सेनाले सोमबार दिउँसो वक्तव्य जारी गरेर देशमा एक वर्षका लागि संकटकाल लगाइएको घोषणा गरेको छ भने यस अवधिमा पुनः चुनाव गराउने भनेको छ ।

सेनाले ‘कू’ गरिसकेपछि म्यानमारको अवस्थाबारे अनलाइनखबरले त्यहाँ रहेका नेपाली पत्रकार दीपक भट्टराईसँग कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

म्यानमारमा आज बिहान करिब २ बजेदेखि निर्वाचित सरकार, त्यसका राष्ट्रपति, मन्त्रिपरिषद्का अरू सदस्यहरु गिरफ्तारीमा परे । जसमा चर्चित प्रजातन्त्रवादी नेतृ आङ सान सुकी जो विदेशमन्त्री एवं प्रमुख पार्टी नेसनल लिड अफ डेमोक्रेसीका सर्वाेच्च नेता पनि हुन्, उनीसहित सबैलाई सेनाले नियन्त्रणमा लियो । उनीहरूलाई कहाँ राखिएको छ भनेर हालसम्म सार्वजनिक गरिएको छैन । सेनाले मध्याह्न एक वर्षका लागि संकटकाल लगाएको घोषणा गरेको छ ।

सम्पूर्ण राजनीतिक अधिकार सेनाले आफूसँग रहेको यहाँको सैनिक टेलिभिजनमार्फत जानकारी दिएको छ । यसअघि नोभेम्बरमा यहाँ आमचुनाव भएको थियो, जसमा नेतृ सुकीको दल नेसनल लिग फर डेमोक्रेसी एनएलडीले अत्यधिक बहुमत प्राप्त गरेको थियो ।

चुनावमा सेना समर्थित दल पनि सहभागी थियो । तर उसले २०१५ मा भन्दा नमज्जाले हार व्यहोर्नुप¥यो । त्यसयता सेनाले चुनावमा अनियमितता भएको आरोप लगाउँदै आएको थियो । चुनावलाई मान्यता दिइँदैन भनिरहेको थियो । चुनावमा धाँधली भएको विषयमा आफूहरूसँग हजारौं प्रमाण रहेको सेनाले बताउने गरेको थियो ।

आमचुनावलाई यहाँको निर्वाचन आयोग, अन्तर्राष्ट्रिय पर्यवेक्षक लगायतले समर्थन गरेका थिए । चुनावमा धाँधली भएका दाबीलाई अन्य कुनै दलले समर्थन गरेनन् । त्यही परिस्थितिका बीच एक हप्तादेखि सेनाले कू गर्न सक्ने चर्चा यहाँ भइरहेको थियो । आज यहाँ निर्वाचित सांसदहरूको पहिलो संसद अधिवेशन हुँदै थियो ।

केही दिनअघि एउटा पत्रकार सम्मेलनमा पत्रकारहरुले सैनिक प्रवक्तालाई संसद सुरु हुन लागेको छ, चुनावलाई मान्यता नदिने भए कू गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रवक्ताले संसद बस्न लाग्यो भनेर लाग्दा गरिन्न भन्ने ग्यारेन्टी छैन भनेर कूटनीतिक जवाफ दिएका थिए ।

सेना समर्थकहरूले दुई दिनदेखि सेना आउनुप¥यो भन्दै प्रदर्शन पनि गरिरहेका थिए । त्यही बहानामा आज सेनाले शासन आफ्नो हातमा लिएको छ । अहिले यहाँ सम्पूर्ण सञ्चारमाध्यममाथि पूर्ण बन्देज छ । स्थानीय टेलिभिजनहरूले प्रसारण बन्द गरेका छन् । सैनिक रेडियो र सैनिक टेलिभिजन मात्रै चलेका छन् ।

बिहान ८ बजेदेखि साढे १२ बजेसम्म टेलिफोन पनि बन्द थियो । यद्यपि, हाल आंशिक ठाउँमा चल्न थालेको छ । यहाँ सेनाको आफ्नै टेलिफोन नेटवर्क छ, तपाईं र मेरो बोल्दाबोल्दै सम्पर्क काटिन पनि सक्छ । कुन बेला काटिन्छ भन्ने भर छैन ।

अहिले सर्वसाधारणलाई सेनाले केही गरेको छैन । मानिसहरू सडकमा निस्किएका छैनन् । यद्यपि, केही पसल खुला रहेकाले छिटपुट रूपमा किनमेलका आउने गरेका छन् । केही पसलहरू कफ्र्यु लाग्छ कि भन्ने डरले बन्द भएका हुन् । सेनाको कदमविरुद्ध प्रदर्शन गर्न सक्ने आशंकामा केही प्रजातन्त्रवादीहरू नेता, कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ ।

मान्छेहरू त्रस्त देखिन्छन् । यहाँका धेरै मानिसहरुलाई सुकीको अवस्था जान्ने रूचि छ । अहिलेसम्म प्रदर्शन नभएकाले कफ्र्यु लाग्ने सम्भावना कम छ । कोरोनाका कारण मध्यरातदेखि बिहान चार बजेसम्म यहाँ कफ्र्यु नै छ । सेना समर्थकहरूले सैन्य कदमको पक्षमा बोलिरहेका छन् । प्रजातन्त्रवादीहरूले अमान्य घोषणा गरेका छन् ।

व्यक्तिगत रूपमा मलाईचाहिँ नेपालमा माघ १९ मा राजाले सत्ता कब्जा गरेको दिनको याद भयो । पहिले नेपालमा झैँ नेताहरू नियन्त्रणमा परे । इन्टरनेट र फोन घन्टौं चलेन । के होला भन्ने त्रास मनमा बसिरह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?