
२२ माघ, काठमाडौं । भारतको दिल्ली प्रहरीको साइबर सेलले पर्यावरण अभियान्ता ग्रेटा टुनवर्गमाथि मुद्दा दायर गरेको छ । भारतमा कृषि कानुनको विरोधमा आन्दोलन गरिरहेका किसानको पक्षमा ट्वीट गरेको विषयलाई लिएर दिल्ली प्रहरीले उनीमाथि मुद्दा दायर गरेको हो ।
यद्यपि मुद्दा दायर भएको केही समयपछि टुनवर्गले पुनः ट्वीट गर्दै आफू अझै पनि किसानको पक्षमा रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म अझै पनि किसान र उनीहरुको शान्तिपूर्ण आन्दोलनको पक्षमा छु । कुनै किसिमको घृणा, धम्की वा मानव अधिकार उल्लंघनले यसलाई परिवर्तन गर्न सक्दैन ।’
टुनवर्गले बुधबार आफू भारतमा जारी आन्दोलनमा किसानको पक्षमा रहेको बताएकी थिइन् । विदेशी चर्चित व्यक्तित्वहरुले किसान आन्दोलनको समर्थन गरेसँगै भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निहित स्वार्थ बोकेर केही समूहले किसान आन्दोलनलाई हतियार बनाउँदै आफ्नो एजेन्डा लागू गर्न खोजेको बताएको थियो । विदेश मन्त्रालयले यस किसिमको गतिविधि दुर्भाग्यपूर्ण रहेको बताएको थियो ।
प्रतिक्रिया 4