Comments Add Comment

चक्रपथ विस्तारमा उल्झन : महाराजगञ्ज चोकमा मुआब्जा र स्वयम्भूमा सम्पदा विवाद

२२ माघ, काठमाडौं । काठमाडौंको मुख्य सडकमार्ग चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तार थप उल्झनमा परेको छ ।

विस्तारका क्रममा भत्काउनुपर्ने महाराजगञ्ज चोकका घरहरु र अधिग्रहण गर्नुपर्ने जग्गाबारे विवाद उत्पन्न भएको छ भने स्वयम्भू क्षेत्रको धार्मिक सम्पदा भत्काउने विवाद पनि बल्झिएको छ ।

सरकारले गत वर्ष पुस १८ गते यो खण्डको सडक सीमा ३१-३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिएपनि प्रक्रियामा अलमल भएको थियो । प्रक्रिया अघि बढेपछि फेरि मुआब्जाको विवाद देखिएको सडक विभागका अधिकारीहरु बताउँछन् ।

महाराजगञ्ज चोकमा मुआब्जा वितरण गरेर १९ वटा घरसहित करिब ४४ कित्ता जग्गा सरकारको नाममा ल्याउनुपर्छ । त्यसमध्ये करिब १० घर र जग्गाधनीले आफ्नो सम्पत्ति कुनै हालतमा सरकारलाई नदिने अडान लिएका छन् ।

आफूहरुको उठीबास हुने भएकाले कुनै पनि मूल्यमा जग्गा दिन नसकिने भन्दै उनीहरुले सर्बोच्च अदालत गुहारेका छन् । बाँकी घर धनीले पनि सरकारले निर्धारण गर्न खोजेको मुआब्जामा चित्त बुझाएका छैनन् । सडक विभागका उपमहानिर्देशक तथा वैदेशिक सहायता महाशाखा प्रमुख अर्जुनजंग थापा उनीहरुले चलनचल्तीको भन्दा उच्च दर पाउनुपर्ने अडान लिएको बताउँछन् ।

‘जिल्ला प्रशासन कार्यालयले जग्गाको मुआब्जा निर्धारण गर्न बनाएको समितिले अर्को उपसमिति बनाएर मुआब्जा निर्धारण प्रक्रिया अघि बढएको छ,’ उनले भने, ‘बढी रकम पाउनुपर्ने अडानका कारण उपसमितिले यो विषय टुंगो लगाउन सकेको छैन ।’

उपसमितिमा रहेका काठमाडौं महानगरपालिका र वडा कार्यालयका प्रतिनिधिले घरधनीको माग बमोजिम नै मुआब्जा दिनुपर्ने बताएका छन् भने अन्यले सरकारी दररेट र चलनचल्तीको मूल्यलाई आधार बनाउनुपर्ने भनेका छन् ।

विभागका महानिर्देशक केशवकुमार शर्मा मुआब्जा लिने/दिने गरी सहमति गरेर अधिग्रहणको मुद्दा टुंग्याउन काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको बताउँछन् ।

चक्रपथको यो खण्ड विस्तारको प्रक्रिया सुरु भएको अढाई वर्ष बढी हुँदा पनि पूर्वतयारीको काम सकिएको छैन । चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सार्वजनिक सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रण गरेर बनाइएका संरचना हटाउन भनेको थियो ।

यो ११.६ किलोमिटरको खण्डलाई चीन सरकारले ८ लेनमा विस्तार गरिदिने योजना छ । तर, तीन वर्ष पुग्न लाग्दा पनि साइट क्लियर हुन सकेको छैन । चीनले साइट क्लियर नभई निर्माण कम्पनी परिचालन नगर्ने बताईसकेको उपमहानिर्देशक थापाले बताए ।

स्वयम्भूमा विवाद बल्झियो

चक्रपथ विस्तारको क्रममा स्वयम्भू क्षेत्रभित्रका केही संरचना हटाउन पर्दा सुरु भएको विवाद फेरि बल्झिएको छ । सडक विभाग र काठमाडौं महानगरपालिकाले स्वयम्भू सिमा क्षेत्रको स्तम्भ, माने, हजार मूर्तिसहतिको स्तुप -साङ्गेे तोङ्कु) भत्काउने तयारी गरेपछि स्थानीयले विरोध थालेका थिए ।

सम्पदा प्रेमीहरुले ‘विश्वसम्पदा क्षेत्र अतिक्रमण गर्ने योजना’ भनेपछि गत २३ मंसिरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले पुरानो योजनाअनुसार काम नगर्ने बताएका थिए । उनले भनेअनुुसार सडक बिस्तार नै हुन नसक्ने भएपछि विभागले भत्किने संरचना पुनर्निर्माण गरिदिने गरी समाधानको बाटो निकालेको थियो ।

यो प्रस्तावमा सम्पदाप्रेमीहरु विभाजित भएका छन् । केहीले स्वयम्भू डाँडातर्फको भाग छुनै नपाइने अडान राखेका छन् भने केहीले हजार मूर्तिसहितको बोधि चैत्यभन्दा अगाडिको भाग भत्काउन दिने मत राखेका छन् । विभागले महत्वपूर्ण चैत्य अन्यत्रै बनाइदिने अर्को प्रस्ताव राखेको छ ।

सडक विभागकाका अनुसार चक्रपथको दायाँ-बायाँ ३१-३१ मिटर ‘राइट अफ वे’ हुनपर्ने भएपनि २०३१/०३२ सालमा २५-२५ मिटर मात्र तोकिएको थियो ।

२०४८ मा आएर सरकारले मुख्य सडकमा थप ६ मिटरको ‘सेट ब्याक’ तोक्यो । सेट ब्याक क्षेत्रभित्र संरचना बनाउन निषेध गरिए पनि ०५६/५७ सालपछि स्वयम्भू डाँडातर्फ सडक क्षेत्रभित्र विभिन्न धार्मिक संरचना थपिए ।

अहिले हजार बुद्धसहित ७५ फिट अग्लो बौधि चैत्य भत्काउन नहुने पक्षमा स्वयम्भूका स्थानीय उभिएका छन् । सडक विभाग भने पछि बनेका यस्ता संरचनाहरु भत्काउनपर्ने अडानमा छ ।

पहिलो २५ मिटरलाई आधार मान्दा सो संरचनाले १.१५ मिटर सडक क्षेत्र मिचेको देखिन्छ । त्यसमा ६ मिटर सेट ब्याक जोड्ने हो ७.८५ मिटरभित्रका संरचना भत्काउनुपर्छ । विभागले अतिक्रमित क्षेत्र मानेर ७.८५ मिटर नै खाली गर्न खोजेको छ । त्यती भाग खाली पार्दा हजार मूर्तिसहितको चैत्स पुरै हटाउनुपर्छ ।

स्वम्यभू डाँडाको अर्को साइडमा बनाइएको गुम्बाको पर्खालले पनि चक्रपथको ३१ मिटरभित्र १ं.५ मिटर मिचेको छ । सम्पदाप्रेमी र स्थानीयबासीले भने ‘स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियान’ नै गठन गरेर आन्दोलित छन् ।

अभियानका संयोजक आचार्य नुर्बु शेर्पा युनेस्कोले विश्व सम्पदा क्षेत्र भनेर तोकेको सीमाभित्र सडक विस्तार गर्दा स्वयम्भू विश्व सम्पदा सूचीबाट बाहिरिने जोखिम देख्छन् । २०५७ सालमा पुरातत्व विभागको अनुमति लिएर गुम्बा, माने, चैत्य, पर्खाल लगायत संरचना बनाइएको उनले बताए ।

डिजाइन टुंगिन बाँकी

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा चक्रपथको यो खण्डमा रुख, पोल हटाउने काम भने लगभग सकिएको बताउँछन् । उनका अनुसार, गोगंबुको आकाशे पुल र अन्य अस्थायी संरचनाहरु हटाइसकिएको छ ।

यो खण्डको डिजाइन चीनले गरिरहेको छ । फाइनल डिजाइनबारे विभागसँग छलफल सुरु भएको छैन । डिजाइन स्वीकृत भएर साइट क्लियर भएपछि चिनियाँ ठेकदार कम्पनी फिल्डमा आउँछ ।

यसअघि कलंकी-कोटेश्वर खण्डको डिजाइनमा भएको जस्तो त्रुटि यसमा नदोहोराउने विभागले बताउँदै आएको छ । चक्रपथ सहरी सडक भएपनि राजमार्गको शैलीमा अव्यवहारिक ढंगले बनाएको भन्दै सर्वत्र आलोचना भएको थियो ।

विभागले तिलगंगादेखि धोबीखोलासम्मको धार्मिक तथा पुरातात्विक पशुपति क्षेत्रभित्र पर्ने चक्रपथको खण्ड कसरी विस्तार गर्ने भन्ने योजना बनाइसकेको छैन । तिलगंगादेखि कोटेश्वरसम्म विभाग आफैंले विस्तार गर्ने योजना बनाए पनि मुआब्जामा ठूलो रकम तिर्नुपर्ने देखेपछि पछि हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment