Comments Add Comment

कसरी वितरण हुन्छ कोभ्याक्सको खोप ?

२३ माघ, काठमाडौं । विश्वका धेरै मुलुकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सञ्चालन गरिसकेका छन् ।

तर, विकासोन्मुख र अल्पविकसित मुलुकमा भने निकै कम मात्र कोरोना खोप पुगेको छ । त्यसैले यी मुलुकले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कोभ्याक्स कार्यक्रमलाई भरोसा गरिरहेका छन् ।

कोभ्याक्स कार्यक्रम अन्तर्गत पहिलो चरणमा ६ महिनासम्ममा सबै मुलुकका तीन प्रतिशतभन्दा बढी मानिसलाई पुग्ने कोरोना खोप गरीब मुलुकमा पुर्‍याउने लक्ष्य छ ।

महत्वाकांक्षी अन्तर्राष्ट्रिय कार्यक्रम कोभ्याक्समा सन् २०२१ को अन्तिमसम्ममा विश्वका सबै मुलुकमा दुई अर्ब डोज कोरोना खोप वितरण गर्ने योजना छ ।

यसमध्ये एक अर्ब ८० करोड डोज खोप ९२ ओटा कम आय भएका मुलुकमा वितरण गरिनेछ । यसले उनीहरुको करिब २० प्रतिशत जनसंख्यालाई समेट्छ ।

कोभ्याक्स योजनाअनुसार अहिले सुरुवाती चरणमा ३३ करोड डोज खोप सन् २०२१ को पहिलो ६ महिनामा वितरण गरिनेछ । यसले कोभ्याक्स कार्यक्रममा सहभागी मुलुकको ३.३ प्रतिशत जनसंख्यामा खोप पुग्नेछ ।

अहिले विश्वका धनी मुलुकले चार अर्ब २० करोड डोज कोरोना खोप खरिद गरिसकेका छन् भने मध्यम आय भएका मुलुकले भने केवल ६७ करोड डोज कोरोना खोप पाएका छन् ।

यद्यपि डब्ल्यूएचओका अधिकारीहरुले नै डब्ल्यूएचओले कोभ्याक्सका लागि खोप खरिद गर्ने र वितरणको काम निकै सुस्त गतिमा अघि बढाइरहेको बताएका छन् ।

कोभ्याक्स कार्यक्रमबाट महामारी अन्त्य होला त ?

महामारी अन्त्य हुन समुदायमा हर्ड इम्युनिटीको विकास हुनु जरुरी हुन्छ । त्यसका लागि ७० प्रतिशत मानिसमा कोरोना विरुद्धको प्रतिरोधी क्षमता विकास हुनु जरुरी छ ।

यद्यपि कोभ्याक्स कार्यक्रममा राखिएको लक्ष्य अनुसारकै खोप कार्यक्रम सञ्चालन भएको अवस्थामा पनि हर्ड इम्युनिटी विकासको लागि अझै केही वर्ष प्रतीक्षा गर्नुपर्ने हुन्छ । विश्वको जनसंख्या सात अर्ब ८० करोड छ । कोभ्याक्सको कार्यक्रममा भने एक वर्षमा दुई अर्ब डोज खोप पुर्‍याउने लक्ष्य छ । यद्यपि एक वर्षमा पुर्‍याउन लागिएको खोपले पनि अग्रपंक्तिमा खटिने कर्मचारीहरुलाई भने पुग्नेछ ।

कोभ्याक्समा कति रकम छ ?

अहिलेसम्म कोभ्याक्स कार्यक्रमका लागि ६ अर्ब डलर उठेको छ । लक्ष्य अनुसारको खोपको लागि सन् २०२१ सम्ममा थप दुई अर्ब डलर आवश्यक पर्छ । बेलायतले ७३ करोड ४० लाख डलर र अमेरिकाले चार अर्ब डलर यो कार्यक्रमका लागि दिने बताएका छन् । यद्यपि यी दुई मुलुकले विश्वमा अन्य मुलुकले भन्दा धेरै खोप जम्मा पारेर आफ्ना लागि राखेको आरोप छ । एक अध्ययनका अनुसार विश्वको १६ प्रतिशत जनसंख्या रहेको धनी मुलुकले ६० प्रतिशत कोरोना खोप खरिद गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment