Comments Add Comment

प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?

१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने संशय पैदा भएको बताएका छन् ।

२६ औं जनयुद्ध दिवसको अवसरमा बर्दियाको बारबर्दिया नगरपालिकाले प्रकाशत गरेको ‘जीवनगाथा’ पुस्तक आज काठमाडौंमा विमोचन गर्दै प्रचण्डले हजारौं सहिदको बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा पैदा भएको बताएका हुन् ।

‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ,’ प्रचण्डले भने ।

जनयुद्धमा शहीद, बेपत्ता पारिएका तथा घाइतेहरुको विवरण समेटर तयार पारिएको ‘जीवनगाथा’ पुस्तकको विशेष अर्थ र महत्व रहेको भन्दै प्रचण्डले यसबाट समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रक्षाका निम्ति पनि प्रेरणा मिल्नेसमेत बताए ।

‘नयाँ परिघटना’

पुस्तक विमोचनपछि पार्टी कार्यालय पेरिसडाँडामा ‘सहिद स्मृति तथा सम्मान’ कार्यक्रममा सहभागी भएका प्रचण्डले सरकारको तर्फबाट आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा आफू सहभागी हुनु नयाँ परिघटना भएको अनुभूति सुनाए ।

‘पार्टीको तर्फबाट राखिएको होइन रहेछ त्यो विमोचन कार्यक्रम, सरकारको तर्फबाट । यो एउटा पहिलो र नयाँ परिघटना भयो,’ प्रचण्डले भने । विमोचन कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता छानविन आयोग र सरकारका प्रतिनिधिहरुसमेत सहभागी रहेको प्रचण्डले सुनाए ।

बर्दिया जिल्ला जनयुद्धको क्रममा सबैभन्दा धेरै नागरिक बेपत्ता भएको जिल्ला हो । जिल्लाको बारबर्दिया नगरपालिकाले प्रकाशित गरेको ‘जीवनगाथा’ पुस्तकमा ६ सय ८० जनाको जीवनी समेटिएको छ । तीमध्ये ३ सय २८ शहीद, २ सय ५० जना बेपत्ता र १ सय २ जना घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जीवनी समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment