Comments Add Comment

गुल्मी दरबारमा ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण

२ फागुन, गुल्मी । गुल्मीदरबार गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

गाउँपालिकाभित्र रहेका ८७ वर्ष उमेर कटेका १०० जना ज्येष्ठ नागरिकहरुलाई जाडो र गर्मीको समयमा समेत प्रयोग गर्न मिल्ने फाइबर सिरक प्रदान गरेको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँको बजेटबाट ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरकले सम्मान गरिएको हो ।

त्यस्तै गाउँपालिकाबाट ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको घरघरमा स्वास्थ्यकर्मीहरु गई स्वास्थ्य परीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

गाउँपालिकाले दम, सुगर, प्रेसर लगायतका दीर्घ रोगीहरूलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । अशक्त ज्येष्ठ नागरिकहरूको घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने लगायतका कार्यक्रमहरू संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

जनतासँग गाउँपालिका कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकहरुको चासो, गुनासो, समस्या, इच्छा, आकाङ्क्षा सम्बन्धमा सबै वडाहरू र टोलटोलमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

गाउँपालिकाबाट गत असोज १५ गते ज्येष्ठ नागरिक दिवसको अवसरमा समेत घरमा एक्लै भएको समय गीत, संगीत, भजन तथा समाचार सुन्नको लागि रेडियो वितरण गरेको थियो ।

आगामी आर्थिक वर्ष ०७८/०७९ को लागि ज्येष्ठ नागरिक लक्षित कार्यक्रमको लागि महत्वपूर्ण सुझावहरू प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

गाउँपालिका टोलटोलमै पुगेर जेष्ठ नागरिकहरुको चासो, गुनासो, समस्या, इच्छा सुनिदिएकोमा ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment