Comments Add Comment

सैन्य कू पछि म्यानमारमा के-के भयो ?

२ फागुन, काठमाडौं । म्यानमारमा सैन्य कू भएको दुई साता पुगिसकेको छ । सन् २०१५ देखि जनताको हातमा सत्ता सुम्पिएको सेनाले पुनः सत्ता आफ्नो हातमा लिएको हो ।

सेनाले सत्ता आफ्नो हातमा लिएपछिको पछिल्लो दुई साताका प्रमुख घटनाहरु यहाँ उल्लेख छ :

१. नेता तथा सांसद्हरु पक्राउ

सेनाले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको केही समयपछि म्यानमारका प्रजातन्त्रवादी नेता तथा सांसदहरुलाई हिरासतमा लिइएको थियो । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित एनएलडी पार्टीका नेताहरु, राष्ट्रपति विन मिन्टसहित २२० भन्दा धेरैलाई सेनाले हिरासतमा लिएको एनएलडी पार्टीले बताएको थियो ।

पक्राउ गरिएका नेताहरुमध्ये राष्ट्रपति विन मिन्ट र नेतृ सुकीलाई अहिले पनि कहाँ राखिएको छ भन्ने अझै खुलेको छैन ।

नेतृ सुकी र राष्ट्रपति मिन्टलाई आयात/निर्यातको कानुन उल्लंघन गरेको तथा अनधिकृत सञ्चारको डिभाइसको प्रयोग गरेको आरोपमा मुद्दा दर्ता भएको छ । उनीहरुलाई फेब्रुअरी १५ सम्म हिरासतमा राख्न अदालतबाट अनुमति लिएको सेनाले बताएको छ ।

२. अन्तर्राष्ट्रिय प्रतिक्रिया

म्यानमारको सेनाले शासन सत्ता हातमा लिएको घटनाको अन्तर्राष्ट्रिय रुपमा नै आलोचना भयो । विश्वका धेरै मुलुकले आफूहरु म्यानमारको प्रजातन्त्रको पक्षमा रहेको बताए पनि चीनसहितका केही मुलुकले म्यानमारको संकट उसको आन्तरिक विषय रहेको भन्दै यो समस्या दुई पक्षबीच वार्ताको माध्यमबाट समाधान गरिनुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा म्यानमारको कू को निन्दा गर्ने वक्तव्यको शब्दमा चीनले आपत्ति जनाउँदै वक्तव्य रोकेको थियो । त्यसपछि परिषद्ले सबै सदस्यको मञ्जुरी जुटाएर म्यानमारमा भएको कूको विरोध गर्दै केही लचिलो वक्तव्य जारी गरेको थियो । अमेरिकाले यस विषयलाई लिएर म्यानमारमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

३. आन्दोलन

म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिएसँगै ठूलो संख्यामा मानिसहरु सडकमा आउने अपेक्षा थियो । किनकी गत नोभेम्बरमा भएको निर्वाचनमा पनि एनएलडी पार्टीले भारी बहुमतसहितको जित हात पारेकाले उक्त पार्टीका समर्थकहरु सडकमा आउने अपेक्षा थियो । तर सुरुका केही दिनमा अवस्था सामान्य नै देखियो ।

अघिल्लो शनिबारदेखि भने म्यानमारका प्रमुख सहरको सडकमा ठूलो संख्यामा मानिसहरु भेला भएर सैन्य कू विरुद्ध प्रदर्शन गर्दै आएका छन् । यो आन्दोलनमा शिक्षक, वकिल, सरकारी कर्मचारीलगायतका सबैजसो निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी भएका छन् ।

अहिले म्यानमारमा भइरहेको आन्दोलनलाई सन् २००७ यताकै सबैभन्दा ठूलो आन्दोलन मानिएको छ ।

उनीहरुले प्रजातन्त्रवादी नेताहरुको तत्काल रिहाइको माग गर्नुका साथै मुलुकमा प्रजातन्त्र पुनः स्थापनाको माग गरिरहेका छन् । प्रदर्शनमा हजारौं मानिसहरुले सहभागिता जनाएका छन् । यो प्रदर्शनको क्रममा गत मंगलबार एकजनाको मृत्यु भएको थियो ।

४. आन्दोलन दबाउने प्रयास

सेनाले उनीहरुको आन्दोलन दबाउनका लागि कफ्र्यू लगाउने, आन्दोलनमा दमन गर्ने गरेको छ । आन्दोलन रोक्न सामाजिक सञ्जाल, इन्टरनेट सेवा र टेलिभिजनमा पनि रोक लगाउने निर्णय गरेको थियो । तर, सेनाको यो निर्णय लामो समय भने टिक्न सकेन । अहिले म्यानमारमा इन्टरनेट सेवा र टेलिभिजन पुनः सुरु भइसकेको छ ।

आन्दोलन दबाउन उल्लेख्य मात्रामा प्रहरी पनि परिचालन गरेको छ । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली प्रहार गर्दै आन्दोलन दबाउने प्रयास गरिरहेको छ । यद्यपि आन्दोलन रोकिएको छैन । सेनाले जारी आन्दोलन मथ्थर पार्न प्रजातन्त्र पक्षधर नेताहरु पक्राउ पर्ने क्रम जारी राखेको छ । विशेषगरी सुकीसँग निकट रहेका नेताहरु अहिले धमाधम पक्राउ परिरहेका छन् । गत बिहीबार मात्र सुकीनिकट रखाइन प्रान्तका मुख्यमन्त्रीसहितका चार नेताहरु पक्राउ परेका थिए ।

५. सेना के भन्छ ?

म्यानमारको सत्ता आफ्नो हातमासेना प्रमुख मिन औङ हालिङ जम्मा दुईपटक सार्वजनिक रुपमा देखिएका छन् । आफ्नो सम्बोधनमा उनी अलि डराएको जस्तो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सम्बोधनको क्रममा हालिङले अनुशासन र एकताको आवश्यकतामा जोड दिँदै गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधलीको आरोप लगाएका छन् । सोही निर्वाचनको विषयलाई लिएर सेनाले सत्ता आफ्नो हातमा लिएको थियो । सेनाले मुलुकको प्रजातन्त्र बचाउनका लागि यो कदम चालेको बताएको छ । यद्यपि मानिसहरुले भने म्यानमारमा जारी प्रदर्शनलाई शान्त बनाउन प्रदर्शनकारीहरुलाई मनाउने प्रयासमा सेना लागेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment