+
+

पत्रकार महासंघ युरोप शाखामा भाँडभैलो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २ गते १८:५३

२ फागुन, डेनमार्क । नेपाल पत्रकार महासंघ युरोप शाखाको विवाद चरम उत्कर्षमा पुगेको छ । विवादकैवीच चल्दै आएको युरोप शाखा अन्ततः दुई खेमामा विभाजित भएको छ । नेपालमा भएको नेकपा विभाजनको बाछिटासमेत पत्रकार महासंघमा देखिएको छ ।

विधि विधानविपरीत काम गरेका लगायत आरोप लगाउँदै युरोप शाखाका अध्यक्ष केजिन राईलाई कार्यसमितिका बरिष्ठ उपाध्यक्ष डिल्ली अम्माई, महासचिव योगेन्द्रमिलन छन्त्यालसहितको बहुमतले अध्यक्ष पदबाट निलम्वन गरेको घोषणा गरेको छ । अम्माईलाई कार्यकारी अध्यक्ष घोषणा गरिएको छ ।

अम्माईका अनुसार कार्य समितिमा सुरुमा १४ जना रहेकोमा राईले एकलौटी ढंगबाट विभिन्न समयमा सदस्य थपेर २१ जना बनाएका थिए ।

बहुमत आ–आफ्नो पक्षमा भएको दाबी दुवै पक्षको छ । अध्यक्ष राईले २९ जनाको कार्य समिति भएको जनाउँदै उपाध्यक्ष, महासचिव, सचिवसहित चारजना मात्र आफ्नो विरुद्धमा भएको बताए ।

अम्माई पक्षले अध्यक्ष राइलाई आर्थिक हिनामिना गरेको, राजनीतिक दलको भातृ संगठन प्रेस संगठनको संयोजक भएको , लेटर हेड र हस्ताक्षर दुरुपयोग गरेको, परिवारका नाममा युरोप शाखा दर्ता गरेको, विधान विपरीत गैर पत्रकारलाई साधारण सदस्य बनाउँदै कार्यसमितिमा एकलौटी ढंगबाट मनोनित गरेको, आफू विरुद्ध बोल्नेलाई समितिबाट निष्काशन गरेको, शाखालाई माओवादीको भर्ती केन्द्र बनाएको लगायतका आरोप लगाएको छ ।

राईले नाम परिवर्तन गरी ‘खिम्सुहाङ्ग राई चाम्लिङ्ग’ प्रयोग गरेर नेकपाको भातृ संगठन प्रेस संगठन युरोप शाखाको संयोजक बनेको आरोप अम्माई पक्षको छ ।

अध्यक्ष राईले भने अम्माई पक्षको आरोप निराधार भएको बताए । आफ्नो पक्षमा दुई तिहाइ भएको जिकिर गर्दै उनले भने ‘बहुमत मेरो पक्षमा छ , उपाध्यक्ष र महासचिवलाई बेल्जियम र पोर्चुगल शाखामा स्थानान्तरण गरेपछि ममाथि खनिनुभएको हो ।’

आरोपलाई गलत साबित गर्न आफू पुन तेस्रो पटक अध्यक्ष भई काम गरेर देखाउने समेत उनले बताए ।

अध्यक्ष राईलाई निलम्वन गरेको पत्र स्वीकृतिका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौमा पठाएको अम्माई पक्षले बताएको छ । तर, केन्द्रले अहिलेसम्म विवादलाई कुनै सम्बोधन गरेको छैन । बरु फागुन २१ गतेसम्म अधिवेशन गर्न भनी केन्द्रले युरोप शाखालाई पत्र पठाएको छ ।

अधिवेशन गराउनका लागि केन्द्रले बेलायतबाट चिरण शर्मालाई केन्द्रीय प्रतिनिधि बनाएको छ । दुई चिरा परेको युरोप शाखाको अधिवेशन कुन पक्षबाट कसरी गर्ने गराउने हो, धेरैको प्रश्न अहिले यही छ । केन्द्रले कसैको पक्षमा बोलेको छैन ।

अम्माई पक्षले राईले गैरपत्रकारहरुलाई साधारण सदस्य बनाएर एकलौटी ढंगले गर्न खोजेको भन्दै चौथो अधिवेशन रोक्न अनुरोध गरेको छ । ‘राईको क्रियाकलाप बारे केन्द्रमा बारम्बार जानकारी गराएका छौं’ अम्माइ पक्षको भनाइ छ, ‘केन्द्रले अधिवेशन रोकेन भने हामी काठमाडौंमा अदालत जान्छौं ।’

निलम्वनमा परेका भनिएका राईले फेब्रुअरी २० मा शाखाको चौथो अधिवेशन घोषणा गरिसकेका छन् । दुई कार्यकाल अध्यक्ष भइसकेका राई तेस्रो कार्यकालका लागि पुनः अध्यक्ष हुने जोडतोडमा छन् । गैरपत्रकारहरुलाई साधारण सदस्य बनाउनु, सही पत्रकारहरु शाखा भन्दा बाहिर हुनु अनि नेकपा प्रचण्ड–माधव समूह पक्षको आशिर्वादले राई अध्यक्ष बन्ने पक्काजस्तै भएको श्रोतको भनाइ छ ।

केन्द्रको विधानले शाखामा दुईपटक भन्दा बढी अध्यक्ष हुने व्यवस्था गरेको छैन । तर, राईले आन्तरिक (युरोप शाखा ) विधान बनाएर ‘अध्यक्ष लगायतको कार्यकाल सीमा अवधि युरोप शाखामा लागु नहुने’ उल्लेख गरेका छन् । यो विधान सन् २०१७ मा भएको तेस्रो अधिवेशनले पारित गरेको अध्यक्ष राईको जिकिर छ ।

तर, अबैधानिक तरिकाले आयोजना गरेको भन्दै तेस्रो अधिवेशनलाई अधिकांश पत्रकारले बहिष्कार गरेका थिए । पत्रकार भेला नभएपछि तत्कालिन माओवादी केन्द्रका भातृ संगठनमा रहेकाहरुलाई टेलिफोनबाट पदीय जिम्मेवारी दिइएको गुनासो असन्तुष्ट पक्षको छ । महासंघको केन्द्रका तात्कालीन बरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारीले केही व्यक्तिहरुको उपस्थितिमा तेस्रो अधिवेशन गराएका थिए ।

नेपाल पत्रकार महासंघ युरोप शाखा बेल्जियममा दर्ता भएको छ । चार बर्षअघि अध्यक्ष राई, ओम शर्मा र बीरमान मगरका नाममा शाखा दर्ता भएको थियो । तर, त्यसलाई अन्त्य गरी अहिले अध्यक्ष राई, उनकी श्रीमती इन्दिरा चाम्लिङ्ग र बीरमान मगरका नाममा दर्ता भएको संगठन समिति सदस्य तथा बेल्जियम शाखा अध्यक्ष ओम शर्माले बताए ।

शर्माका अनुसार सामाजिक संस्था दर्ता गर्न कम्तिमा तीनजना बढीमा १९ जना बस्न पाउने व्यवस्था छ । यसबारे अध्यक्ष राईले पहिलाको दर्ताको औचित्य सकिएपछि पुन दर्ता गर्नुपरेको जनाउँदै भने ‘मेरी श्रीमती पनि पत्रकार हो, शाखाको सदस्य हो, म बाहिर भएकाले उनले दर्ता प्रकृया गरेकी हुन् ।’

शाखाको अध्यक्ष भएर चलाएको राईको यो दोस्रो कार्यकाल हो । उनको पहिलो कार्यकाल पनि विवादै बिवादबीच चलेको थियो । नीति नियमभन्दा बाहिर गई एकलौटी ढंगबाट तेस्रो अधिवेशन गराउन खोजेको भन्दै राईको पहिलो कार्यकालका अधिकांश पदाधिकारीसहित सदस्यहरु प्नि बाहिरिएका थिए । तर, अहिलेका बरिष्ठ उपाध्यक्ष अम्माई र महासचिव योगेन्द्रमिलन छन्त्याललगायत केहीले समर्थन गरेका कारण तेस्रो अधिवेशनमा राई पुन दोस्रोपटक अध्यक्ष भएका थिए । तर, त्यसबेला सहयोग गरेका छन्त्याल र अम्माई अहिले राईसँग असन्तुष्ट भई विद्रोहमा उत्रिएका छन् ।

प्रथम अधिवेशनदेखि नै सुरु भएको साधारण सदस्य वितरण बिवादको समाधान नगरी गरिएको अधिवेशनमा सहभागी नहुने कतिपय पत्रकारले बताइरहेका छन् । सदस्यता समस्या समाधान गर्न सन् २०१४ मा संरक्षक ददि सापकोटा संयोजक रहेको तीन सदस्य समिति बनेको थियो । यसको पनि कार्यान्वयन हुन सकेको छैन ।

‘हामी मिल्नपर्ने हो, मिल्न सकेनौं’ शाखाका प्रथम अध्यक्ष महेश थापाले भने ‘ पत्रकार महासंघको केन्द्रले यो विवादलाई मिलाएर आफ्नो साख बचाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?