Comments Add Comment

कोभिड-१९ को सन्देश र स्वास्थ्यकर्मीको कथा

‘नेपाल सरकारले कोरोनाको खोप ल्याइसकेको छ, यो खोप लगाउनुअघि र लगाइसकेपछि पनि मास्कको अनिवार्य प्रयोग गर्ने, कम्तीमा दुई मिटर दुरी कायम गर्ने र साबुन पानीले हात धुने व्यवहारलाई सधैँ पालना गरौँ ।’

हिजोआज प्रत्येकचोटि फोन गर्दा नेपाल टेलिकमको यो सन्देश हाम्रो कानमा गुन्जिन्छ। तर यो हाम्रो मनमा गुन्जिन छोडेर कानमा मात्रै सीमित भएको हो कि भन्ने कुरा वरिपरिका दृश्यहरूले संकेत गर्न थालेका छन् । कि त हामीले यो सन्देशको सुरूका छ शब्दहरू मात्र समात्यौँ। बजारको भिड र सडकको जुलुसको मात्र कुरा होइन । मास्कको प्रयोग र भौतिक दुरीको पालना हाम्रो दैनिकीबाट नै हराउँदै गएको देख्दा हामीबीच कोरोना भाइरसको कुनै महामारी पनि छ र ? जस्तो लाग्छ।

अब एकैछिन फर्केर हेरौँ । सन् २०१९ ढल्किँदै गर्दा चीनको उहानमा महामारी मच्चाइरहेको नौंलो कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारी कुनैदिन आम नेपालीको घरदैलोको अप्ठ्यारो पाहुना हुनेछ भन्ने कल्पना धेरैलाई थिएन होला। तर उक्त विषाणुले फैलाउने कोभिड-१९ भनिने रोग विश्वव्यापी तीब्र रूपमा यसरी फैलियो कि पृथ्वीका कुना काप्चादेखि सात समुन्द्रपारिका टापु-टाकुराका बासिन्दालाई समेत यसले छोडेन ।

विश्वका कैयौं विकसित मुलुकहरूमा समेत यसले लाखौँको ज्यान लिइसक्दा नेपालमा भने कोरोना भाइरस केही ढिलोगरी प्रवेश गर्‍यो । कतिपय मुलुकहरूमा भन्दा नेपालमा यसको असर कम देखिए पनि कोभिड-१९ ले धेरैको ज्यान लियो । नेपालीहरूमा यसले स्वास्थ्य सुरक्षासम्बन्धी उल्लेख्य सचेतना समेत ल्यायो । तर महामारीको एउटा उत्कर्ष पार गरेर यो बिन्दुमा आइपुग्दा स्वास्थ्य सुरक्षाका सामान्य उपायहरू अपनाउने बारे हामी कति गम्भीर छौँ त भन्ने प्रश्न उब्जिन थालेको छ।

आ-आफ्नो अनुभव अनुसार कसैलाई यो रोग भयावह लागेको होला त कसैलाई सामान्य रूघाखोकी वा ख्यालठट्टा मात्रै । जस्तोसुकै यथार्थ भए पनि कोभिड-१९ ले निम्त्याएको कहरको मुख्य प्रहार खेप्ने स्वाथ्यकर्मीहरूको अनुभवमा यो महामारीको भित्री कथा बैग्लै र मर्मस्पर्शी छ।

कोभिड-१९ मा नेपाल ए.पी.एफ. अस्पताल

कम्प्युटरमा होस् या शरीरमा, भाइरस भन्नेबित्तिकै एउटा अप्रिय तत्त्व हो भन्ने हामी बुझ्छौँ। यति सूक्ष्म तर कति शक्तिशाली ! सार्स-कोभ-२ भाइरस भनिने यो नौलो प्रकारको कोरोना भाइरसले त विश्व अर्थतन्त्र र यातायातलाई महिनौँसम्म ठप्पै पार्‍यो ।

नेपाललाई पनि यसले नराम्रैसँग झक्झक्यायो। कोभिड-१९ जस्तो संक्रामक रोग नियन्त्रण गर्न नेपालका विद्यमान स्वास्थ्य संरचनाहरू पर्याप्त थिएनन् भन्ने नेपाल सरकारको आकलन रह्यो । त्यसैले कुनै एक अस्पताललाई कोरोना भाइरस रोगका बिरामीको उपचारमा मात्र केन्द्रित हुनेगरी तयार गर्ने निर्णय गर्‍यो । चैत ९, २०७६ को दिन नेपाल सरकारको छनौटमा पर्‍यो बलम्बुको नेपाल ए.पी.एफ. अस्पताल ।

सशस्त्र प्रहरी बल नेपालको यो अस्पतालले आम सर्वसाधारणलाई समेत उपचार सेवा दिँदै आएको थियो । देशलाई आइपरेको प्रत्येक संकटको समयमा अघि सरेर विपद् पीडित आम नेपालीलाई स्वास्थ्य उपचार दिँदै आएको यो अस्पतालको आफ्नो इतिहासमै सबैभन्दा ठूलो परीक्षाको घडी सुरू भएको थियो ।

तर ११० शय्या क्षमताको यो अस्पतालले मात्रै यस महामारीमा आइपर्न सक्ने सम्भावित अवस्थालाई धान्न सक्ने कुरै थिएन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल लगायत काठमाडौंभित्र र बाहिरका अन्य केही अस्पतालहरू पनि कोभिड-१९ को उपचारका लागि तयार गरिएका थिए । तर मूलभूत रूपमा कोभिड-१९ का बिरामीहरूको अत्यधिक संख्यामा उपचार गर्नेगरी नेपाल ए.पी.एफ अस्पताललाई कोभिड-१९ युनिफाइड अस्पतालको नामबाट थप १२० शय्याको वार्ड र २० शय्याको आई.सी.यू.मा स्तरोन्नति गर्ने तयारी गरियो ।

नेपाल ए.पी.एफ अस्पतालका आपतकालीन बाहेकका अन्य सबै सेवाहरू बन्द गरियो र यहाँका सेवाग्राहीहरूलाई आरम्भमा नेपाली सेनाको श्री वीरेन्द्र अस्पतालबाट सेवा लिने गरी प्रबन्ध मिलाइयो ।

यो पनि पढ्नुहोस महामारीमा अब्बल सशस्त्र प्रहरी अस्पताल

कोभिड-१९ को तयारी र अत्यास लाग्दो पर्खाइ

आफ्नो देश-परिवेशप्रति जतिसुकै असन्तुष्ट भए पनि हामी नेपालीहरूलाई पटक-पटक गरी यसपटक पनि समयले साथ दिएकै हो। कोरोना भाइरस अन्यन्त तीब्र गतिमा संसारभरि फैलियो । तर नेपालमा यसले विश्वका अन्य कैयौं मुलुकपछि मात्र पाइला टेक्यो । उपलब्ध समयको कति सदुपयोग गर्‍याैँ, त्यो समीक्षाको विषय हो । तर हामीलाई महामारीविरूद्ध उल्लेख्य तयारी गर्ने सु-अवसर मिलेकै हो । यद्यपि फर्केर हेर्दा उक्त भाइरस नेपालमा ठ्याक्कै कहिले आउँछ भन्ने मिति त कसैलाई पनि थाहा थिएन ।

साथै, नेपाल ए.पी.एफ. अस्पतालले गर्नुपर्ने तयारी प्रशस्त भएकाले त्यो कार्य समयविरूद्धको दौड जस्तै थियो । अस्पतालका सम्पूर्ण कर्मचारीहरू त्यसका लागि अहोरात्र खटिएका थिए । अन्तर्राष्ट्रिय यातायातको विश्राम र नेपालमा जारी भएको ‘लकडाउन’ ले निम्त्याएको सामान आपूर्ति समस्याले तयारीको उक्त दौडमा तगाराहरू तेर्स्याएका थिए ।

डा. रावल ।

अस्पतालका स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरूमा एक किसिमको अन्योल, कौतुहलता र डर कतै न कतै मडारिइरहेको थियो। कोभिड-१९ लाई नेपाली समाजले अहिलेजस्तो सहज रूपमा ग्रहण गरिसकेको थिएन । यो रोगले यहाँ कतिको ज्यान लिने हो, त्यो पनि यकिन गर्न गाह्रो थियो । अन्य मुलुकहरूमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरूको ज्यान गइसकेको थियो ।

एक त आफैँलाई रोग लाग्ला भन्ने डर, त्यसमाथि आफ्ना परिवारजन एवं प्रियजनलाई कोभिड-१९ सारिएला भन्ने महाडर ! समाजबाटै बहिष्कृत भइएला भन्ने चिन्ता त थियो नै। यस्तो मानसिकताबाट गुज्रिरहेका स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्दै अघि बढ्न र सीमित दक्ष जनशक्तिबाट कोभिड-१९ विरूद्ध लड्न नेपाल ए.पी.एफ. अस्पतालको नेतृत्व पङ्क्तिलाई ठूलै चुनौती थियो।

तर रोग संक्रमण रोकथाम लगायत विभिन्न आवश्यक तालिमहरूको सञ्चालन र पटक-पटकको व्यावहारिक अभ्यास एवं सामूहिक मेहनतको बलले उक्त चुनौतीलाई चिर्दै अघि बढ्न सम्भव तुल्यायो।अन्तत: त्यो क्षण आयो जब जेठ महिनाको आरम्भमा कोभिड-१९ को पहिलो बिरामी नेपाल ए.पी.एफ. अस्पतालमा भर्ना भए।

भेन्टिलेटरको सहायतामा अचेत अवस्थामा उपचररत बिरामी जीवन-मरणको संघर्षबाट उठ्दै निको भएर सामान्य अवस्थामा फर्केको देख्दा सन्तुष्टि र खुसीयालीको कुनै सीमा रहँदैन’थ्यो । बिरामीले दिएको ‘धन्यवाद’ सबैभन्दा अमूल्य पुरस्कार रहेछ भन्ने सत्यको आभास त्यसै बेला हुन्थ्यो

आरम्भका उपचार कार्य

पहिलो बिरामी भर्ना हुने बेलासम्म आइपुग्दा अस्पतालमा भएका विविध विधाका स्वास्थ्यकर्मीहरू संक्रामक रोगविरूद्धको युद्धमा आ-आफ्नो ज्ञान र सिप प्रयोग गरी नि:संकोच परिचालित भए । तुलनात्मक रूपमा कम अनुभव भएका स्वास्थ्यकर्मीहरू पनि कार्यक्षेत्रमा उत्रिएपछि पोख्त हुँदै गए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीहरूमा हावी भएको त्रासको मनोविज्ञान सेवाभावमा परिणत हुँदै गयो ।

स्वास्थ्य सेवा लगायत बिरामीलाई आवश्यक पर्ने सबै बन्दोबस्ती नि:शुल्क रूपमा प्रदान गर्ने नेपाल ए.पी.एफ. अस्पतालको मूल उद्देश्य नै अधिकतम् सेवा प्रदान गर्नु थियो । सुरुवातका दिनहरू स्मरण गर्दा धेरैजसो कोरोना संक्रमितहरू लक्षण नभएका हुन्थे। तर घर-समाजमा उनीहरूको बसाइ स्वीकार्य थिएन। उनीहरूलाई एकान्तबास अर्थात् ‘आइसोलेसन’मा राख्नु अनिवार्य थियो। नेपाल ए.पी.एफ. अस्पताल लगायत थोरै अस्पतालहरूले मात्र कोरोना भाइरस संक्रमितहरूको सेवा गरिरहेका थिए ।

स्वास्थ्यकर्मीहरूमा उत्साहको लहर उठ्दै गएको तत्कालीन अवस्थामा अप्रत्यासित रूपमा अस्पताल बारे केही नकारात्मक टिप्पणी सार्वजनिक रूपमा आयो । ‘घोडा चढ्ने लड्छ’ भन्ने प्रसिद्ध नेपाली भनाइ चरितार्थ भयो । राष्ट्रलाई संकट परेको बेला कोभिड-१९ का बिरामीका लागि आफ्नो सिंगो अस्पताल खाली गरिदिएको सशस्त्र प्रहरी बल र जोखिममा काम गर्न तत्पर त्यहाँका स्वास्थ्यकर्मीहरूको लागि यो नमीठो अनुभव थियो।

तथापि अस्पतालका कर्मचारीहरू उही जोस र जाँगरका साथ खटिइरहनुबाहेक अर्को विकल्प थिएन। अस्पतालको व्यवस्थापनले सुधार गर्न सकिने सानाभन्दा साना क्षेत्रहरूलाई नियाल्दै आफ्नो सेवामा स्तरीयता थप्दै लग्यो। त्यसअघि नै अस्पतालले भर्ना भएका प्रत्येक बिरामीहरूसँग डिस्चार्ज भएका बखत प्रतिक्रिया फारम भरिदिन अनुरोध गर्ने गरेको थियो र सङ्कलित विवरणहरूका आधारमा उपचार-सेवासम्बन्धी सुधारका कार्यहरू गर्दै लगेको थियो।

कोभिड-१९ को कहर र स्वास्थ्यकर्मीहरूको कथा

समयक्रमसँगै कोभिड-१९ को प्रकोप नेपालमा बढ्दै गएपछि लक्षणसहितका बिरामीहरूको संख्यामा उल्लेख्य वृद्धि भयो। अस्पतालका जनरल वार्डहरू अक्सिजनको आवश्यकता पर्ने बिरामीले खचाखच भए । गम्भीर बिरामीका लागि विभिन्न अस्पतालमा आई.सी.यू. समेत उपलब्ध नहुने स्थिति आयो । त्यस भूमरीमा नेपाल ए.पी.एफ. अस्पतालले तोकिएको क्षमताभन्दा धेरै बिरामीहरू भर्ना गरी उपचार गर्ने प्रबन्ध मिलायो ।

तर, अस्पतालको जनशक्ति भने पहिलेकै अनुपातमा थियो। चिकित्सक, नर्स, प्यारामेडिक्स, व्यवस्थापकीय एवं सरसफाइ तथा मर्मत कर्मचारी लगायत सम्पूर्ण कर्मचारीहरू कठोर ड्युटी तालिका बनाई कैयौं दिनसम्म अस्पतालमै बसेर बिरामीहरूको सेवामा खटिए । व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री अर्थात् पी.पी.ई. लगाएर घण्टौंसम्म शारीरिक कठिनाइ झेल्दै स्वास्थ्यकर्मीहरूले भोकप्यास सहेरै बिरामीहरूको उपचार र स्याहार गरे। अस्पतालमै कोभिड-१९ रोगको निदानका लागि बिरामीबाट संकलित नमुनाको पी.सी.आर. परीक्षण गर्न ‘मोलिक्युलर ल्याब’को स्थापना समेत गरियो । जहाँ प्रयोगशालाका दक्ष कर्मचारीहरू अहोरात्र खटिए।

गम्भीर बिरामीहरूको संख्या बढ्दै जाँदा अस्पतालको आई.सी.यू. सानो युद्ध मैदानजस्तै भएको थियो। त्यहाँ स्वास्थ्यकर्मीहरू अदृश्य सार्स-कोभ-२ भाइरससँग लड्दै थिए भने कोभिड-१९ का बिरामीहरू जीवनमरणको संघर्ष गर्दै थिए । ती कहाली लाग्दा स्मृतिहरू स्वास्थ्यकर्मीको मन-मस्तिष्कमा ताजै छन् ।

कोभिड-१९को कुनै निश्चित उपचार नभए पनि नेपाल ए.पी.एफ. अस्पतालमा ‘रेमडेसिभिर’ औषधि, ‘कनभेलेस्सेन्ट प्लाजमा थेरापी’ लगायत विश्वभरिको अनुसन्धानबाट तत्कालीन अवस्थामा आशा गरिएका समय-सापेक्ष उपचार पद्धतिहरू लागू गरिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्देशिकाहरूमा आधारित कार्यविधि तयार गरेर उपचार प्रणालीमा एकरूपता ल्याई त्यसलाई व्यवस्थित बनाइएको थियो।

तर भेन्टिलेटरद्वारा सास फेराउने प्रविधि, हेमोडायलाइसिसद्वारा रगत सफा गर्ने प्रविधि, शरीरका विभिन्न अंगप्रत्यङ्गलाई सामान्य तरिकाले सञ्चालन गराउने अन्य उपचार पद्धतिहरू लगायत सबै सघन उपचार विधिहरू अपनाउँदा अपनाउँदै पनि कैयौं बिरामीहरूले जीवनसँग हार खाए । यो अवस्था केवल दीर्घ रोगीहरू वा बुढ्यौली लागेकाहरूको मात्र भयो भन्ने कथन निश्चय नै सत्य होइन । तुलनात्मक रूपले कम संख्यामा भए पनि युवा तथा वयस्कले समेत यो रोगबाट यसैगरी ज्यान गुमाएका थिए ।

सामाजिक/भौतिक दुरीको सिद्धान्त अब कुनै बेलाको कथा जस्तो हुँदैछ । साबुन पानीले बेला बेलामा हात धुने कार्य कति इमान्दारीतापूर्वक गर्दैछौं, छातीमा हात राखेर हामीले आफैँलाई सोध्नुपर्नेछ

कडा मेहनतका साथ बिरामीको उपचार गर्दागर्दै पनि केहीको मृत्यु भएको हेर्नुपर्दा स्वास्थ्यकर्मीहरूमा पीडा त हुन्थ्यो नै । त्यसमाथि उनका आफन्तजनलाई त्यो दु:खद् खबर सुनाउनुपर्दा कार्यरत चिकित्सकको बोली नै सुक्थ्यो । तर जब झोक्र्याउँदै अस्पताल आएको बिरामी रोगबाट मुक्त भई उज्यालो मुस्कानका साथ डिस्चार्ज हुने बेला आउँथ्यो, स्वास्थ्यकर्मीहरूमा छाएको निराशा क्षणभरमै मेटिन्थ्यो । अझ भेन्टिलेटरको सहायतामा अचेत अवस्थामा उपचररत बिरामी जीवन-मरणको संघर्षबाट उठ्दै निको भएर सामान्य अवस्थामा फर्केको देख्दा सन्तुष्टि र खुसीयालीको कुनै सीमा रहँदैन’थ्यो । बिरामीले दिएको ‘धन्यवाद’ सबैभन्दा अमूल्य पुरस्कार रहेछ भन्ने सत्यको आभास त्यसै बेला हुन्थ्यो।

जस्तो परिदृश्य आए पनि कोभिड वार्ड तथा आई.सी.यूमा परिचालन गर्न सकिने नेपाल ए.पी.एफ. अस्पतालका स्वास्थ्यकर्मीहरूको संख्या सीमित थियो। एकातर्फ कहिले नसकिने रिले दौडजस्तो कठिन ड्युटी, अर्कोतर्फ बिरामीहरूको अवस्थाले निम्त्याएको निराशाको मझधारबीच चिकित्सक, नर्स र प्यारामेडिक्सले आफूलाई बिरामीहरूको उपचार र सेवामा समर्पित गरेका थिए। यस क्रममा कैयौं स्वास्थ्यकर्मीहरूलाई कोरोना भाइरस संक्रमण भयो ।

तर रोग संक्रमण नियन्त्रणसम्बन्धी मापदण्डहरू अत्यन्त सावधानीका साथ अपनाइएकाले त्यो संख्या अरू अस्पतालका तुलनामा कम रह्यो र कसैले ज्यान गुमाउनु परेन । रोचक कुरो त, एकपटक संक्रमित भइसकेकाहरू झन् जोश र जाँगर बोकेर कार्यक्षेत्रमा पुन: खटिन आए भने बाँकी स्वास्थ्यकर्मीहरू निरन्तरको व्यावहारिक अभ्यासले गर्दा आत्मविश्वासको नयाँ ऊर्जाका साथ कार्यरत रहे ।

साथै, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल ए.पी.एफ. अस्पतालको व्यवस्थापनले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीहरूको नियमित आपूर्ति गरिदिनाले अस्पतालका स्वास्थ्यकर्मीहरूमा त्यसको कहिल्यै कमी भएन। यसले स्वास्थ्यकर्मीहरूमा निकै ठूलो हौसला थप्यो । नेपाल ए.पी.एफ. अस्पताललाई सुरूमा चुनौतीको पहाड आइलागे पनि अस्पतालले आफ्नो स्तरोन्नति एवं सेवा वृद्धि गर्दै ठूलो संख्यामा कोभिड-१९ का बिरामीहरूको उपचार गरेर जनजनको मनमा स्थापित हुने सु-अवसर पायो।

वर्तमानको अन्यौल

यी अनुभवहरूको सँगालो तत्कालीन परिस्थितिमा तीब्र रूपमा विकास भएको भए पनि यो अवस्था अझै कायम छ । वर्तमान समयमा अस्पतालको आई.सी.यू. मा गम्भीर बिरामीहरू भर्ना हुने क्रम केही मत्थर भएको छ । तर रोकिएको भने छैन र केहीले अझै पनि ज्यान गुमाउँदै छन्।

झन् नयाँ प्रजातिको कोरोना भाइरस नेपाल भित्रिएको खबरहरू आएका छन् । यो परिस्थितिमा महामारीले कस्तो रूप लिँदै जाला भन्ने हेर्न अझै बाँकी छ । तर, साथमा कोरोना भाइरस विरूद्धको खोप विकास भई नेपालमा समेत प्रयोगमा आइसकेको छ ।

सुस्ताएको जनजीवन अति सामान्य भइसकेको छ । मास्कको प्रयोग पहिलेको तुलनामा घट्दै गएको देखिन्छ । सामाजिक/भौतिक दुरीको सिद्धान्त अब कुनै बेलाको कथा जस्तो हुँदैछ । साबुन पानीले बेला बेलामा हात धुने कार्य कति इमान्दारीतापूर्वक गर्दैछौं, छातीमा हात राखेर हामीले आफैँलाई सोध्नुपर्नेछ।

कोभिड-१९ को सन्देश

‘नौ दिनमा नौलो, बीस दिनमा बिर्स्यो’ भन्ने लोकप्रिय भनाइ हाम्रो समाजलाई हेरेरै बनाइएको होला । कोभिड-१९ ले हामीलाई विभिन्न संक्रामक रोगहरूबाट बच्न मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दुरी कायम राख्नुपर्ने, हातको नियमित सरसफाइ गर्नुपर्ने जस्ता अत्यन्तै आधारभूत र अत्यावश्यक पाठहरू नमीठो तरिकाले भए पनि सिकायो।

अब यो रोगविरूद्धको खोप पनि आइसक्यो । तर के ती सबै पाठहरू बिर्सिने बेला आयो त ? कोभिड-१९ ख्यालख्यालको रूघाखोकी हो वा हेलचेक्र्याइँ गर्न नहुने गम्भीर रोग हो । त्यो त लक्षणसहित रोग लागिसकेकाहरू वा मृत्यु हुने बिरामीका प्रियजनहरूले बताउँदा अझै छर्लङ्ग होला ।

तर एउटा रोगमात्र नभई भाइरल इनफ्लुएन्जा, क्षयरोग, टाइफाइड, झाडापखाला, भाइरल हेपाटाइटिस जस्ता ज्यान लिने अनेकौं संक्रामक रोगहरूबाट बच्न तीनै स्वास्थ्य सुरक्षाका मापदण्डहरू सबैभन्दा महत्त्वपूर्ण खोप हुन् भन्ने नबिर्सौं । अझ यी पुराना रोगहरूले हाम्रा नानी तथा बाबुहरूलाई बढी असर गर्नसक्ने हुनाले हामीले व्यवहारबाट दिने उदाहरण नै उनीहरूको स्वास्थ्य सुरक्षाको पहिलो कवच हो भन्ने कुरा हामीले मनन् गरिरहनुपर्छ।

साथै, हाम्रो सेरोफेरो एवं वातावरणको सरसफाइ र वनस्पति-जीवजन्तु लगायत सम्पूर्ण पर्यावरणको सुरक्षा बडो प्रेमपूर्वक गर्नुपर्ने रहेछ भन्ने सन्देश कोभिड-१९ ले विश्वलाई नै दिएको छ। सबै मानवीय संकटहरूमा एकजुट भएर आ-आफ्नो ज्ञान र सिप प्रयोग गरी एक-अर्कालाई सहयोग गर्नु नै जीवन बाँच्ने उत्तम उपाय हो भन्ने आभाष गराएको छ । कमसेकम अरूका लागि नभए पनि आफ्नै कल्याणका लागि कोभिड-१९ को सन्देशलाई जीवनमा उतार्नु बुद्धिमानी हुने देखिन्छ।

(डा. रावल सशस्त्र प्रहरी कोभिड-१९ विशेष अस्पतालमा एनेस्थेसिया विशेषज्ञका रूपमा कार्यरत छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment