४ फागुन, काठमाडौं । उत्कृष्ट लयमा रहेको क्रिकेट करियर चोटका कारण चौपट भयो । निरन्तरको प्रयासका बाबजुद राष्ट्रिय टिममा फर्कन नसकेपछि व्यवसाय गर्न खोजे, त्यहाँ त खाँदै नखाएको विष लागेझैँ भयो ।
माघमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितासँगै उनले फेरि नेपालका लागि खेल्ने सपना देख्न थालेका छन् । उनी अर्थात् पृथु बास्कोटा ।
झण्डै एक दशक विभागीय टोलीबाट खेल्दै आएका पृथुले यस पटक प्रदेशको टिम रोजेका थिए । उनले बागमती प्रदेशको टिममा पर्न छनोट प्रतियोगिता नै खेलेका थिए । ‘मेरो लागि शून्यबाट सुरु गरेझैं थियो ।’ उनी भन्छन्, ‘जिल्ला छनोट लकडाउन अगाडि नै भइसकेका कारण त्रिभुवन विश्वविद्यालयबाट छनोट खेलेँ र बागमतीको टिममा आएँ ।’
जब प्रतियोगिता सुरु भयो, उनलाई आफ्नो लागि अवसर सही नै हो कि भन्ने लाग्यो । बागमती प्रदेशले पहिलो खेलमा साविक विजेता नेपाल पुलिसलाई पराजित गर्दा पृथुले अविजित ४८ रन बनाएँदै दमदार सुरुवात गरे ।
प्रतियोगितामा जम्मा ५ खेल खेलेका उनले दुई अर्धशतकको मद्दतमा २१५ रन बनाए । सेमिफाइनलमा आर्मीविरुद्ध एक रनमा आउट हुनेबाहेक अरू बेलामा उनको दोहोरो अंकमा रन बनाए । दुई खेलमा ५० रन पूरा गरेका उनी एक खेलमा ४८ रनमा अविजित रहे । प्रतियोगितामा सर्वाधिक रन बनाएका उनी बेस्ट ब्याट्सम्यान बने ।
त्यही प्रदर्शनका कारण उनलाई चार वर्षपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएको छ । यसअघि २०१७ मा आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत् केन्यासँग हुने खेलका लागि ५२ खेलाडीको क्याम्पमा परेका थिए । तर त्यो बेलामा राष्ट्रिय टिममा पर्न सकेनन् । ‘धेरै वर्षपछि क्याम्पमा फर्किएको छु’ शनिबारदेखि दोस्रो चरणको प्रशिक्षणमा रहेका उनले भने, ‘टिममा कोचका साथै वातावरण पनि नयाँ छ ।’
चुनौती छ, तर…
अब उनको लक्ष्य छ, फेरि नेपालको राष्ट्रिय टिमबाट खेल्ने र जितको स्वाद चाख्ने ।
पृथुले पछिल्लो पटक नेपालबाट २०१५ अगस्टमा स्कल्टल्याण्डविरुद्ध खेलेका थिए । ६ वर्षपछि फेरि राष्ट्रिय टिममा पर्नु, त्यसमा पनि अन्तिम ११ मा परेर मैदानमा उत्रिनु चुनौतीपूर्ण छ भन्ने उनलाई पनि थाहा छ । किनकि राष्ट्रिय टिममा नयाँ पुस्ताका धेरै खेलाडी आइसके, पृथु सिनियर खेलाडी भइसके । यो सबैलाई कुरा स्वीकारेर आफ्नो खेल सुधारका लागि मेहनत गरिरहेका उनी भन्छन्, ‘जतिबेला म खेल्थे, म युवा नै थिएँ तर क्रिकेटमा २८/२९ ओल्ड एज होइन ।’
उत्कृष्ट लयमा हुँदा लागेको ब्रेक
सन् २००६ देखि क्रिकेट खेल्न थालेका पृथुले उमेर समूहबाट खेलिरहेकै बेला सिनियर टिममा डेब्यु गरे । एसियन गेम्स २०१० मा माल्दिभ्सविरुद्ध डेब्यु गरेका उनले २०१२ मा यू–१९ विश्वकपमा नेपालको कप्तानी गरे । त्यो वर्ष लगातार ९ टी–२० म्याच खेलेका उनी उत्कृष्ट लयमा थिए ।
२०१३ मा प्रशिक्षणका क्रममा लागामेन्ट च्यापिएपछि बंगलादेशमा भएको टी–२० विश्वकप छनोट उनले गुमाउनु पर्यो । पृथु ठीक हुँदा नेपाल विश्वकपमा छनोट भइसकेको थियो । उनी एकदिवसीय विश्वकप छनोटका लागि टिममा परे, तर युगाण्डाविरुद्ध खेलका क्रममा शरद भेषवाकरसँग ठोक्किएपछि फेरि घाइते भए । नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्दा दर्शकका रूपमा टेलिभिजनमा खेल हेर्न बाध्य भए ।
त्यतिबेला ‘इन्जुरी इज पार्ट अफ स्पोर्ट्सम्यान’ भनेर मन बुझाएको उनी सुनाउँछन् । उनले उमेर छ, छिट्टै रिकभर हुन्छु भन्ने सोचेका थिए । नभन्दै २०१५ मा राष्ट्रिय टिममा कमब्याक पनि भए ।
उनले जुलाईमा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्डविरुद्ध खेले । नोभेम्बरमा पपुवा न्युगिनीविरुद्ध खेल्न यूएई पुगेका उनी अभ्यासका क्रममा घाइते भए । चोरी औंलामा लागेको चोटका कारण उनी करिब १८ महिना मैदान बाहिरै रहे । निको भएपछि उनले फ्रेन्चाइज लिगहरु, प्रधानमन्त्री कप पनि खेलेका थिए तर राष्ट्रिय टिममा पुनरागमन गर्न सकिरहेका थिएनन् ।
यो अवधिमा नेपालले एकदिवसीय मान्यता लगायतका उपलब्धि हात पार्दा उनी खुसी त थिए नै टिममा म पनि हुन पाएको भए भन्ने लाग्थ्यो । बेलाबेला क्रिकेटप्रति मोह भंग हुन नखोजेको पनि होइन । तर निरन्तर मेहनत गरेका उनलाई प्रधानमन्त्री कपले राष्ट्रिय टिममा पुनरागमनको सम्भावना देखाएको छ । त्यसमा खुसी पृथु भन्छन्,‘आफ्नो कमजोरी कसरी सुधार्न सक्छु भनेर लागेको छु ।’
नफापेको व्यवसाय
राष्ट्रिय टिममा पर्न संघर्ष गरिरहेका बेला पृथुले व्यवसायमा पनि हात हालेका थिए । साथीहरुसँग मिलेर दरबारमार्गको डेजाभु क्लबमा लगानी गरेका थिए । तर एउटा स्क्याण्डलमा पृथुको नाम पनि जोडियो । ‘क्रिकेटबाहेक पनि केहीमा हात हाल्न सकिन्छ कि भनेर सोचेको थिएँ । तर अहिले त्यसमा छैन’ यो प्रसंगलाई पृथुले बिट मारे ।
प्रतिक्रिया 4