
६ फागुन, काठमाडौं । बौद्धमा एक वर्ष अगाडि जापानिज नागरिकलाई कुटपिट गरी मध्यराति लाखौं रुपैयाँ र बहुमूल्य जी–मालाको लुटपाट भएको घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको नयाँ दिल्लीबाट प्रहरीले काठमाडौं–६, फुलबारी बस्ने ३२ वर्षीया जिना लामालाई पक्राउ गरेको हो ।
लामालाई भगाउन सहयोग गरेको आरोपमा काभ्रेको कानपुर कालापानी–५ का रामसिंह तामाङ भन्ने बिहसुर सिंह लामा पनि पक्राउ परेका छन् । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।
प्रकरणमा संलग्न सेनामा तामाङ, दोर्जे तामाङ, दिनेश कार्की, एकराज तामाङ, आङनिमा शेर्पा, इन्द्रजित तामाङ र कृष्णबहादुर स्याङताङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
घटनामा अन्य केही व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंका गरिएको छ । ‘लामाको बयानबाट घटनामा संलग्न अन्यबारे पनि केही जानकारी आएको छ, अनुसन्धान गरिरहेका छौं’, काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4